राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी,संवैधानिक परिषद अध्यादेश अध्ययनको क्रममा
काठमाडौं, १९ वैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा शनिबार पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत् जानकारी दिए ।
राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ शनिबार जारी गरेका हुन् ।
राष्ट्रपति पौडेलले यसअघि सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश, २०८३, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी सकेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यक्षदेश जारी गरेका हुन्।
राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धि विधेयकमा संविधानविदसँग परामर्श गरिरहेका छन् । संविधानविदहरुको राय, राजनीतिक परिदृश्य र यसअघि राष्ट्रपतिको हैैसियतमा आफैले अनुमोदन नगरेर फर्काएका अध्यादेशबारे के हुने भन्ने निश्चित छैन । राजनीतिक घटनाहरुले संवैधानिक परिषद विधेक बाहेकका सबै विधेयक राष्ट्रपतिबाट क्रमश जारी हुँदै जाने देखिन्छ ।

