थापाको निर्देशन : प्रदेश, जिल्ला र स्थानीय सवै तहका समितिले तत् तत् तहमा युवासंग छलफल र संवाद गर्ने।पार्टीका हरेक तहका समितिले वडातहसम्म नै सामाजिक सदभाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसंग समेत संवाद गरी नेतृत्वदायी भुमिका निर्वाह गर्ने।

काठमाडौ, १४ साउन ।
नेपाली कांग्रेसको शुक्रबार बसेको आकस्मिक केन्द्रीय समिति बैंठकले सुनसरीको देवानगञ्जबाट सुरु भएर मधेशका जिल्लाहरुमा फैलिएको तनावपूर्ण परिस्थितिका सन्दर्भमा समीक्षा गर्दे पार्टीका सबै तहका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
कांग्रेस पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा बैंठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सभापति, पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाडौंमा उपलब्ध मधेस प्रदेश र सुनसरी मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका साथीहरू वैठकमा उपस्थित उल्लेख छ। साथै मधेस प्रदेशका मुख्यन्त्री, गाउँ नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू पार्टीका प्रदेश र स्थानीय तहका साथीहरू भर्चुअल माध्यमबाट जोडिएको दुलालले उल्लेख गरेका छन् ।

बैंठकले प्रारम्भमा सुनसरी लगायत पछिल्ला दुःखद घटनामा ज्यान गुमाउनु भएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दे सभापतिको तर्फबाट पार्टी पङ्तीलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। सात बुँदे निर्देशनमा उनले पार्टी पङ्तीलाई नेतृत्वदायी भूमिका खेल्न भनेका छन् । निर्देशनमा भनिएको छ ‘पार्टीका हरेक तहका समितिले वडातहसम्म नै सामाजिक सदभाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसंग समेत संवाद गरी नेतृत्वदायी भुमिका निर्वाह गर्ने।’

पार्टी सभापति गगन थापाका निर्देशन
१.कप्तानगञ्जको घटना र त्यसपश्चात विकसित घटनाक्रममा सरकारको गैरजिम्मेवारीपन, असंवेदनशीलता र नागरिकमाथि राज्यले अत्यधिक बल प्रयोग गरेकोप्रति नेपाली कांग्रेसको गम्भिर आपत्ति रहेको छ। नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो र यस्तो परिस्थिति किन सिर्जना भयो? यस घटनाको सत्य तथ्य छानविन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय न्यायीक छानवीन समिति गठन हुनुपर्छ भन्नेकुरामा नेपाली कांग्रेसको स्पष्ट अडान रहेको छ।अतःन्यायीक छानबीन समिति गठन, गर्न घाइते भएकाको निशुल्क उपचार, समुचित व्यबस्थापन, तोडफोड र आगजनी भएका धनसम्पत्तिको क्षतिपुर्ति दिलाउने कुरामा नेपाली कांग्रेसले सरकारलाई निरन्तर प्रश्न र खवरदारी गर्नेछ।

२.नेपाली कांग्रेसका लागि यस संकटपूर्ण र संवेदनशील घडीमा नागरिक सुरक्षा, सामाजिक सदभाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता हो। पार्टीले जिम्मेवारपूर्वक यसको पहलकदमी लिनेछ। नेपाली कांग्रेसको नेतृत्व रहेको मधेस प्रदेश सरकार र स्थानीय सरकार तथा जनप्रतिनिधिले नागरिकको सुरक्षा तथा सामाजिक सदभाव, सहिष्णुता, घाइते परिवारलाई आवश्यक सहयोग पुर्‍याउन तथा सामाजिक सदभाव अभियानका लागि विशेष अग्रसरता लिने।

३.पार्टीका हरेक तहका समितिले वडातहसम्म नै सामाजिक सदभाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसंग समेत संवाद गरी नेतृत्वदायी भुमिका निर्वाह गर्ने।

४.प्रदेश, जिल्ला र स्थानीय सवै तहका समितिले तत् तत् तहमा युवासंग छलफल र संवाद गर्ने।

५.सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्य तथा तहगत कार्यसमितिका साथीहरू संभव भएसम्म आ‍(आफनो जिल्लामा उपस्थित भई समुदायसंग संवाद गर्ने, घाइतेसंग र परिवारसंग भेट्ने, सामाजिक सदभावका लागि पहलकदमी लिने।

६.पार्टीको कोहि पनि सदस्यहरूलाई घटनासंग जोडिएका कुनै पनि संवेदनशील विषयमा तत्काल प्रतिक्रियात्मक नभई सत्य तथ्य बुझेर मात्र धारणा बनाउन कुनै पनि मिथ्या सुचना, अफवाह वा उत्तेजनामा नलाग्न तथा हिंशा, उत्तेजना फैलाउने वा त्यस्ता कार्यलाई प्रोत्साहन हुने कुनै पनि कार्य नगर्ने र गर्न नदिने ।

७.पार्टीको कुनै पनि तह र तप्कामा जिम्मेवारीमा रहेको व्यक्ति वा सदस्य हिंशामा सरिक भएको वा सामाजिक सदभाव र सहिष्णुता खल्बलाउने कार्यमा सहभागि भएमा त्यो कार्य पार्टीका लागि अस्वीकार्य हुनेछ र विधान बमोजिम कारवाही हुनेछ।