काठमाडौ, २२ चैत ।
प्रतिनिधिसभाको आज बस्ने बैठकले प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस भन्ने प्रस्ताव अनुमोदन गर्ने छ । सभामुख पदका लागि उनको मात्र उमेदवारी परेकोले रास्पपा उपसभापति अर्याल प्रतिनिधिसभामा सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।
लगभग दुईतिहाई बहुमत भएको रास्वपाको उमेदवारी विरुद्ध अन्य दलले उमेदवारी दिन चाहेनन् । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ ।
आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
शुक्रबार उमेदवारी दिने अन्तिम समयसम्म अर्यालले मात्र उमेदवारी दर्ता गराएपछि उनी स्वत: सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभाको बैंठकले औपचारिकता प्रदान गर्ने छ ।
अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल थिए ।

आजको बैठकको प्रारम्भ जेष्ठ सदस्य अर्जुनर्सिङ केसीले गर्नेछन् । उनले ‘सभामुख पदमा निर्वाचित गरियोस्’भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ । प्रस्तावलाई प्रतिनिधिसभाले अनुमोदन गरेपछि डोलप्रसाद विधिवत सभामुखमा चयन हुनेछन् । त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः १५ बजे सिंहदरबारमा बस्दैछ।
बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ।त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुनेछ ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।