समुन्नत समाज निर्माण गरौं : राष्ट्रपति
काठमाडौं १५ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा आह्वान गरेका छन् ।
१९ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदै राष्ट्रपति पौडेलले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल होस् भन्ने कामनासमेत गरेका छन । उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता हो । संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबिच सहकार्य आवश्यक छ” सन्देशमा उल्लेख छ ।
“आजको यस ऐतिहासिक दिवसले हामी सबै नेपालीबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना व्यक्त गर्दछु” सन्देशमा भनिएको छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताप्रति सम्मान तथा आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवं राजनीतिक कार्यकर्ताको योगदानको प्रशंसासमेत गरेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका महान् उपलब्धिको रक्षा गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाउन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
मुलुकको गौरवशाली परम्परा, सांस्कृतिक विविधता, राष्ट्रिय उपलब्धि र प्रगतिलाई उजागर गर्ने अवसरका रूपमा गणतन्त्र दिवसलाई मनाउन सकियोस् भन्ने कामना गर्दै उनले संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अगाडि बढ्न सके मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्ने सन्देशमा उल्लेख गरेका छन्।
तस्बिर : गोरखापत्रबाट

