मन्त्री विराजभक्तको सामाजिक कूटनीति : भारतीयसँगको भेटवार्ता मन्त्रालयले पोष्ट गर्यो, चिन आफैले पोष्ट गर्यो
मन्त्रालयले भारतीय राजदुतलाई भेटेको तस्बिरमात्र राखेको प्रतिक्रियामा मध्यरातमा चिनले आफ्नो सामाजिक संजालमा भेटवार्ता पोष्ट गरेको त होइन ? कूटनीतिकवृतमा चासोकासाथ लिइन्छ यस्ता सामान्य लाग्ने विषयलाई ।
काठमाडौ, १२ वैशाख।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरेका छन् ।
चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबिच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।
विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबीच विचारविमर्श भएको चिनियाँ पक्षको भनाई छ ।
साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि सहकार्यको प्रतिबद्धता व्यक्त भएको छ ।
त्यसैगरी, भारतका राजदूतसँगको भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा नेपाल–भारतबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ गर्दै दिगो विकास र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार एवं प्रवर्धन गर्ने साझा दृष्टिकोणमा जोड दिइएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त भएको थियो।
जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ सामाजिक संजालमा सक्रिय देखिएका छन्, केही समययता । सामाजिक संजालको सक्रिया, सामाजिक हिसावले सामान्य मानिएला । राजनीतिक मामलामा पनि त्यत्ति धेरै प्रश्नहरु नउठलान । तर, कूटनीतिक परिदृश्यमा भने भेटघाट, तिनको प्रचारले गहिरो अर्थ लाग्दछ ।
चिन र भारतीय राजदुतलाई भेटेका घटनाहरुलाई राससले दुईटा श्रोतबाट लिएको देखिन्छ । भारतीय राजदूतसँगको भेटघाटको विवरण जलश्रोत मन्त्रालय, चिनिया राजदूतसँग भेटघाट भएको विवरण चिनिया राजदूताबास आफैले सामाजिक संजालमा राखेको विवरणबाट ।
के देखिन्छ भने मन्त्री श्रेष्ठ र भारतीय राजदूतसँगको भेटलाई जलश्रोत मन्त्रालयले यो समाचार लेखिरहेको समय अपराह्न ३ बजे भन्दा १९ घण्टा अगाडि राखिएको छ । शुक्रबार साँझ ७ बजे १८ मीनेटमा पोष्ट गरेको देखिन्छ । यता, चिनिया राजदूतावासले १४ घण्टा अगाडि, मध्यरात १२ बजे २३ मीनेटमा दूतावासको फेसबुकमा राजदूतले मन्त्रीसँग भटेको तस्बिर र विवरण पोष्ट गरिएको छ।
जलश्रोत मन्त्रालयले भारतीय राजदूतसँग भेटघाट भएको तस्बिरमात्र किन पोष्ट गर्यो ? चिनिया राजदूतसँगको भेट के कारणले मन्त्रालयले औपचारिक गर्न रुपचाएन ? मन्त्रालयले भारतीय राजदुतलाई भेटेको तस्बिरमात्र राखेको प्रतिक्रियामा मध्यरातमा चिनले आफ्नो सामाजिक संजालमा भेटवार्ता पोष्ट गरेको त होइन ? कूटनीतिकवृतमा चासोकासाथ लिइन्छ यस्ता सामान्य लाग्ने विषयलाई ।
श्रोत : रासस समाचार ।

