काठमाडौं, ५ साउन ।
नेपाली कांग्रेसले सरकारले निजी शिक्षा र स्वास्थमा लगाएको ३ प्रतिशत कर लागु नगर्ने निर्णयको स्वागत गर्दे बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै जान आग्रह गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले सरकारको निर्णय माथि प्रतिक्रिया दिदै भनेका छन् ‘ सरकारको निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने निर्णयको स्वागत छ।साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्।’
थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा हामीले प्रारम्भबाट नै उठाउँदै आएको चर्चा गर्दे भनेका छन् ‘
निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्। धेरैका लागि त्यो कुनै विलासिता luxury होइन, बाध्यता हो।’

‘निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन’थापाले भनेका छन् ‘ समता शुल्क लागू गर्नु समानताको नीति थिएन, बरु असमानतालाई अझ बढावा दिने व्यवस्था थियो।’

थापाले मुलुकको आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको बताउँदै भनेका छन् ‘ यो निर्णय सही छ, निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा होस्।’