एक महिना नपुग्दैं दुई मन्त्रीको अवकाश, वरियता विवाद, मिडियालाई चुनौती

काठमाडौं, ९ वैशाख। गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। निर्वाचन पछि बनेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डलमा विवादकाबीच गृहमन्त्रीमा नियुक्त भएका गुरुङ्ग केही दिन यता विवादास्पद व्यक्तिहरुसँगको सेयर कारोवार लगायतका आर्थिक प्रश्नहरुको दबाबमा राजीनामा दिन वाध्य भएका हुन् ।
मन्त्री गुरुङले आफ्नो राजिनामा पत्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गरेको प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईले दिएको गोरखापत्र अनलाइनले जनाएको छ । बजगाईले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैंसँग राखेका छन् ।
आफ्नो राजीनामाका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठुलो भएको बताएका छन्। आजको समयमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेनजी’ आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उनको भनाइ छ।
गुरुङ्गले भनेका छन् ‘४६ जना दाजुभाइ तथा दिदीबहिनीको रगत र बलिदानीको जगमा बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको निर्धक्क जवाफ दिनु आफ्नो नैतिक कर्तव्य हो।’
आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको गुरुङ्गले स्पष्ट पारेका छन् ।
गुरुङले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै परिवर्तनका लागि सबै पक्ष सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिनुपर्नेमा जोड दिएका छन्।
पदबाट बाहिरिएर छानविनलाई सहयोग गर्ने बताउँदै गुरुङ्गले कतिपय मिडियाकर्मीहरूको शेयर लगानीका विषयहरू पनि क्रमशः बाहिर आउने चुनौती दिएका छन् । रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने भन्दै गुरुङ्गले पदबाट बाहिरिएर छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
रास्पपा सरकार गठन भएको एक महिना नपुग्दै पदीय दुरुपयोग र आर्थिक कारोबारमा प्रश्न उठेपछि दुईजना मन्त्रीहरु हटिसकेका छन् । यस अघि प्रधानमन्त्रीले श्रम, रोजगारी सामाजिक सुरक्षा मन्त्री दीपककुमार शाहलाई बर्खास्त गरेका थिए । गुरुङ्गको राजीनामा विवादास्पपद व्यापारी दीपक भट्टसँगको सेयर कारोबार मिडियाबाट सार्वजनिक भएपछि सामाजिक राजनीतिक वृतबाट उनको राजीनामाको माग भएको थियो ।
सुधन गुरुङ्ग प्रधानमन्त्री बालेनका विश्वासपात्र मानिन्छन् । उनकै जोडबलमा उनलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । मन्त्रिपरिषदमा तेश्रो वरियतामा रहेका उनलाई पार्टी भित्रको वरिष्ठता विवादकाबीच दुई शीर्ष पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनको आपसि ‘समझदारी’मा मिलाइएको थियो ।
तस्बिर : गोरखापत्र

सुधनको फेसबुक स्टाट्सबाट

, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।_