मध्यपुर थिमिको सिन्दुर जात्रा : आस्था, समुदाय र सामूहिक उत्सवको प्रतिक
काठमाडौं, ३ वैशाख ।
नयाँ वर्ष सुरु भएको दोस्रो दिन, भक्तपुरको मध्यपुर थिमी सहर एकाएक रातो रंगले ढाकिन्छ। गल्ली, चोक, घरका झ्याल–छाना र मानिसका अनुहार—सबैतिर सिन्दुरको वर्षा हुन्छ। यही दृश्य हो, थिमीको पहिचान बोकेको सिन्दुर जात्रा।
नेवार समुदायको गहिरो सांस्कृतिक परम्परासँग जोडिएको यो जात्रा बिस्केट जात्राको अन्तिम दिन मनाइन्छ। वर्षौँदेखि निरन्तर चल्दै आएको यो उत्सव केवल रमाइलो मात्र होइन, आस्था, समुदाय र सामूहिक उत्सवको प्रतिक पनि हो।
जात्राका दिन बिहानैदेखि थिमीका विभिन्न टोलबाट देवदेवीका खट ९खःपा० सजाइन्छन्। परम्परागत पोसाकमा सजिएका पुजारी, हातमा मशाल बोकेका श्रद्धालु र धिमे, नायखिन, भुस्या बाजाको तालसँगै खट सहर परिक्रमा गर्छन्।
बिस्केट जात्राको चार दिनको क्रम
१. पहिलो दिन विष्णुवीरको जात्रा हुन्छ, जसमा विशेष पूजाआजा गरिन्छ।
२.दोस्रो दिन सिद्दिकाली मन्दिरको जात्रा मनाइन्छ, जसले ठूलो धार्मिक महत्व राख्छ।
३.तेस्रो दिन बालकुमारी मन्दिरको जात्रा, जुन मुख्य सिन्दुर जात्रा हो, सबैको आकर्षण बन्छ।
४. चौथो दिनस् सिद्दिकाली मन्दिरलाई फेरी मूल स्थानमा फर्काएर राखिन्छ, जहाँ यो जात्राको औपचारिक समापन हुन्छ।
सिन्दुर जात्राको दोस्रो दिन सिद्दिकाली मन्दिरको जात्राको बीचमा, मानिसहरू सिन्दुरको वर्षा गर्छन्—अनुहार, गल्लीहरू र छतहरू रातो रंगले भरिन्छन्। यो उत्सव ४ दिनसम्म चल्ने भएकाले, प्रत्येक दिनको जात्राले एकदमै फरक सांस्कृतिक कथा सुनाउँछ। सिन्दुरले रङ्गिएका अनुहार, आँखामा देखिने खुशी, पसिनासँग मिसिएको रातो धुलो र बाजाको तालमा नाच्ने भीड—सिन्दुर जात्रा फोटो पत्रकार र डकुमेन्ट्री फोटोग्राफरका लागि दृश्यात्मक खजाना हो।



तस्बिर सौजन्य : कृष्पा श्रेष्ठ, मध्यपुर थिमि ।
