संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्नु हुनेमा म विश्वस्त छु : रवि लामिछाने

काठमाडौं, २२ चैत ।
राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधिसभाको समामुख पदमा निर्वाचित भएकोमा सफल कार्यकालको शुभकामना दिएका छन् । आइतबार एक विज्ञप्ति प्रकाशीत गर्दे लामिछानेले भनेका छन् ‘राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति श्री डोलप्रसाद अर्याल व्यवस्थापिकाको सर्वोच्च पद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनु भएकोमा म व्यक्तिगत रूपमा तथा पार्टीको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

अर्यालले संसदको गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेको उल्लेख गर्दे लामिछानेले भनेका छन ‘सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्नु हुनेमा म विश्वस्त छु।’
सबै राजनीतिक दल तथा माननीय सांसदहरूसँग सहकार्य र समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने अर्यालको दृष्टिकोण सराहनीय रहेको लामिछानेले बताएका छन्।लामिछानेले अर्याललाई समामुख निर्वाचन गर्न भूमिका खेल्ने राजनीतिक दल र सांसदहरुलाई पार्टीका तर्फबाट धन्यवाद दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘रास्वपाको तर्फबाट प्रस्तुत उक्त उम्मेदवारीलाई प्रतिनिधि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रस्तावकका रूपमा मैले तथा समर्थकहरू डा। स्वर्णिम वाग्ले, श्री सुनिल लम्साल र श्री सोबिता गौतमले समर्थन गरेको प्रस्तावलाई निर्विरोध रूपमा पारित गरी निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ।’

अर्याल पार्टीका जिम्मेवारीबाट अलग रहँदै आएको चर्चा गर्दे उनबाट उदाहरणीय कार्यकाल हुने विश्वास गरेका छन् । लामिछानेले भनेका छन् ‘यस ऐतिहासिक अवसरमा, सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।’ लामिछानेले जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाएका अर्जुननरसिंह केसीलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।