काठमाडौ, १३ साउन ।
नोपली कांग्रेसको बुधबार बसेको आकस्मिक बैठकले पार्टीक वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनले पार्टीलाई मर्माहत र स्तब्ध बनाएको भन्दै शोक प्रस्ताव सहित निर्णयहरु गरेको छ । प्रस्तावमा भनिएको छ ‘नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक कांग्रेसका कार्यवाहक सभापति, १२ बुँदे सहमतिको हस्ताक्षरकर्ता मध्येका एक ७९ वर्षीय गोपालमान श्रेष्ठको ललितपुरको जावलाखेल स्थित हेलिअस अस्पतालमा उपचारका क्रममा २०८३ श्रावण १२ गते भएको निधनले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ ।’

‘ केन्द्रीय कार्यसमितिको यो बैठक स्वर्गीय नेता गोपालमान श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ । यस दुःखद घडीमा शोक सन्तप्त परिवार, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँहरूमा यो अपूरणीय क्षति सहने धैर्य, शक्ति र साहस ईश्वरले प्रदान गरून् भन्ने हार्दिक कामना गर्दछ’ शोक वक्तव्यमा भनिएको छ ।

शोक प्रस्ताव (पूर्ण विवरण)
१. नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति, १२ बुँदे सहमतिको हस्ताक्षरकर्ता मध्येका एक ७९ वर्षीय गोपालमान श्रेष्ठको ललितपुरको जावलाखेल स्थित हेलिअस अस्पतालमा उपचारका क्रममा २०८३ श्रावण १२ गते भएको निधनले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ ।

केन्द्रीय कार्यसमितिको यो बैठक स्वर्गीय नेता गोपालमान श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ । यस दुःखद घडीमा शोक सन्तप्त परिवार, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँहरूमा यो अपूरणीय क्षति सहने धैर्य, शक्ति र साहस ईश्वरले प्रदान गरून् भन्ने हार्दिक कामना गर्दछ ।

२. विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएका स्वर्गीय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्र्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । नेपाली कांग्रेसका विभिन्न पदीय जिम्मेवारीमा रही नेतृत्व प्रदान गर्ने क्रममा उहाँले पटक–पटक गरी करिब ६ वर्ष जेल जीवन समेत बिताउनु भएको थियो ।

स्वर्गीय श्रेष्ठ वि.सं. २०४८, २०५६ र २०६४ मा स्याङ्जा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी, वि.सं. २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

उहाँले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माणस वन तथा वातावरण वाणिज्य तथा शिक्षा मन्त्रीका रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ नेपाली कांग्रेस संसदीय दलका पूर्व प्रमुख सचेतक समेत हुनुहुन्थ्यो ।

वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मनु भएका वरिष्ठ नेता श्रेष्ठको राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पु¥याउनु भएको योगदानप्रति नेपाली कांग्रेस उच्च सम्मान व्यक्त गर्दछ ।

 

३. उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको
छ । नेपाली कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा पु¥याउनु भएको योगदान, लोकतन्त्रप्रतिको प्रतिवद्धता, पार्टीका विभिन्न महत्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गर्नु भएको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ ।

४. उहाँप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ—
क. २०८३ श्रावण १३, १४ र १५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने ।
ख. २०८३ श्रावण १४ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने ।
ग. स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने ।
घ. स्वर्गारोहणको १३ औं दिनमा गृह जिल्ला (स्याङ्जा) को कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने ।