प्रधानमन्त्री बालेनलाई बधाईसँगैका कूटनीतिक भाषा
भारत नजिक रहेर काम गर्न तत्पर, चिन बिआरबि अधि बढाउन इच्छुक , अमेरिका क्षेत्रिय स्थिरताकालागि सहकार्य गर्न उत्सुक
समाचार टिप्पणी
सङ्लोन्यूज, १५ चैत ।
बालेन्द्र शाह प्रधानमन्त्री बनेर कार्यभार सम्हाले पछि उनलाई बधाई दिनेहरुको ओइरो लागेको छ, जुन स्वभाविक हो । नेपालको पछिल्लो राजनीतिक इतिहासमा तुईतिहाई नजिकको बहुमतकासाथ प्रधानमन्त्री बनेका ३६ वर्षिय बालेनको आकर्षण छ । पहिलोपटक सिंहदरबारको शासनमा आसन गर्न पुगेको रास्वपा र बालेन दुबै परीक्षामा पनि छन् । जनताले दिएको बहुमत सम्हाल्दै अगाडि बढ्ने हुन् वा होइनन् ? प्रश्नहरु छन्, पर्ख र हेर भन्दा अरु विकल्प छैन यतिखेर ।
मुलुककको राजनीतिमा सपथ लिएकै दिनदेखी प्रतिपक्षी प्रति प्रतिशोध साधिएको आरोप लागेको छ । राजनीतिक दलहरुसँगको प्रारम्भिक घटनाक्रमहरुले दुरी बढ्ने संकेत दैखिदैंछन् ।संसदीय संख्याका आधारमा कमजोर मानिएको प्रतिपक्ष र प्रचण्ड बहुमत सहितको सत्ताबीचका के कस्तो सम्बन्ध हुने हो ? त्यो पनि समयक्रममा खुल्दै जाने छ ।
मुलुकको राजनीतिक आरोह अवरोह सतहमा छर्लङ्ग छ । पंचायत, प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रसम्मको ३५ को राजनीतिकयात्राका पात्र, प्रवृतिहरु नेपालीजनमा लुकेको छैन्, सबै सतहमा छन्, को कस्ता ? तर, सत्ता राजनीतिको अर्को पाटो छ, कूटनीति । नेपाल दुई ठूला छिमेकी भारत र चिनबीचको स्ट्राटेजिक भूखण्ड हो । क्षेत्रिय आर्थिक, सामाजिक राजनीतिक, सामरीक, कूटनीतिक सबै हिसावले नेपालमा धेरै खाले अभ्यास हुने गरेको चर्चा गरिन्छ ।
नेपालको भारतसँग, सामाजिक, सास्कृतिक, भौगोलिक र आर्थिक निकटता छ । त्यस्तै चिनसँगको भौगोलिक, व्यापारिक सम्बन्ध र संभावना छन् । नेपालको राजनीतिमा यी दुबैको गहिरो चासो देखिन्छ, विगतदेखी । उनीहरुका आआफ्ना चाहना हुनसक्छन् । विश्व राजनीतिमा प्रभाव पार्ने टाढाको अमेरीका पनि नेपालको भूखण्डको राजनीतिक घटना र भौतिक, आर्थिक , राजनीतिक विकासका विषयबाट टाढा देखिदैंन ।
प्रधानमन्त्री बनेपछि उनलाई बधाई दिनेहरु मध्ये धेरैलाई उत्तर पनि फर्काइसकेका छन् बालेनले । धेरै देशमा अलमल नगरौं । भारत, चिन र अमेरिकाले बालेनलाई बधाई दिदाँ प्रयोग गरेका भाव र भाषालाई हेरौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ‘नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वमा देखाएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई जनताको पारस्परिक हितको लागि भारत(नेपाल मित्रता र सहयोगलाई अझ उच्च उचाइमा पुर्याउन तपाईंसँग नजिकबाट काम गर्न म तत्पर छु।’
औपचारिक वक्तव्यले धेरै कुरा बोल्दैनन् । नजिकबाट काम गर्न तत्परको भावनाका पछाडि के कस्ता कूटनीतिक आग्रह, अपेक्षा छन् त्यो बुझ्न सकिन्न ।
अर्को छिमेकी चिनले अलिक लामो शुभकामना वक्तव्य दिएको छ ।र, त्यहाँ आफू के केमा केन्द्रीत हुन चाहेको त्यो प्रकट गरेको छ ।
चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार पठाएको सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको उल्लेख गरेका छन् । सन्देशमा लीले नेपालका प्रधानमन्त्री शाहसँग मिलेर ‘बेल्ट एन्ड रोड इनिसिएटभ्’ लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताएका छन् ।
नजिकका छिमेकी पछि टाढाको अमेरिकाले के भनेको छ ? त्यो हेरौं, नेपाल स्थित अमेरिकी दूतावासले बधाई दिएको छ । शुक्रबार अमेरिकी दूताबासले सामाजिक संजालमा जारी गरेको वक्तव्यमा भनिएको छ‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई, अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ ।’
औपचारिकरुपमा आएका बधाईहरु आफ्ना ठाउँमा छन् । बधाईमा चाहना र आग्रह मिश्रित हुनुले दिने सन्देश भने फरक हुन्छ । बालेन्द्र शाह सरकार राजनीतिक, कूटनीतिक मामलामा कुनरुपमा अगाडि बढ्ने हो ? कूटनीतिक वृतबाट आएर र आउँनसक्ने फरकफरक चाहनालाई कसरी सम्बोधन गर्ने हो ? परीक्षामा छन्, रास्वपा, बालेन दुबै । राष्ट्रिय राजनीतिमा राजनीतिक दलहरुबीच प्रतिशोध, प्रतिस्पर्धा, समन्वय, सहकार्य जति सहज हुन्छ, त्यस्तो सुविधा कूटनीतिमा हुँदैन । कुटनीतिमा गहिरो अध्ययन, संयम ,सन्अतुलन अनि कूटनीतिलाई मुलुकको हितमा प्रयोग गर्नसक्ने वौद्धिक क्षमता, चातुर्यता पनि उत्तिकै आवश्यक हुन्छ ।
