वार्ता कहाँ र कहिले हुने एकिन छैन। इजिप्ट,टर्कि,इस्लामावाद प्रयासरत् ।आणविक उर्जा र परमाणु संवर्धन अमेरिका इरानबीच हुनसक्ने वार्ताको सबै भन्दा पेचिलो मामला मानिन्छ।

अमेरिका इरानबीचको इस्लामावाद वार्ता कुनै सहमतिमा पुग्न नसकेको अन्यौलग्रस्त भूराजनीतिक परिदृश्यबीच दुई खाले अभ्यास चलिरहेका छन् । एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानले कब्जा जमाइरहेको स्टेटअफ हर्मुजमा आफ्नो नियन्त्रण राख्न सफल भएका छन् । ट्रम्पको यस्तो कारवाहीको अमेरिका, युरोप लगायतका देशले आलोचना गरेका छन् । चिनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले ट्रम्पको कदमलाई गैरजिम्मेवार र खतरनाक भनेका छन् ।
विश्व राजनीतिको सतहमा आएको यी प्रतिक्रियाबीच फेरी अमेरिका इरान आमने सामने वार्ताको तयारी भैरहेको समाचार सार्वजनिक हुन थालेका छन् । समाचार एजेन्सिहरुले वार्ताको वातावरण बनिरहेको घटनाहरु र जिम्मेवार नेताहरुका भनाईलाई आधार बनाएको देखिन्छ ।

अमेरिकाको वाल स्ट्रिट जर्नलका अनुसार अमेरिका र इरान दुवै पक्ष लचिलोपन देखाउँदै वार्तामा संलग्न हुन तयार छन्। यता, रोयटर्सले पाकिस्तानमा रहेको इरानी दूतावासका प्रवक्तालाई उद्धृत गर्दै इरान र अमेरिका बीचको प्रत्यक्ष वार्ताको अर्को चरण निकट भविष्यमाू हुने समाचार प्रकाशमा ल्याएको छ । रोयर्टसको समाचारमा पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफको भनाईलाई आधार मानिएको छ । एसोसिएटेड प्रेसले संभवत बिहिबार वार्ता हुनसक्ने जनाएको छ । वार्ताका लागि पाकिस्तान सक्रिय भएको छ । त्यस्तै टर्कि इजिप्ट लगायतका देश पनि दुबै पक्षलाई वार्ताको टेबुलमा ल्याउन प्रयासरत छन् ।
वार्ता कहाँ हुने र कहिले हुने निश्चित भएको छैन । अमेरिकाइजरायल इरान तीन साताका लागि युद्धबिराम गर्न सहमत भएका हुन् । तीन साताको अवधि अप्रिल २० सम्म हो । युद्धबिरामको समयसीमा सकिनु अघिनै दोश्रो चरणको वार्ता हुने मानसिकतामा अमेरिका इरान दुबै रहेको समाचारहरु छन ।

वार्ता फेरी पनि पाकिस्तानको इस्लामावादमा हुन्छ वा स्विजरल्याण्डको जेनेभामा हुन्छ ? टर्की वा इजिप्टले अर्को चरणको वार्ता आयोजना गर्ने हुन् एकिन भएको छैन । टर्की र इजिप्टका अधिकारीहरूले कूटनीतिक प्रयासहरू गरि गरेका छन् । कुटनीतिक वृतमा यी दुई मध्ये कुनै एक देशमा वार्ता हुने सम्भावना बढेको छ।अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पछिल्लो समय वासिङ्टन र तेहरानले वार्ताको क्रममा उल्लेखनीय प्रगति भएको बताउँदै आएका छन् । अमेरिकी प्रशासनले इरानमा सैन्य कारबाहीको लक्ष्य हासिल भैसकेको निचोड निकाल्दै अब द्वन्द्व अन्त्य गर्ने दिशामा अघि बढ्ने समय आएको विश्लेषण गर्दे आफ्ना रणनीति अघि सारिरहेको देखिन्छ ।

भान्सले एक टेलिभिजन अन्तर्वातामा अमेरिकाले इरानले हर्मुजको जलडमरू पूर्ण रूपमा खोल्ने अपेक्षा गरेको बताएका छन् । उनले वाशिंगटन र तेहरान बीचको हालको वार्ता प्रक्रियामा आधारभूत परिवर्तनहरू हुने जनाउँदै नयाँ रणनीतिको संभावना औंल्याएका छन् । भान्सले थप वार्ताको सम्भावना तेहरानमा निर्भर रहेको कुरामा पनि जोड दिदै आएका छन्।

अमेरिका इरानमा समृद्ध आणविक इन्धन वा आणविक संवर्धनको भण्डारणमा सम्झौता गर्ने पक्षमा भने छैन । अमेरिकासँग इस्लामाबाद वार्ताको क्रममा, इरानले पाँच वर्षसम्म आणविक संवर्धन निलम्बन गर्ने प्रस्ताव गरेको थियो भन्दै द न्यूयोर्क टाइम्सले अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको थियो । इस्लामावाद वार्तामा पनि आणविक उर्जा र परमाणु भण्डारसँग सम्बन्धित मामला सबै भन्दा पेचिलो बनेर उपस्थित भएको घटनाक्रम र भान्सको वत्तव्यले पुष्टि गरेका छन् । त्यसो त युद्ध सुरु हुन अघि फेब्रुअरीमा जेनेभामा सम्पन्न वार्तामा यस्तै तेहरानले प्रस्ताव राखेको थियो । तेहरानको प्रस्ताव अमेरिकलाई स्वीकार्य भएन । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले इरान विरुद्ध कारबाही सुरु गर्ने आदेश दिएका थिए। गत फ्रेबुअरी २८ देखि अमेरिकाइजरायलको इरान माथिको आक्रमण र इरानको इजरायल लगायत अरब राष्ट्रहरु माथि आक्रमण भएको हो । महिना दिन लामो युद्ध पछि तीनसाताका लागि युद्धबिराम भएको हो ।

पाकिस्तानमा भएको बैठकको क्रममा, अमेरिकाले इरानलाई युरेनियम संवर्धनमा बीस वर्षको रोक लगाउने प्रस्ताव गरेको द न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको छ ।
फेरी पनि आणविक उर्जा र परमाणु संवर्धन अमेरिका इरानबीच हुनसक्ने वार्ताको सबै भन्दा पेचिलो मामला मानिन्छ ।

तस्बिर साभार : www.greaterkashmir.com बाट ।