दुई देशका जनताबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको यथार्थलाई दुवै सरकारले आत्मसात् गर्दै यस्ता संवेदनशील विषयलाई सोही दृष्टिकोणबाट समाधान गर्न नेपाली कांग्रेसले भारतीय सरकासँग आग्रह गरेको छ ।

काठमाडौं, ११ साउन ।
नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडेलले रासायनीक मल लिन गएका दुई किसान २० दिनदेखि भारतीय जेलमा रहेको विषयलाई लिएर सरकारले अभिलम्ब कदम चाल्न आग्रह गरेका छन् । सोमबार विज्ञप्ति प्रकाशीत गर्दे पौडेलले भनेका छन् ‘ हामीले मल उपलब्ध गराउन नसक्दा मलको अभावमा खेतीनै लगाउन नपाउनुभन्दा छिमेकी देशबाट २ बोरा युरिया र डिएपी मल किनेर मलको जोहो गर्न बाध्य दुई जना किसानलाई पक्राउ गरी जेलमा राखेको २० दिन पुग्दा समेत तदारुकताका साथ पहलकदमी हुन नसक्नु दुखद विषय हो। मल गोदाममा किसान जेलमा यो अत्यन्त बिडम्बना हो।’
विज्ञप्तिमा सर्लाही बलराका दुई जना किसान “सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह” नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि आवश्यक मलको ब्यबस्था गर्न बाध्यताले सीमावर्ती भारतीय बजार सोनवरसाबाट मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परी विगत २० दिनदेखि विहार, सीतामढी, डुमरास्थित भारतीय जेलमा रहेको समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएको जनाइएको छ । कांग्रेसले भनेको छ ‘ नेपाली कांग्रेसले परिवार र स्थानीय समुदायसंग समेत जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गर्‍यो। ति किसान दाजुभाई आफ्नो खेतमा प्रयोग गर्नको लागि मल लिन जानुभएको रहेछ। किसानले भोगेको समस्या र त्यसपछिको परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।’
पौडेलले वक्तव्यमा भारतीय सरकार भारतीय जेलमा रहेका दुई नेपालीको रिहाई तथा कानूनी सहजीकरणका लागि अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘ यसका लागि नेपाली कांग्रेस भारत सरकारसमक्ष पनि हार्दिक अनुरोध गर्दछ कि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास तथा दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखि, व्यावसायिक तस्करीमा संलग्न नभई केवल आफ्नो खेतीका लागि आवश्यक मल खरिद गर्ने क्रममा पक्राउ परेका किसानलाई रिहाइ तथा आवश्यक कानुनी सहजीकरण गरिदिन हुन अनुरोध गर्दछौं।’
विज्ञप्तिमा नेपाल भारतबीचको सम्बन्ध दुई सरकारबिचको मात्र सम्बन्ध नभएको बताउँदै विज्ञप्तिमा भनिएको छ ‘साथै, नेपाल र भारतबीचको सम्बन्ध केवल दुई सरकारबीचको सम्बन्ध मात्र नभई दुई देशका जनताबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको यथार्थलाई दुवै सरकारले आत्मसात् गर्दै यस्ता संवेदनशील विषयलाई सोही दृष्टिकोणबाट समाधान गर्न नेपाली कांग्रेस आग्रह गर्दछ।’

विज्ञप्ति विस्तृतमा :

रासायनिक मल खरिदका लागि भारत गएका क्रममा भारतीय जेलमा रहेका नेपाली किसानहरूको शीघ्र रिहाइ तथा समस्या समाधानका लागि सरकारले अबिलम्ब कदम चालोस् !
सर्लाही बलराका दुई जना किसान “सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह” नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि आवश्यक मलको ब्यबस्था गर्न बाध्यताले सीमावर्ती भारतीय बजार सोनवरसाबाट मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परी विगत २० दिनदेखि विहार, सीतामढी, डुमरास्थित भारतीय जेलमा रहेको समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएका छन्। त्यसपश्चात नेपाली कांग्रेसले परिवार र स्थानीय समुदायसंग समेत जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गर्‍यो। ति किसान दाजुभाई आफ्नो खेतमा प्रयोग गर्नको लागि मल लिन जानुभएको रहेछ। किसानले भोगेको समस्या र त्यसपछिको परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।

यो प्रतिनिधिमुलक घटना हो। समयमै र पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसक्दा बर्षौदेखि हाम्रा अन्नदाता किसानहरूले खेतीपातीको मौसममा सास्ती भोग्न बाध्य भएका छन्। मल आपूर्ति व्यवस्थापनको कमजोरी, योजनाको अभाव तथा प्रशासनिक असक्षमताको प्रत्यक्ष मार किसानमाथि नै परेको छ। निश्चय नै किसानले मल नपाउने विषय यसपटकको मात्र समस्या होइन, सधैको समस्या बनेको छ, यसको तत्कालिक र दीर्घकालिन समाधानका लागि हामीले ठोस कदम चाल्न नसक्दा जहिले यो समस्या आउँछ। हामीले मल उपलब्ध गराउन नसक्दा मलको अभावमा खेतीनै लगाउन नपाउनुभन्दा छिमेकी देशबाट २ बोरा युरिया र डिएपी मल किनेर मलको जोहो गर्न बाध्य दुई जना किसानलाई पक्राउ गरी जेलमा राखेको २० दिन पुग्दा समेत तदारुकताका साथ पहलकदमी हुन नसक्नु दुखद विषय हो। मल गोदाममा किसान जेलमा यो अत्यन्त बिडम्बना हो।

नागरिकको संरक्षण र सुरक्षा राज्यको प्राथमिक दायित्व हो र हुनुपर्दछ। अतस् ति नेपाली किसान कुनै व्यवसायिक लाभको लागि नभई केवल आफ्नो खेतीका लागि मलको जोहो गर्न गएका हुन र त्यसक्रममा पक्राउ परेकाले सरकारले उनीहरूको रिहाई एवं समस्या समाधानमा व्यबहारिक, कुटनीतिक र कानूनी प्रक्रियामार्फत तत्काल पहलकदमी लियोस्।

­यसका लागि नेपाली कांग्रेस भारत सरकारसमक्ष पनि हार्दिक अनुरोध गर्दछ कि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास तथा दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखि, व्यावसायिक तस्करीमा संलग्न नभई केवल आफ्नो खेतीका लागि आवश्यक मल खरिद गर्ने क्रममा पक्राउ परेका किसानलाई रिहाइ तथा आवश्यक कानुनी सहजीकरण गरिदिन हुन अनुरोध गर्दछौं।

साथै, नेपाल र भारतबीचको सम्बन्ध केवल दुई सरकारबीचको सम्बन्ध मात्र नभई दुई देशका जनताबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको यथार्थलाई दुवै सरकारले आत्मसात् गर्दै यस्ता संवेदनशील विषयलाई सोही दृष्टिकोणबाट समाधान गर्न नेपाली कांग्रेस आग्रह गर्दछ।

प्रदिप पौडेल,  महामन्त्री