परिस्थितिलाई समयमै आंकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु सरकारको गम्भीर सुरक्षा कमजोरी हो । सरकारले यसको जवाफ दिनुपर्छ, घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ ।

काठमाडौं, ११ साउन ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगंजको घटनालाई लिएर सरकारलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गरियोस् भनेका छन् । सोमबार वक्तव्य जार गर्दे थापाले घटनाको निष्पक्ष छानवीन गर्न तथा संयम रहन आग्रह गरेका छन् । थापाले भनेका छन् ‘ अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गरियोस् ।’
सुनसरीको देवानजञ्जमा आइतबार राती बोलबम जाने समुहले डिजे बजाएको विषयलाई लिएर भएको सामुदायिक दंगामा एक जनाको मृत्यु र २० जना बढी घाइते भएका थिए । आइतबार राती भएको घटनालाई लिएर सोमबार बिहानदेखि प्रशासनले निषधाक्षा जारी गरेको थियो भने दिनभर आगजनी र तोडफोडका घटना जारी भए ।

थापाले भनेका छन् ‘सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । यस दुःखद घटनामा ज्यान गुमाउनु भएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । साथै, घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

सरकारसँग नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? प्रश्न गर्दे थापाले भनेका छन् ‘ सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो । परिस्थितिलाई समयमै आंकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु सरकारको गम्भीर सुरक्षा कमजोरी हो । सरकारले यसको जवाफ दिनुपर्छ, घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ । सुरक्षा निकायका प्रमुख परिवर्तन मात्र होइन छानविन सही र निष्पक्ष हुनुपर्छ ।’
‘ यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गरियोस् । घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै ढिलाइ नगरियोस् । अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गरियोस्’ विज्ञप्तिमा भनिएको छ ।

थापाले कठिन घडीमा संयमता र सदभाव महत्वपुर्ण रहने बताउँदै अतः कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकुल हुन नदिन तथा सामाजिक सदभाव कायम राख्नको लागि योगदान गर्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सवैमा हार्दिक अपील गरेका छन् ।