काठमाडौं, २९ असार ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् । पार्टीको केन्द्रीय नीति, अनुुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बैंठकलाई सम्बोधन गर्दे थापाले भने ‘पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडि तेस्र्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पु¥याउने कुनै अधिकार राज्यले राख्दैन ।’
कांग्रेसले ४४ औं बी.पीं स्मृति दिवशको तयारी सन्दर्भमा आयोजित कार्यक्रममा गगनले गाडी तेस्र्याउन आएकाहरु सरकारी गाडी चढेर फर्केको स्थानीय नागरिकबाट जानकारी पाएको उल्लेख गर्दै सुकुम्वासी समस्या र गणेश नेपालीको आत्मदाहको अवस्थाबारे दल र मिडियाले प्रश्न उठाउन थालेपछि राज्यले यो व्यवहार गरेको बताए। उनले सुकुम्वासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको प्रष्ट पार्दै कानूनले दिएको निकास नखोजेर सरकार आफैंले समस्या सिर्जना गरेको बताए । थापाले सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नु पर्नेमा मानव जीवनको रक्षाबाट विमु्ख र करुणाविहीन भएको उल्लेख गरे।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार जारी गरेको प्रेस नोटमा कांग्रेसले साउन ६ गते पार्टीको जरा अभियान सम्पन्न हुने र साउन ७ देखि २४ गतेसम्म नयाँ अभियान घोषणा गर्ने बताइएको छ । ‘नेपाली कांग्रेस कुनै घटनापछि प्रतिक्रिया जनाउने पार्टीका रुपमा नरहने बरु सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा क्रियाशील रहेको उल्लेख गर्नु भयो’ प्रेस नोटमा भनिएको छ ।

बि.पी.स्मृतिमा जलवायू परिवर्तन र प्रभाव केन्द्रीत कार्यक्रम आयोजना गरिने

 

पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले साउन ६ गते पार्टीका तर्फबाट पाँच किलोमिटरको ग्रिन रन, चित्रकला र सम्वाद कार्यक्रम हुने जानकारी गराए। नेपाली कांग्रेसले यो वर्षको बी.पी. पुण्यतथिमा जलवायु परिवर्तन र यसका प्रभावमा केन्द्रीत रहेर यी कार्यक्रम गर्न लागेको हो । साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी हुने जानकारी शर्माले दिए । यसअघि शर्माले प्रतिष्ठान अन्तर्गतका ३० वटा विषयगत समितिबारे जानकारी गराएको प्रेस नोटमा उल्लेख छ ।

सोमबारको छलफलमा उपत्यकामा उपलब्ध पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, भ्रातृ संस्थाहरुका अध्यक्ष, उपत्यकाका जिल्ला सभापतिहरु र प्रतिष्ठानका सदस्यहरुको उपस्थिति रहेको प्रेस नोटमा उल्लेख छ ।