अभिव्यक्तिको प्रभावकारी सम्प्रेषणले मानव समाजको सामूहिक चेतना निर्माण गर्ने कार्य प्रागऐतिहासिक कालदेखि गर्दै आएको छ। आज हामी इन्टरनेट, सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, एल्गोरिद्म र कृत्रिम बुद्धिमत्ताको युगमा छौं। तर, विचारको प्रसार, जनधारणाको निर्माण र सामूहिक मनोविज्ञानको गठन भने आज मात्र सुरु भएको होइन। माध्यम फेरिएका हुन्, मूल प्रकृति फेरिएको छैन।
मानिसले कथा सुनाएर समाज निर्माण गरेको इतिहास, सभ्यता जत्तिकै पुरानो छ। पहिले आगोको वरिपरि बसेर कथा सुनाइन्थ्यो, पछि लोकगाथा बन्यो, त्यसपछि महाकाव्य बन्यो, धर्मग्रन्थ बन्यो, इतिहास बन्यो, र अहिले त्यो नै “न्यारेशन” बनेर सामाजिक सञ्जालमा प्रवाहित भइरहेको छ। पौराणिक आख्यान, लोककथा, वीरगाथा, धार्मिक प्रसस्ती, राजकीय इतिहास, वंशावली, यात्रावृत्तान्त—यी सबै मूलतः सामूहिक मन निर्माण गर्ने औजार नै थिए।
कसलाई महान बनाउने ? कसलाई विद्रोही देखाउने ?कसलाई धर्मात्मा र कसलाई अधर्मी ठहर गर्ने ? कसको स्मृति पुस्तौंसम्म जोगाउने ? यी सबै कुराको निर्णय केवल सत्यले मात्र होइन, सम्प्रेषणको शक्तिले पनि गर्दै आएको छ।
लामो नलेखौं, एउटा पुरानो प्रसंग सम्झौं! सन्त कबीरदासको जन्म प्रचलित मान्यताअनुसार सन् १४४० तिर भएको मानिन्छ। नेपाली पात्रोअनुसार यो विक्रम संवत् १४९७ सालतिर पर्छ। रामचरितमानसका रचनाकार तुलसीदासको जन्म सन् १५३२ मा भएको मानिन्छ, अर्थात् विक्रम संवत् १५८९ सालतिर। यसरी हेर्दा, कबीरभन्दा करिब एक शताब्दीपछि तुलसीदासको जन्म भएको देखिन्छ। भक्तिमार्गका अर्का महान सन्त सूरदासको जन्म पनि यही हाराहारीकै समयको हो।
कबीरदास मूलतः विद्रोही चेतनाका कवि थिए। उनले धार्मिक आडम्बर, जातीय विभाजन, कर्मकाण्ड र पाखण्डको विरोध गरे। उनको भाषा दरबारी थिएन, लोकजीवनको भाषा थियो। उनको प्रश्न केवल धर्ममाथि थिएन, समाजको संरचनामाथि थियो।
हिन्दू र मुस्लिम दुवै समुदायभित्रको अन्धविश्वासमाथि उनले प्रहार गरे। स्वाभाविक रूपमा, त्यस्तो स्वर तत्कालीन सत्तासंरचनाका लागि असहज थियो। तर तुलसीदास र सूरदासका वरिपरि विशाल भक्तिमण्डल निर्माण भयो। राजा, दरबार, मठ, पुजारी, धर्मसंस्था र परम्परागत समाज तिनकै पक्षमा उभियो। त्यसैले उनीहरूको विचार केवल साहित्य बनेन, संस्थागत प्रचारको विषय पनि बन्यो।
यही सन्दर्भमा एकजना दोहाकारले एउटा दोहा रचे, जुन लिखितभन्दा बढी मौखिक परम्पराबाट फैलियो। त्यो दोहा बृहद् भारतका शहर, गाउँबस्ती हुँदै नेपालका कोशी किनारमा रहेको सप्तरीका मेरो गाउँघरमा समेत पुग्यो। साधुसन्तहरूले गाउँदै हिँड्थेः
“कि सार सार सूरा कही, तुलसी कही अनमोल,
अनु बजा खुचा कविरा कहा, और कह सब झुठ।”
यसको सार यस्तो बुझिन्छः
“जति सारगर्भित कुरा छन्, ती सूरदासले भने। तुलसीदासका वचन अनुपम छन्। बाँकी बचेखुचेका कुरा मात्र कबीरले भनेका हुन्, अरू सबै झूठ हुन्।”
अब विचार गरौं—कबीरका विचार तुलसी र सूरदासभन्दा एक शताब्दीअघि आएका थिए। तर सय वर्षपछि बनेको सामाजिक न्यारेशनले तुलसी र सूरलाई ‘पूर्ण सत्य’ बनायो, अनि कबीरलाई ‘बचेखुचेको’ विचारमा सीमित गरिदियो। यहीँ सम्प्रेषणको वास्तविक शक्ति देखिन्छ।
इतिहास केवल घटनाले बन्दैन, घटनाको व्याख्याले बन्छ। समाज केवल सत्यले चल्दैन, सत्यको प्रस्तुतीकरणले चल्छ। पूर्वीय एशियामा पनि यस्तै अनेक उदाहरण भेटिन्छन्।
चीनमा कन्फ्युसियसका विचार हजारौं वर्ष राज्यद्वारा संरक्षित भए। किनभने उनका शिक्षाले अनुशासन, पदानुक्रम र राज्यप्रति निष्ठालाई वैधता दिन्थे।
तर त्यही कालखण्डका दार्शनिक लाओत्से, जसले सत्ता, नियन्त्रण र कृत्रिम नैतिकताको आलोचना गरेका थिए, उनी धेरै समयसम्म सीमित दार्शनिक वृत्तमै सीमित रहे। आज संसारले दुवैलाई पढ्छ, तर इतिहासको लामो कालखण्डमा राज्यसत्ताले कुन विचारलाई बढी सम्प्रेषित गर्यो भन्ने प्रश्न महत्वपूर्ण छ।
जापानमा समुराई संस्कृति केवल युद्धकला थिएन, एउटा आख्यान थियो। “बुशिदो” अर्थात् योद्धाको नैतिकता—त्यो साहित्य, नाटक, लोककथा र दरबारी संस्कृतिमार्फत राष्ट्रिय चेतनाको हिस्सा बनाइयो।
समुराईहरू वास्तविकतामा जति थिए, सामाजिक कल्पनामा त्योभन्दा धेरै ठूलो बनाइए।
कोरियामा पनि राजवंशहरूले आफ्ना इतिहासकारमार्फत आफूअनुकूल इतिहास लेखाए।
राजाहरूका कमजोरी दबाइए, वीरता विस्तार गरियो।
आज डिजिटल युगमा जसरी “ट्रेन्डिङ” बनाइन्छ, त्यो बेला दरबारका इतिहास र कथावाचनले त्यही काम गर्थे।
हाम्रो आफ्नै पूर्वीय सभ्यतामा महाभारत र रामायण पनि केवल धार्मिक ग्रन्थ मात्र होइनन्, सभ्यताको दीर्घकालीन न्यारेशन हुन्। यी कथाले हजारौं वर्षदेखि समाजको नैतिक संरचना, पारिवारिक सम्बन्ध, राज्यबोध, धर्मबोध र नायकको परिभाषा निर्माण गरेका छन्।
अझ रोचक कुरा के छ भने—जुन समाजमा लेखन सीमित थियो, त्यहाँ पनि विचारको प्रसार अत्यन्त शक्तिशाली थियो। लोकगायक, कथावाचक, सन्त, यात्रु, व्यापारी, बौद्ध भिक्षु, सूफी फकिर—यिनै त्यस समयका “चलायमान सामाजिक सञ्जाल” थिए।
आज माध्यम फेरिएको मात्र हो। पहिले लोकगीत भाइरल हुन्थे, अहिले रील्स भाइरल हुन्छन्। पहिले सन्तका दोहा गाउँगाउँ पुग्थे, अहिले ह्यासट्याग ट्रेन्ड हुन्छ। पहिले दरबारले आख्यान निर्माण गर्थ्यो, अहिले डिजिटल प्लेटफर्म र एल्गोरिद्मले गर्छन्।अहिलेको युग मूलतः “न्यारेशन” को युग हो। राजनीतिमा केवल संगठन भएर पुग्दैन, विचारलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्नुपर्छ। जो समूह, दल वा नेतृत्वले जनताको भावनासँग जोडिने कथा निर्माण गर्न सक्छ, उसैले समाजको मनोविज्ञान प्रभावित गर्छ।
यसकारण अहिले विश्वभर राजनीति केवल घोषणापत्रमा सीमित छैन। छवि निर्माण, प्रतीक निर्माण, डिजिटल प्रभाव, भावनात्मक प्रस्तुति, दृश्यात्मक भाषा, संक्षिप्त सन्देश र निरन्तर पुनरावृत्ति—यी सबै आधुनिक राजनीतिक शक्तिका केन्द्र बनेका छन्। आजको राजनीतिक यथार्थमा प्रधानमन्त्री, राष्ट्रपति वा दलका सभापति केवल प्रशासक भएर पुग्दैनन्; उनीहरू प्रभावकारी “न्यारेटर” पनि हुनुपर्छ। जो आफ्नो कथा समाजसम्म पुर्याउन सक्दैन, ऊ सत्य बोकेर पनि पराजित हुन सक्छ। र जसले प्रभावकारी आख्यान निर्माण गर्न सक्छ, ऊ सीमित सत्यलाई पनि विशाल जनधारणामा रूपान्तरण गर्न सक्षम हुन्छ।त्यसैले, अहिलेको समय केवल सूचनाको युद्ध होइन, व्याख्याको युद्ध हो। के भनियोभन्दा बढी महत्वपूर्ण—कसरी भनियो, कसले भन्यो, र कति व्यापक रूपमा फैलाइयो भन्ने भएको छ।
यसमा पछि परियो भने, इतिहासले मात्र होइन, वर्तमानले पनि बिर्सिन्छ। नेपालको मधेसको मेरो गाउँ…जहाँ कोशीको पानी बग्थ्यो, धानका खेतहरू हावासँगै लहरिन्थे, र साँझ पर्नासाथ गाउँमाथि एउटा अनौठो उदासी र मिठास मिसिएको शान्ति ओर्लिन्थ्यो।त्यो बेला न मोबाइल थियो, न टेलिभिजन हरेक घरमा पुगेको थियो।तर, कथा थिए। यस्ता कथा, जसको जन्म हामीबाट हजारौँ माइल टाढा भएको थियो, तर जो हाम्रो आफ्नै जीवनजस्तो लाग्थे।
राति खाना खाइसकेपछि, गाउँका बुढापाका चौतारोमा वा आँगनको डिलमा बस्नुहुन्थ्यो। कसैले सुर्ती माड्दै, कसैले हुक्का तान्दै कथा सुरु गर्नुहुन्थ्यो। हामी साना नानीहरू गोलबद्ध भएर बस्ने गर्थ्यौं—आँखा ठूला पारेर, सास रोक्दै। ती कथाहरू हावा भएर आएका थिए। कुनै व्यापारीको झोलाबाट आएका थिए। कुनै भट्केका साधुको कण्ठबाट आएका थिए। र धेरैजसो, श्रुति परम्पराको अद्भुत जादूबाट हाम्रो अँगनासम्म आइपुगेका थिए। ‘अल्हा–उदल’ को वीर रक्तिम गाथा मध्य प्रदेशको बुन्देलखण्डबाट आयो। तर हाम्रो गाउँमा सुनिँदा लाग्थ्यो—मानौँ ती तलवारहरू यतै कतै ठोक्किरहेका छन्। गवैया बूढाले जब भारी स्वरमा भन्नुहुन्थ्यो “अल्हा घोडा चढेर युद्धभूमिमा उत्रियो…”
त्यतिबेला हाम्रो बालमनमा साँच्चिकै धूलो उड्न थाल्थ्यो। हामीलाई लाग्थ्यो—अल्हा र उदल कुनै किताबका पात्र होइनन्, जीवित वीर हुन्। उनीहरूको भाइचारा, युद्धको डंकार, रगत, बदला र बहादुरीका कथाहरू सुनेर हामी रातभर सपना देख्थ्यौं। कहिले आफूलाई अल्हा सम्झिन्थ्यौं, कहिले उदल। मधेसमा यो गाथा यति लोकप्रिय थियो कि कुनै गवैया बूढाले “अल्हा” को नाम मात्रै लिँदा पनि नानीहरूको मुटु ढुकढुक गर्न थाल्थ्यो। त्यसपछि आउँथ्यो—‘लैला–मजनूँ’। पाकिस्तान–भारतको सीमावर्ती बालुवा मरुभूमिबाट उठेको प्रेमको त्यो आँधी हाम्रो ओद्राहाको मेग्जिन चौरीया कोशी मेलासम्म आइपुग्थ्यो।
आ फेर कोशी मेलाक ओ दिन ! हे भगवान !
ओकर रौनक तऽ आब सपना जेकाँ लगैत अछि।
कोशी मेलाको रात…पेट्रोम्याक्सको उज्यालो….धूलाम्मे मैदान…र बाँसको मञ्चमा सुरु हुने “लैला–मजनूँ”। मजनूँको पागलपन देखेर सारा गाउँ चुप लागेर बस्थ्यो। उसले “लैला… ओ लैला…” भनेर चिच्याउँदा कतिपय महिलाहरूले आँचलले आँखा पुछ्थे। हामीलाई न मरुभूमिको भूगोल थाहा थियो, न त्यो संस्कृतिको गहिराइ। तर प्रेमको पीडा भने त्यहीँ बुझ्यौँ। लैलाको आँखाभित्रको विरह, मजनूँको उन्माद, र प्रेमका लागि समाजसँग हारेर पनि प्रेमसँग नहार्ने जिद—यी सब हाम्रो बालमनमा गहिरो गरी बस्दै गयो।त्यसैगरी, ‘सुल्ताना डाकु’ को कथा पञ्जाबबाट आयो।ब्रिटिस भारतको त्यो डाकु, जसले अंग्रेजहरूलाई चुनौती दिन्थ्यो, हाम्रो गाउँका हजुरबाहरूको कथामा कुनै चलचित्रको नायकझैँ जीवित थियो।
कोनो कोना सँ ढोलकक थाप उठैत “ढुम… ढुम… ढुम…”
आ बस, बुझू पूरा गाम कथा सुनै लेल उमड़ि पड़ैत।
अँध्यारो कोठामा टुकी बलेको हुन्थ्यो। धुवाँ माथि उडिरहेको हुन्थ्यो। र मेरा हजुरबा विस्तारै भन्नुहुन्थ्यो—“सुल्ताना रातको अँध्यारोमा घोडा चढेर आउँथ्यो…”बस, त्यति सुन्नासाथ हाम्रो शरीर सिरिङ्ग हुन्थ्यो। हामी डराउँथ्यौं पनि, रमाउँथ्यौं पनि। लाग्थ्यो—कतै आज राति ऊ हाम्रो गाउँमै नआइपुगोस् ! तर बूढापाकाले सधैँ एउटा कुरा थप्नुहुन्थ्यो—“सुल्ताना गरीबलाई दुःख दिंदैनथ्यो।” त्यो सुन्नासाथ डाकु पनि हाम्रो बालमनमा आधा नायक बनिहाल्थ्यो। अझै कति कथा थिए !
‘हीर–राँझा’ को प्रेम कथा पनि पञ्जाबबाटै आयो।राँझाको बाँसुरी र हीरको विरहले मधेसका युवतीहरूको मन भिजाउँथ्यो। मेलामा, बिहेमा, चौतारोमा—कतै न कतै कसैले गाइरहेको हुन्थ्यो—“हीर रोइरहेकी छे… राँझा टाढा गइसक्यो…” ‘सोहनी–महिवाल’ को दर्दनाक प्रेम कथा सिन्धबाट आयो। चिनिको घैँटो समातेर नदी तर्ने सोहनी…र अन्ततः प्रेमकै लागि डुबेर मर्ने कथा… यो सुन्दा गाउँका बूढीआमाहरू गहिरो सास फेर्दै भन्नुहुन्थ्यो—“प्रेममा डुब्नु पनि बहादुरी हो बाबु…”राजस्थानबाट ‘पाबूजी की फड़’ को लोकमहाकाव्य आयो। घोडा, ऊँट, मरुभूमि र वीरताको त्यो कथा कुनै भट्केको राजस्थानी कलाकारले चित्र देखाउँदै सुनाउँदा मेरो गाउँको मुख्य चौकमा रहेका उद्यमि गोलाका मालिक सुरजमल सिरोहियाले सुनाउने गरेका अनन्त लोककथाहरूको मन्त्र मुग्धताले गाउँको चौर रातभर जाग्थ्यो।
रामायण र महाभारत त हाम्रो आफ्नै जीवनको हिस्सा भइसकेका थिए। तर तिनभित्रका साना उपकथाहरू—सावित्री–सत्यवान, नल–दमयन्ती, उषा–अनिरुद्ध—यी सब भारतका विभिन्न भूभागबाट यात्रा गर्दै हाम्रो लोकस्मृतिमा मिसिएका थिए। अरबी र फारसी प्रभावका ‘अलिफ लैला’ का कथाहरू पनि व्यापारीहरू हुँदै मधेससम्म पुगेका थिए। “अलादिनको चिराग”, “सिन्डबादको यात्रा”—यी कथा हामी नेपाली लवजमै सुन्ने गर्थ्यौं।
हाम्रो गाउँतिर ‘राजा भरथरी’ को कथा पनि निकै सुनिन्थ्यो। राजपाट त्यागेर वैराग्य लिएको राजाको कथा। लोकगायकहरूले त्यस्तो करुण स्वरमा गाउथे कि बालक मनमा पनि संसार क्षणभंगुर रहेछ भन्ने भावना जाग्थ्यो। ‘सोरठी–बृजभार’ का लोकनाटकहरू मधेसका मेलाहरूमा अत्यन्त लोकप्रिय थिए। प्रेम, विछोड, संघर्ष र सामाजिक मर्यादाको मिश्रण भएका ती कथाहरूले गाउँका साधारण मानिसको जीवनलाई नै रंगमञ्चमा उतार्थे।
नेपालकै पहाडतिर ‘भृकुटी’, ‘मुनामदन’, ‘काजी–कालु पाँडे’ र ‘लाहुरे’ कथाहरूले पुस्तौंसम्म जनमानसमा गहिरो प्रभाव छोडे। तिब्बत जाने व्यापारी, युद्धमा जाने गोर्खाली, परदेशिएका पति, पर्खिरहेकी पत्नी—यी सबै केवल पात्र होइनन्, सामूहिक नेपाली स्मृतिका अंश हुन्। आज सम्झँदा लाग्छ—हामी एउटा सानो गाउँमा बस्थ्यौँ, तर हाम्रो कल्पना पूरै उपमहाद्वीपभरि फैलिएको थियो। दूरीले संस्कृतिलाई रोक्न सकेन। भाषाले भावनालाई छेक्न सकेन। मरुभूमिको प्रेम कोशी किनारमा रोयो।पञ्जाबको बाँसुरी मधेसमा बज्यो। बुन्देलखण्डको तलवार हाम्रो बालस्मृतिमा चम्कियो।
सायद यही लोकगाथाको सबैभन्दा ठूलो शक्ति हो।
यसले भूगोल मेटाइदिन्छ। मानिसलाई एउटै भावनामा बाँधिदिन्छ। नआज इन्टरनेट छ, सामाजिक सञ्जाल छ, संसार औँलामा अटेको छ। तर, सत्य कुरा के हो भने—त्यो बेला पनि संसार जोडिएको थियो। फरक यत्ति थियो—आज कथा स्क्रिनबाट आउँछ, त्यो बेला कथा मानिसको कण्ठबाट आउँथ्यो।
साभार :जयप्रकाश आनन्दको फेसबुकबाट ,तस्वीर, दास स्टुडियो-राजबिराज)