संविधानमा सभामुख र उपसभामुख फरक राजनीतिक दल र लिङ्गको हुने व्यवस्था छ । यो संवैधानिक व्यवस्थाको सम्बोधन गर्न रास्वपा कति लचिलो हुने हो ? टुंगो लागिसकेको छैन ।

काठमाडौं,१९ चैत ।
प्रतिनिधिसभाबाट निर्वाचित २ सय ७५ सांसदहरुले आजदेखी औपचारिकरुपमा आफ्नो कार्यभार सम्हाल्दै छन् । प्रतिनिधिसभा, राष्ट्रियसभाको बैंठक बिहिबार २ बजे राखिएको छ । दुबै बैंठक एकै पटक प्रारम्भ हुनेछन्, फरक फरक स्थानमा ।
संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैंठक निर्माणाधीन बहुउदेश्य भवनमा हुनेछ भने राष्ट्रियसभाको बैंठक संंसद सचिवालयको सभा कक्षमा बस्दैछ । राष्ट्रियसभाका ९ जना नयाँ सांसदहरुको कार्यभार पनि आजदेखी सुरु हुँदैछ ।
आजको बैंठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदलाई पठाएको पत्र पढेर सुनाइने छ । प्रतिनिधिसभको बैंठक जेष्ठ सदस्य अजुननर्सिङ केसीको अध्यक्षमतामा बस्ने छ । उनले सभामुखको आसनबाट राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउने छन् । यसबाहेक राष्ट्रपति कार्यालयबाट भएका कामहरु संसदलाई जानकारी गराइने छ । मन्त्रीपरिषद गठन, मन्त्रीपरिषदलाई कार्यभार तोकिएको कुराहरुको राष्ट्रपति कार्यालयले पत्र मार्फत संसदलाई जानकारी गराउने प्रचलन छ । त्यस्तै, संसद अधिवेशन नभएको समयमा सरकारको सिफारिसमा जारी भएका अध्यादेशहरु पनि पहिलो बैंठकमै पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ । सो अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश र मतदाता नामावली (पहिलो संशोधन)अध्यादेश प्रतिनिधि सभामा पेस हुने छन् ।

सभामुख केसीले बुधबार संसदमा रहेका दलहरुको सर्वदलिय बैंठक आयोजना गरेका छन् र बैंठकले केही राजनीतिक सहमति पनि गरिसकेको छ । सहमति अनुसार पहिलो दिननै प्रतिनिधिसभाको सभामुख, उपसभामुखको चयनको प्रक्रिया सुरु हुने छ । नयाँ प्रतिनिधिसभा संचालन नियमावली बनिनसकेकोले पुरानै नियमावली अनुसार अघि बढ्ने सहमति भएको छ । पहिलो बैंठकमा पार्टीमा प्रमुखहरुले सभालाई सम्बोधन गर्ने परम्परा पनि छ ।

परम्परा अनुसार रास्वपाका अध्यक्ष रवि लामिछानेले सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै एमाले संसदीय दलका नेता रामबहादुर थापा(बादल), नेकपा संयोजक पुष्पकमल दाहालले सम्बोधन गर्ने संभावना छ । त्यस्तै श्रम संस्कृति पार्टीका हर्क साम्पाङ्गले संम्बोधन गर्ने लगभग तय छ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरिसकेको छैन । यस अर्थमा पार्टी नेतृत्वले कसले सम्बोधन गर्ने तोक्ने संभावना छ ।

संसदीय अभ्यास सभामुख प्रतिपक्षी दललाई दिने प्रचलनहरु छन् । संसदमा प्रतिपक्षीको बढी भूमिका अपेक्षा गरिन्छ संसदीय राजनीतिमा ।

सभामुख चयन चैत २२ मा

आजको बैंठकमा सभामुख, उपसभामुख चयनको प्रक्रिया प्रारम्भ हुने सहमति बनेको छ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।राजनीतिक सहमति अनुसार चैत २० गते सभामुखका लागि मनोनयन दर्ता हुने छ।
सभामुखमा रास्वपाले उपाध्यक्ष कवीन्द्र बुर्लाकोटीको नाम अगाडि ल्याएको छ । संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य निर्वाचित हुनुपर्ने र फरक राजनीतिक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय अभ्यास सभामुख प्रतिपक्षी दललाई दिने प्रचलनहरु छन् । संसदमा प्रतिपक्षीको बढी भूमिका अपेक्षा गरिन्छ संसदीय राजनीतिमा । उपसभामुख कुन राजनीतिक दलबाट हुने ? टुंगो छैन ।

रास्वपाबाट अर्याल सभामुख निर्वाचित भएमा अन्य दलबाट महिला सदस्य उपसभामुख निर्वाचित हुनुपर्ने हुन्छ । तर उपसभामुखमा कुन दलले उम्मेदवारी दिने राजनीतिक सहमति भइसकेको छैन। रास्वपाले कुन दललाई प्राथमिकता दिने हो ? वा, अफ्नै दलका लागि सुरक्षित गर्ने हो ? संविधानमा प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएमा वा कुनै पनि दलले उमेदवारी नदिएमा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन संवैधानिक वाधा नपर्ने व्यवस्था छ ।
आजको बैंठकमा शोक प्रस्तावहरु पारित गर्ने कार्यसूचि छ । बैठकको अन्त्यमा संविधान सभा सदस्य तथा राष्ट्रिय सभाका सदस्यको निधनमा शोक प्रस्ताव पारित हुने छन् ।यसबीच संविधान सभा सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्यायको निधन भएको छ । त्यस्तै संविधान सभा सदस्य एवं राष्ट्रिय सभा सदस्य बलदेव बोहरा र पूर्वसांसद होमनाथ दाहालको निधनमा भएको छ । उनीहरुको नाममा शोक प्रस्ताव पारित गर्ने कार्यसूची  बैंठकमा राखिएको छ ।

तस्बिर : फाइल फोटो, गोरखापत्रबाट साभार ।