सैनिक लघु चलचित्र प्रतियोगिता २०८२ मा बुख्याँचा सर्वाेत्कृष्ट घोषित
काठमाडौँ, १६ वैशाख ।
प्रधानसेनापति अशोकराज सिग्देलले विसं २०८२ को लघु चलचित्र प्रतियोगीताका तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरे ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा लघु चलचित्र बुख्याँचाका सुरज पराजुली, अमरकर्तव्यका देवशङ्कर पौडेल र अडानका निर्माता राम नरेशलाई सिग्देलले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगितामा लघु चलचित्र बुख्याँचा प्रथम, अमर कर्तव्य द्वितीय र अडान तृतीय घोषित भए । प्रथम, द्धितिय, तृतियलाई क्रमशः रु दुई लाख, रु एक लाख ५० हजार र रु एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा राष्ट्रिय विकास, विपद् व्यस्थापन, प्रकृति तथा पर्यावरण संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र अन्तरराष्ट्रिय शान्ति कार्यमा पु¥याएको योगदानसम्बन्धी विषयमा लघु चलचित्र निर्माण गर्न आह्वान गरेको थियो ।
प्रतियोगिताका लागि ३४ वटा निवेदन परेकामा १० वटा स्क्रिप्ट छनोट गरी चलचित्र निर्माणका लागि सेनाले आवश्यक सहयोग र सहजीकरण गरेकामा ती तीन चलचित्र छनौट भएका हुन् । त्यस अवसरमा महाशिवरात्रि तथा सेना दिवस २०८२ का अवसरमा आयोजित नेपाली सेना फोटो प्रदर्शनीका उत्कृष्ट युनिट तथा निर्देशनालयलाई पुरस्कृत गरियो ।
प्रतियोगितामा शार्दुलजङ्ग गुल्म प्रथम, सैनिक कल्याणकारी निर्देशनालय दोस्रो र प्रतिविद्रोह तथा जङ्गल शिक्षालय तृतीय घोषित भए ।
प्रधानसेनापति सिग्देलले कार्यक्रममा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक, २०८२ मा प्रकाशित उत्कृष्ट तीन लेखका सर्जक चन्द्रदेव भट्ट, सहायकरथी दिलविक्रम सुब्बा र महासेनानी ईश्वर बुढाथोकीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले निर्देशनालयले नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्दै नागरिक, सेना र सञ्चारजगतबीच पुलका रुपमा काम गरिरहेको बताए ।
बस्नेतले भने “आमजनतालाई सूसूचित गर्दै चेतनशील समाज निर्माणका लागि खबरदारी गर्ने सञ्चारजगत र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा रहेको सेनाको कार्य प्रकृति फरक रहेता पनि राष्ट्रियहित र एकता दुवैको सर्वाेपरी लक्ष्य हो ।”
सैनिक जनसम्पर्क निर्देशक बस्नेतले सेना र सञ्चारजगतले हरेक तहमा साझेदारी र सहकार्य गर्दै राष्ट्रिय सुरक्षासँग संवेदनशील सूचनाको व्यवस्थापन र पारदर्शीताकासाथ सन्तुलन कायम गर्न जरुरी देखिएको बताए।
सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्न विसं २०५८ चैत २० गते निर्देशनालयको स्थापना भएको थियो । सेनाले यस अवधिमा विभिन्न स्थानमा रक्षा समाचारदाताका लागि अभिमुखीकरण गरेको थियो । हालसम्म ६८३ जना सञ्चारकर्मीले उक्त कार्यक्रममा सहभागी भइसकेका छन् ।

