रुसको दोश्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा युक्रेनको भीषण ड्रोन आक्रमण
रुसको दोस्रो ठुलो सहर सेन्ट पिटर्सबर्ग र त्यसको वरपरका क्षेत्रमा युक्रेनले “अभूतपूर्व” ड्रोन आक्रमण गरेको छ। यो आक्रमण अन्तर्राष्ट्रिय आर्थिक मञ्च (इकोनोमिक फोरम) को अन्तिम दिन पारेर गरिएको हो।
आक्रमणको तीव्रतालाई हेर्दै सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्याण्डर बेग्लोभले सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गरेयता पहिलो पटक स्थानीय बासिन्दाहरूलाई सुरक्षित रूपमा घरभित्रै बस्न आग्रह गरेका छन्। लेनिन्ग्राद क्षेत्रका गभर्नर अलेक्जान्डर द्रोज्देन्कोका अनुसार सो क्षेत्रमा मात्रै १४० भन्दा बढी ड्रोनहरू खसालिएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सेनाले रुसी नौसेनाको बेस (बैस) र हतियार भण्डारहरूलाई सफलतापूर्वक निशाना बनाएको पुष्टि गरेका छन्। उनले यसलाई रुसी आक्रमणको न्यायोचित जवाफ भएको बताएका छन्। जेलेन्स्कीका अनुसार युक्रेनी ड्रोनहरूले १,००० किलोमिटर ९६२० माइल० को दूरी तय गरी क्रोनस्टाटमा रहेको रुसी नौसेनाको बाल्टिक फ्लिटको मुख्य आउटपोस्ट र हतियार भण्डारमा प्रहार गरेका थिए। यसका साथै ५०० किलोमिटर टाढा दक्षिणी क्रास्नोडार क्षेत्रमा रहेको तेल डिपोमा पनि आक्रमण गरिएको छ।
ड्रोन आक्रमणमा संलग्न एक युक्रेनी कमान्डर येभहेन कारासले बिबिसीसँग कुरा गर्दै रुसभित्रका लक्ष्यहरूमा प्रहार गर्न निकै सहज भएको दाबी गरे। उनले भने, “हामी रुसमा यसरी ड्रोन उडाउँछौँ मानौँ यो हाम्रै क्षेत्र हो। त्यहाँ लगभग कुनै प्रतिरोध छैन, त्यसैले लक्ष्यमा पुग्न गाह्रो छैन।” अर्कोतर्फ, रुसी रक्षा मन्त्रालयले शनिबार बिहानदेखि विभिन्न क्षेत्रमा गरी कुल ३३९ वटा युक्रेनी ड्रोनहरू खसालेको वा निष्क्रिय पारेको दाबी गरेको छ।
यो भीषण आक्रमण जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रत्यक्ष वार्ता र युद्ध विरामका लागि पत्र लेखेको भोलिपल्ट भएको हो। आर्थिक मञ्चमा बोल्दै पुटिनले जेलेन्स्कीसँग भेट्नुको कुनै औचित्य नरहेको भन्दै वार्ताको प्रस्ताव अस्वीकार गरेका थिए। पुटिनले रुसको उद्देश्य पूरा नभएसम्म युद्ध अन्त्य नहुने स्पष्ट पारेका छन्।
रुसले युद्ध रोक्नका लागि युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिज्जिया क्षेत्रहरू छोड्नुपर्ने र नेटोमा आबद्ध हुने प्रयास त्याग्नुपर्ने अडान राख्दै आएको छ। तर, युक्रेनले आफ्नो कुनै पनि भूभाग नछोड्ने अडान दोहोर्याउँदै आएको छ। जेलेन्स्कीले यो युद्ध अन्त्य गर्ने समय आएको तर रुसी नेता केवल लडिरहन चाहेको आरोप लगाएका छन्।
यसैबिच, राष्ट्रपति जेलेन्स्की आइतबार बेलायत भ्रमणमा जाने कार्यक्रम छ, जहाँ उनले बेलायती प्रधानमन्त्री सर कियर स्टारमर, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धको विषयमा महत्त्वपूर्ण छलफल गर्नेछन्।
श्रोत : आइएनएस(स्वतन्त्र समाचार)

