काठमाडौं, १७ साउन ।
नेपाल चीन कूटनीतिक सम्बन्धको ७१ वर्ष पुरा भएको छ । सन् १९५५ अगस्ट १ का दिन दुई देशबीच काठमाडौंमा औपचारिक कूटनीतिक सम्बन्ध कायम भएको थियो ।
चीनले सामाजिक संजाल मार्फत ७१ औं वर्षको उपलक्षमा सन्देश दिएको छ । सामाजिक संजालबाट काठमाडौं स्थित चीनिया दूतावासले भनेको छ ‘चीन नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ११ औं वार्षिकोत्सवको शुभकामना ।’
दूतावासले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ औं वार्षिकोत्सव हो। विगत ७१ वर्षमा, दुई देशले दिगो मित्रता, पारस्परिक सम्मान र पारस्परिक रूपमा लाभदायक सहयोगको आनन्द उठाएको बताएको छ ।
दूतावासले भनेको छ ‘हाम्रो परम्परागत मित्रतालाई अगाडि बढाउन र हाम्रा दुई देशका जनतालाई थप लाभ पुर्‍याउन विकास र समृद्धिका लागि दिगो मित्रता सहितको सहकार्यको रणनीतिक साझेदारीलाई अगाडि बढाउन चीन नेपालसँग काम गर्न तयार छ ।’
त्यसबेला नेपालका सरदारकाजी गुन्जमान सिंह र भारतका लागि चीनिया राजदूत युआन योङसिआनले दौत्य सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । कूटनीतिकवृतमा कम्यूनिष्ट चीनसँगको सम्बन्धलाई लिएर चासो र चिन्ता दुबै थिए । विशेष गरेर भारत र अमेरिका लगायत देशहरु गोप्त तबरबाट कायम भएको दौत्य सम्बन्धलाई चासोका साथ लिएको अवस्था थियो । चीनले आफ्नो मुक्ति सेनाको स्थापना दिवशको साइत पारेर हस्ताक्षर गरेको चर्चाहरु थिए ।
कुटनीतिक सम्बन्ध कायम भएपछि युआन योङसिआन दिल्ली र काठमाडौं दुबैका राजदूत थिए । हस्ताक्षर भएको समझदारीपत्रमा ५ बुँदा थिए ।

समझदारी पत्रका ५ बुँदा
१. एकअर्काको भौगोलिक अखण्डता तथा सावैभौमसत्ताको सम्मान गर्ने
२. हस्तक्षेप नगर्ने
३. एकअर्काको आन्तरिक मामलामा, आर्थिक, राजनीतिक तथा वैचारिक हस्तक्षेप नगर्ने ।
४. समानता तथा साझा लाभ
५. शान्तिपूर्ण सहअस्तित्व
दुई देशहरुको सम्बन्धलाई निर्देशित गर्ने आधारभूत सिद्धान्त तयार गर्ने समझदारी पत्रमा उल्लेख छ ।