शिष्यहरु भन्छन् : सरले हामी विद्यार्थीहरुमा आँटेको काम गर्न सकिन्छ, हुन्छ भन्ने सकारात्मक माइन्टसेट बसाउनु भएको छ ।

काठमाडौं,१९ वैशाख ।
पूर्वी नेपाल खास गरेर भोजपुर र खोटाङ्गको शैक्षिक जागरणमा महत्वपूर्ण योगदान गरेका , लोकतान्त्रिक राजनीतिका अभियानकर्ता कुमार राईको स्मृतिमा शनिबार एक सभाको आयोजना गरिएको छ । परिवारजनले उनको निधनमा आयोजना गरेको सभामा पारिवारिक सदस्य, राईले अध्यापन गरेका ठूलो संख्यामा शिष्यहरु, राजनीतिकर्मी र शुभचिन्तकहरुको बाक्लो उपस्थिति थियो ।


स्मृतिसभालाई सम्बोधन गर्दे कुमारका माइला भाइ हिमालधन राईले दाजुको माङ्गलामा बास होस् भन्ने कामना गरे । हिन्दूहरुमा स्वर्गमा बास भनेजस्तै राईहरु मृतकहरुको माङ्गलामा बास होस् भनेर कामना गर्ने गर्दछन् । कार्यक्रममा सम्बोधन गर्दे कुमारका शिष्य दुर्गाप्रसाद नेपाल जो आफै लामो समयदेखी शिक्षण पेशामा छन् । नेपालले कुमार सरबाट प्रभावित भएर शिक्षण पेशमा आवद्ध भएको बताए । नेपालले भने ‘ सरले हामी विद्यार्थीहरुमा आँटेको काम गर्न सकिन्छ, हुन्छ भन्ने सकारात्मक माइन्टसेट बसाउनु भएको छ ।’
राजनीतिज्ञ टंक कार्कीले पंचायतकालीन कठिन र कठोर समयमा कुमारले सामाजिक र राजनीतिक आन्दोलन चलाएको स्ममरण गर्दे भने ‘ त्यस्तो समयमा राजनीतिमा संलग्न हुनु र योगदान गर्नु चानचुने कुरा थिएन ।
कुशल हेडसरको परिचय कमाएका राईले खोटाङ्ग र भोजपुरका विभिन्न स्कुलहरुमा २ दशकबढी प्रधानाध्यापक भएर योगदान गरेका छन् । शिक्षा, सामाजिक विकास र लोकतान्त्रिक राजनीतिमा निष्ठा, समर्पण र अनुशासनको पर्याय बनेका राई पहिलो संविधानसभामा कांग्रेसबाट समानुपातिक सांसद थिए ।
पंचायतकालको कठोर राजनीतिक परिवेशमा प्रारम्भमा वामपन्थी कित्ताबाट समाजमा राजनीतिक चेतना भर्दे खासगरेर पूर्वी नेपालमा सक्रिय युवा जोस शिक्षा र समाजकालागि खर्चिएका राई २०४३ मा नेपाली कांग्रेसमा आवद्ध भएका हुन् । कांग्रेससँगको आवद्धता ३ दशकसम्म रह्यो । २०४८ र २०५१ मा भोजपुर १ बाट प्रतिनिधिसभा कांग्रेसका उमेदवार बनेका राई दुबै पटक थोरै मतले पराजित बनेका हुन्। पटक पटक जेल यातना भोगेका राईलाई माओवादी ‘जनयुद्ध’को समयमा ज्यान जोगाएर बिस्थापित हुन् वाध्य हुनुपरेको थियो ।
जुझारु, सिद्धान्तनिष्ठ, कडा अनुशासनका अनुयायी कुमार कांग्रेसका नेता विपि कोइरालाबाट प्रभावित भएको मानिन्छ । मानिस जन्मदा पनि स्वतन्त्र भएर जन्मिएको हुन्छ, त्यसैले स्वतन्त्रतामै उ फैलनसक्छ भन्दै कांग्रेसमा आवद्ध भएको उनले बताउने गरेको अनुयायीहरु बताउँछन् ।
कलेज अध्ययनकै क्रममा विद्यार्थी राजनीतिमा होमिएका उनी शिक्षण पेशा हुँदै राजनीतिमा केन्द्रीय भएका हुन् । उनी पछिल्लो समय कांग्रेसका अटाउन सकेनन् । निष्ठा, समर्पण, अनुशानमा संझौता नगर्ने कुमारले २०६९ पुषमा सामाजिक लोकतान्त्रिक पार्टी स्थापना गरे । उनी पार्टीको संस्थापक अध्यक्ष हुन् । पाको उमेरमा खोलेको पार्टीले विस्तारित आकार लिनभने सकेन् ।
भोजपुरको त्यसबेलाको बैंकुण्ठ गाबिस जुन अहिले रामप्रसाद गाउँपालिकामा पर्दछमा २००२ साल कात्तिक २७ गते जन्मिएका कुमार वैशाख १४ गते काठमाडौंमा दिवंगत भएका हुन्।