काठमाडौँ ।

अमेरिकाको नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)को आर्टेमिस-२ चन्द्र अभियानअन्तर्गत ओरायन अन्तरीक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । नासाका अनुसार अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण भएको छ र यानमा रहेका अन्तरिक्षयात्रीहरू अहिले उडानमा रहेका छन् । यो नासाको ५० वर्षभन्दा बढी समयपछि मानवसहितको चन्द्र अभियान हो ।

नासाको एसएलएस (स्पेस लन्च सिस्टम) रकेटले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको लन्च प्याड ३९बी बाट अमेरिकी समयअनुसार बुधवार साँझ ६:३५ बजे (इस्टर्न डेलाइट टाइम) उडान भरेको हो । नासाले ओरायन अन्तरिक्षयानमा सवार ४ जना अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको वरिपरि परिक्रमा गरेर फर्किने परीक्षण उडानमा पठाएको छ ।

“आजको प्रक्षेपण हाम्रो राष्ट्र र अन्वेषणमा विश्वास गर्ने सबैका लागि ऐतिहासिक क्षण हो । आर्टेमिस-२ ले ५० वर्षभन्दा बढी समयपछि मानवलाई फेरि चन्द्रमामा फर्काउने लक्ष्य अघि बढाउँदै चन्द्र अन्वेषणको नयाँ अध्याय शुरु गरेको छ,” नासा प्रमुख जारेड इसाकम्यानले भने‚ “यो केवल एउटा मिशनमात्र होइन, अझ ठूलो यात्राको शुरुआत हो— चन्द्रमामा बसोबास गर्ने लक्ष्यतर्फको कदम ।”

यो मिशन करीब १० दिन लामो हुनेछ । यो अन्तरीक्ष यात्रामा नासाका अन्तरिक्षयात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडियन स्पेस एजेन्सीका जेरेमी ह्यान्सन सहभागी रहेका छन् । यो नासाको आर्टेमिस चन्द्र अभियानअन्तर्गत पहिलो मानवसहितको मिशन हो, जसको उद्देश्य जीवन-रक्षा प्रणालीको परीक्षण गर्नुका साथै भविष्यमा मंगल ग्रहसम्मका अन्तरीक्ष यात्राका लागि आधार तयार गर्नु रहेको छ।

अन्तरिक्षमा पुगेपछि, ओरायन यानले आफ्नो सौर्य प्यानलहरू फैलायो र सूर्यबाट ऊर्जा प्राप्त गर्न यानलाई सक्षम बनायो । त्यसपछि अन्तरीक्ष यात्रुहरूको टोलीले अन्तरिक्षयानका प्रमुख प्रणालीहरूको परीक्षण शुरु गर्‍यो ।