काठमाडौं,२९ असार ।
थकाली खानाको नाममा आफुखुसी रेष्टुरेष्ट खोल्न र चलाउन बन्देज लागेको छ । उद्योग विभागले थकाली भान्साघर संघ नेपाललाई ट्रेडमार्क र लोगो प्रदान गरेको छ । संघका अध्यक्ष विवेक तुलाचनका अनुसार तीन वर्षको अथक प्रयासपछि थकाली भान्साघरलाई ब्रान्डको मान्यता दिन विभाग सहमत भएको हो ।
थकाली खानाको मसला, परिकार, कच्चापदार्थ र स्वादको मापदण्ड तोकी नियमित अनुगमन गर्दै सेवाग्राहीलाई सन्तुष्ट पार्ने योजना संघको रहेछ । संघले ‘थकाली भान्साघर संघ नेपाल’ नाममा  ट्रेडमार्कसहितको प्रमाणपत्र प्राप्त गरेको हो ।

सोमबार उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । लोगोले नेपालभर रहेका संघमा आबद्ध सदस्य थकाली भान्साघरहरूलाई आधिकारिक पहिचान दिने जनाईएको छ ।

‘अब संघमा आबद्ध प्रत्येक सदस्यले आफ्नो होटल वा रेस्टुरेन्टमा आधिकारिक कलेक्टिभ ट्रेडमार्क लोगो प्रयोग गर्न सक्नेछन् । यसबाट ग्राहकले प्रमाणित तथा आधिकारिक थकाली भान्साघर सजिलै चिन्ने अपेक्षा गरिएको छ ’ तुलाचनले बताए ।

बजारमा थकाली नाम प्रयोग गर्ने धेरै व्यवसाय सञ्चालन भइरहेकाले थकाली भान्साघर कुन हो भन्ने विषयमा अन्योल रहेको अध्यक्ष तुलाचनले बताए । यही अन्योल हटाउन र आधिकारिक थकाली भान्साघरको पहिचान स्थापित गर्न लोगो प्राप्त गरिएको उनले बताए।

तुलाचनका अनुसार लोगो प्रयोग गर्ने सदस्य संस्थाले निर्धारित मापदण्डअनुसार सेवा वा खाना उपलब्ध गराउनुपर्ने छ । मापदण्ड अनुसार सेवा उपलब्ध नगराने संस्थालाई
संघले कारबाहीको गर्न सकिने व्यवस्था छ।  आधिकारिकता प्राप्त गरेपछि थकाली भान्साघरको मौलिकता, विश्वसनीयता र ब्रान्ड पहिचानलाई थप मजबुत बनाउने तुलाचनको विश्वास छ।