सङ्लोन्यूज
काठमाडौं १२ चैत ।
प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित पराजय भोगेको, पार्र्टी सभापति गगनकुमार थापाको राजीनामा र पार्टीका पूर्व सभापतिका गृटले चालेका कदमहरुलाई सम्बोधन गर्दे कांग्रेस १५ औं महाधिवेशनमा होमिएको छ ।
सभापति थापाले दिएको राजीनामा अस्वीकार गर्दे थापाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णयमा पुगेको कांग्रेसले चैत २१ गते देखी प्रारम्भ गरेर अशोज १६—१९ मा काठमाडौंमा १५ औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी सभापति थापाको अध्यक्षतामा बसेको बैंठकले निर्वाचनमा भोग्नु परेको पराजयको समीक्षा गर्दे जाने, प्रतिपक्षीय भूमिका कसरी निर्वाह गर्ने, स्थानीयतह, प्रदेशतहबीचका समन्वय तथा वर्तमान खाडी युद्धका असर र प्रभावबारे आफ्नो घारणा स्प्ष्ट गरेको छ ।

 

कांग्रेसको १५ औं महाधिवेशन तालिका

२०८२ पौष २७ देखि ३० गते भएको नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटनको निर्णय गर्दै, १५ औं महाधिवेशन सम्पन्न नहुन्जेल सम्मका लागि श्री गगन कुमार थापाको सभापतित्वमा केन्द्रीय कार्य समिति गठन गरेको थियो। यस अबस्थामा २०८३ साल मंसिर २३ गते भित्र पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने विशेष केन्द्रीय महाधिवेशनको म्यान्डेट र विशेष महाधिवेशन लगत्तै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको सम्पुर्ण तह एवं निकाय होमिनुपरेको परिस्थितलाई समेत मध्येनजर गरी केन्द्रीय कार्यसमितिको यो बैठकबाट नेपाली कांग्रेस पार्टीको १५औं महाधिवेशन २०८३ साल असोज १६, १७, १८ र १९ गते काठमाण्डौंमा गर्ने निर्णय गर्दछ। साथै, विशेष महाधिवेशनको निर्णय एवं नेपाली कांग्रेसको बिधान २०१७ को धारा ४३ बमोजिम १५औं महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका तह तथा निकायको पदावधि कायम रहनेछ।

यस वैठकमा प्रस्तावित नेपाली कांग्रेस १५औं महाधिवेशनको कार्यतालिका निम्म बमोजिम संसोधन सहित पारित गरिएको छ।

समय तालिका

१ क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान २०८२ चैत्र २१ देखि चैत्र मसान्तसम्म

* केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने।

* सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने।

२०८३ वैशाख १ गते देखि वैशाख मसान्त सम्म

* ६७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने। प्रत्येक व्यक्तिले आफु सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्नेछ।

* सवै वडा र क्षेत्रीय कार्यसमितिलाई ID र Password उपलब्ध गराउने।

* बैशाख महिनाभरी वडामा एक महिने सदस्यता अद्यावधिक अभियान संचालन गर्ने।

२०८३ जेठ १ देखि १५ सम्म,

  १ प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्ने।

२ सदस्यता विवरण केन्द्रमा पठाउने अवधि २०८३ जेठ मसान्त सम्म

* क्षेत्र र जिल्लाले इन्ट्री गरी केन्द्रमा पठाइसक्ने जेठ २५ सम्म

* जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी केन्द्रमा पठाउनु पर्ने जेठ मसान्तसम्म

३ केन्द्रले सदस्यतामा आवश्यक छानवीन गरी टुङ्गाउने अवधि २०८३ असार १५ सम्म

* प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र

* विवाद र समस्या भएका स्थान पहिचान गरी सदस्यता रुजु तथा अध्ययन गर्ने र अन्तिम टुङ्गोमा पुर्‍याउने ।

* सदस्यता व्यबस्थापन केन्द्रीय समितिले सदस्यताको अन्तिम सूची केन्द्रीय कार्यसमितिलाई बुझाउने।

४ अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि २०८३ असार मसान्त सम्म

* केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया सुरु हुनुपूर्व नै निर्वाचन समितिलाई उपलब्ध गराई अधिवेशन प्रक्रिया अगाडि बढाउने।

* निर्वाचन समितिले धारा ३५(२) (च) अनुसार निर्वाचनको विस्तृत क्यालेण्डर बनाउने।

५ नेपाली जनसम्पर्क समिति अधिवेशन २०८३ साउन मसान्त भित्र

* क्रियाशील सदस्यता नामावली केन्द्रमा पठाउने असार मसान्तभित्र

* सवै जनसम्पर्क समितिको क्रियाशील सदस्यता स्वीकृत गर्ने साउन १० भित्र

* अधिवेशन सम्पन्न गर्ने साउन मसान्तभित्र

६ गाउँ-नगर वडा अधिवेशन २०८३  भाद्र २ गते

* ६७४३ वटै वडामा अधिवेशन

* क्षेत्रीय प्रतिनिधि चयन

७ गाउँ-नगरपालिका अधिवेशन २०८३ भाद्र ७  गते

८ प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८३ भाद्र १७ गते

९ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन २०८३ भाद्र २४ गते

* महाधिवेशन प्रतिनिधि चयन

* कार्यसमिति निर्वाचन

१० जिल्ला अधिवेशन २०८३ असोज २ र ३ गते

११ प्रदेश अधिवेशन २०८३ असोज ७ र ८ गते

१२ केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । चैत्र १० र ११ गते बसेको बैठकले देहाय बमोजिमको निर्णयहरु गरेको छ —

समसामयिक विषय

क. हार्दिक कृतज्ञता, वधाई तथा शुभकामना !

२०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमार्फत नेपाली जनताबाट सशक्त रूपमा अभिव्यक्त भएको लोकतान्त्रिक चेतना र यो राजनीतिक प्रणालीप्रतिको प्रतिबद्धतालाई उच्च सम्मान प्रकट गर्दै नेपाली कांग्रेस हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

१. नेपाली कांग्रेस यस निर्वाचनमार्फत प्राप्त जनमत र अवसरका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई हार्दिक बधाई ज्ञापन गर्दछ। साथै नयाँ सरकारले भदौ २३-२४ को नवयुवाको विद्रोहको मर्म, संविधानका मूलभुत मान्यता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, शक्ति सन्तुलन र नियन्त्रण, तहगत सरकारको सहअस्तित्व, समन्वय र सहकार्यको भावनाका साथै सुशासन एवं चुस्त सेवा प्रवाह लगायतका जनआकांक्षा अनुरूप कार्य गर्नेछ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्दछौं।

२. असाधारण र कठिन परिस्थिति, पार्टीभित्र र बाहिरका असहजताका बीचमा पनि नेपाली कांग्रेसको पक्षमा उभिने, मतदान गर्ने र पार्टीप्रतिको आफ्नो अविचलित निष्ठा कायम राख्ने सम्पूर्ण सदस्य, समर्थक, शुभेच्छुक तथा मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

३. यो चुनौतीपूर्ण क्षणमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित पार्टीका साथीहरूलाई हृदयदेखि बधाई दिंदै संसदमा संविधान, प्रचलित कानून, पार्टीको विधान, नीति, निर्देशन र जन अपेक्षा अनुसार प्रमुख प्रतिपक्षको भुमिका प्रभावकारी ढङ्गले निर्वाह गर्नका लागि शूभकामना व्यक्त गर्दछौं।

 

ख. निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटोका सन्दर्भमा

निर्वाचनको परिणाम र अबस्थाको सन्दर्भमा नेपाली कांग्रेसको ‍अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकले प्रारम्भिक समीक्षा गरिसकेको छ। साथै सातवटै प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट १६५ वटै क्षेत्रका उम्मेदवारहरूसंग निर्वाचन समिक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समिक्षा गरिनेछ। यसबाट हामीलाई पार्टीको सांगठनिक रुपान्तरणमा सहयोग पुग्नेछ।

 

यद्यपी नेपाली कांग्रेस यस निर्वाचनमार्फत आम मतदाताले पुराना दलहरूप्रति देखाएको संशय, नयाँ दलहरूबाट गरेको परिवर्तनको अपेक्षा, राष्ट्र्रिय अन्तराष्ट्रिय राजनीतिक परिवेश, मतदाताको मनोविज्ञान, नेपालको जनसांख्यिक परिस्थिति, सामाजिक परिवेश, वसाइसराईमा आएको परिवर्तन, नेपाल बाहिर रहेका नेपालीहरूको चाहना, निर्वाचन अभियान र प्रचार प्रसारका नयाँ प्रयोग र विगतका निर्वाचन सहितको तथ्यगत विष्लेषण र पार्टीको आन्तरिक एवं बाह्य अबस्था सवै पक्षको गहिरो अध्ययन गरी अबको बाटो तय गर्नुपर्दछ भन्ने ठान्दछ।

अत: नेपाली कांग्रेसको यो बैठक माथि उल्लेखित सवै पक्षको अध्ययन, तथ्यगत विष्लेषणका साथै युवा र अग्रज लगायत सवै पुस्ता, देशभित्र र देश बाहिर रहेका नागरिक एवं समुदायसंग, पार्टीका शुभेच्छुक तथा सदस्य र नागरिक समाज, विज्ञ, अनुसन्धानकर्ता एवं अन्य सरोकारवालासंग समेत संवाद र अन्तरक्रिया गरी नेपाली कांग्रेसले लिनुपर्ने अबको बाटोका सन्दर्भमा विस्तृत अध्ययन र परामर्श गर्नको लागि पार्टी सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ।

ग. मध्यपूर्व संकट र नेपालले सामना गर्ने चुनौतीमा साझा पहलकदमी र अग्रसरता

यतिवेला मध्यपूर्वमा बढ्दो संकट र त्यसबाट उत्पन्न गम्भीर अबस्था ठुलो चुनौती बन्दै गएको छ। संकट लम्विदै गर्दा यसका कारण जनताको भान्सा, व्यवसाय, रोजगारी र अर्थतन्त्रमा समेत असर देखिन थालेको छ। तेल, ग्यास लगायत अत्यावश्यक सामाग्रीको अभाव तथा ढुवानी महँगो हुने, कृषि क्षेत्रमा उत्पादन लागत बढ्ने, पर्यटन क्षेत्रमा हवाई तथा यातायातमा समस्या, आम नागरिक, व्यवसाय र निजी क्षेत्र, सेवा क्षेत्र लगायत नेपालको आन्तरिक एवं बाह्य क्षेत्रमा बहुआयामिक संकट आउने तर्फ समयमै सचेत हुनुपर्नेछ। अर्कोतर्फ मध्यपूर्वमा काम गर्ने लाखौँ नेपाली श्रमिकको सुरक्षा, व्यबस्थापन, रेमिट्यान्स र रोजगारीमा आउने समस्यामा समेत नेपालले ध्यान पुर्‍याउनु पर्दछ।

 

मध्यपूर्वको संकटका कारण प्रत्यक्ष समस्यामा परेका मध्यपूर्वमा रहेका लाखौं नेपाली र तिनका परिवारको सुरक्षा र व्यबस्थापन हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। मध्यपूर्व संकटका कारण नेपालमा जनताको भान्सादेखि व्यवसायसम्म परेको असरलाई न्युन गर्न आवश्यक उपाय खोज्नु राज्यको दायीत्व हो । अत्यावश्यक वस्तुमा अभाव हुन नदिन विशेष ध्यान दिनुपर्नेछ। तर, यो कुनै एक तहको सरकार वा निकायको मात्र जिम्मेवारी होइन। संघ, प्रदेश, स्थानीय तह, निजी क्षेत्र, राजनीतिक दल, स्थानीय समुदाय, कुटनीतिक निकाय, गैरआवासीय नेपाली संघ संस्था र समुदाय लगायतको पहलकदमी र सहकार्यबाट यस्तो हल खोज्नुपर्दछ, यसबाट पर्ने असरलाई न्युन गर्नुपर्दछ भन्नेमा हामी प्रष्ट छौं।

 

नेपाली कांग्रेस मध्यपूर्व संकटबाट नेपालमा पर्ने प्रभावलाई न्युन गर्न, यसको सामना गर्न र समाधान खोज्न, सरकारले गर्ने हरेक प्रयासमा सहकार्य गर्न तथा सवै पक्ष एकै ठाउँमा बसेर एकीकृत र साझा पहलकदमीका लागि हरदम तयार छ ।

 

सुशासनका सम्बन्धमा सुझाव, साथ र सक्रियता

नेपाली कांग्रेस पार्टी सबै किसिमका भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिँदै भ्रष्टाचार गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानून अनुसार दण्डित हुनैपर्छ भन्ने मान्यतामा अडिग छ । अख्तियारको दुरुपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतमा भएका अन्य मुद्दाहरू र नीतिगत भ्रष्टाचारको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारबाही गर्न, संस्थागत सबलीकरण र सुशासन कायम गर्न कानूनी तथा नीतिगत सुधारका निम्ति हाम्रो दृढतापूर्वक अग्रसरता र नयाँ सरकारले अगाडि बढाउने हरेक सही कदममा हाम्रो पूर्ण साथ रहनेछ।

नेपाली कांग्रेसको यो बैठक अब बन्ने सरकारसँग सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा तत्कालका लागि निम्न विषय कार्यान्वयन गर्न सुझावसहित स्मरण गराउन चाहन्छ:

१. सम्पत्ति छानविन उच्चस्तरीय आयोग गठन: २०४८ सालदेखि राज्यका सार्वजनिक पदमा उच्च तहमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न अबिलम्ब उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न तथा कानूनसम्मत अनुसन्धान गरी अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न यो बैठक आग्रह गर्दछ।

२. भ्रष्टाचारसंग जोडिएका सवै काण्ड र अबैध सम्पत्तिको अनुसन्धान: वि.सं. २०४६ सालपछि २०८२ सम्मको अवधिमा शासकीय अधिकारको दुरुपयोग, भ्रष्टाचारसंग जोडिएका विभिन्न काण्डहरूका बारेमा सार्वजनिक रूपमा, दलहरूभित्र र बाहिर प्रश्न उठ्ने गरेका छन्। यसरी प्रश्न उठेका भ्रष्टाचारसंग जोडिएका सम्पूर्ण प्रकरण लगायत भाद्र २३ र २४ को नवयुवा विद्रोहका क्रममा विभिन्न दलका नेताका घरमा आगजनीमा रकम जलेको विषय लगायतका जति पनि विषय उठेका छन तिनको पूर्वाग्रहरहित ढङ्गबाट निष्पक्ष र कानूनसम्मत अनुसन्धान गरेर बास्तविकता बाहिर ल्याउन माग गर्दछ।

संविधान संशोधन विज्ञसहितको समिति गठन

संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि नेपाली कांग्रेसको नेतृत्वमा ऐतिहासिक संविधानसभामार्फत बनेको संघीय लोतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको हो। संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले नागरिकको भावनाअनुसार समयानुकूल संशोधन र अद्यावधिक हुँदै जानु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो। संविधानका आधारभूत मूल्य-मान्यता, संघीय शासन प्रणाली, नागरिक अधिकार र स्वतन्त्रता तथा समानुपातिक समावेशी सिद्धान्तलाई संकुचित हुन नदिई, त्यसलाई अझै फराकिलो र विस्तारित बनाउँदै नेपाली जनताको अपनत्व र स्वामित्व थप वृद्धि गर्न तथा सुशासन र प्रभावकारी सेवा प्रवाहको लागि कतिपय विषयमा संविधान संशोधन र तद अनुकुल कानून निर्माण गर्नु आवश्यक छ भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ।

अत: संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय-सुझाव दिनका लागि पार्टी उपसभापति श्री पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय यो बैठक गर्दछ।

यस समितिले सबै प्रदेश, सबै क्षेत्र र तह, समुदायसँग संवाद गरी पार्टीको तर्फबाट धारणा बनाउनेछ र त्यस अनुरूप पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य पक्ष, नागरिक समाज, विशेषज्ञहरू, राजनीतिक दलहरू सहित राष्ट्रिय संवादको पहलकदमी लिनेछ।

प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता सम्बन्धमा

नेपाली कांग्रेसको यो बैठक प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भुमिकाको समिक्षा, समन्वय र थप प्रभावकारीताका लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति श्री विश्वप्रकाश शर्मालाई प्रदान गर्ने निर्णय गर्दछ। साथै, प्रदेश सरकारमा निरन्तर रहने वा नरहने या विगतका सहमति कार्यान्वयनका सम्बन्धमा केकस्तो दृष्टिकोण निर्माण गर्ने समेत प्रदेश सरकार संरचना र सुशासन लगायतका लागि प्रदेश सभापति सहितको सहभागितामा आवश्यक अध्ययन, परामर्श र प्रस्ताव समेत उहाँकै संयोजकत्वको एक अलग समिति निर्माण गरेर टुङ्गोमा पुग्ने निर्णय यो वैठक गर्दछ।

 

पार्टी सदस्यता अभिलेख अद्यावधिक सम्बन्धी विशेष व्यवस्था र अभियान

पार्टीको विद्यमान क्रियाशील सदस्यता वितरण, व्यवस्थापन र अभिलेखिकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन हालसम्मका पार्टीमा आबद्ध सम्पुर्ण क्रियाशील सदस्यता अभिलेखमा राखी एक पटकका लागि नेपाली कांग्रेसको विधान २०१७(एघारौं संशोधन) बमोजिम सम्पूर्ण सदस्यलाई पुनः क्रियाशील सदस्यता फाराम भर्न लगाई सदस्यता अद्यावधिक गर्ने निर्णय यो बैठक गर्दछ।

त्यसका लागि २०८३ वैशाख महिनाभरी ६७४३ वटै वडामा एक महिने सदस्यता अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गर्दछ। १६५ वटै क्षेत्रमा केन्द्रबाट प्रतिनिधि खटाइनेछ। यसरी सदस्यता अद्यावधिक भएका सदस्यका लागि पार्टीले नयाँ नं. सहित कांग्रेस परिचयपत्र (Congress ID) प्रदान गर्नेछ र कांग्रेस परिचयपत्र प्राप्त व्यक्तिको मात्र सदस्यता कायम हुने र अधिवेशन प्रक्रियामा सहभागि हुनेछ।

 

केन्द्रीय निर्वाचन समिति गठन

२०८२ पौष २७ देखि ३० गते विशेष केन्द्रीय महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिलाई धन्यवाद दिदै नेपाली कांग्रेसको विधान २०१७(संशोधन सहितको) धारा ३५(१) बमोजिम अब १५ औं महाधिवेशनमा पार्टीका सवै तह र निकायका पदाधिकारी एवं सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गर्दछ।

साथै केन्द्रीय सभापातिले केन्द्रीय निर्वाचका लागि नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष वरिष्ठ अधिबक्ता श्री प्रेम बहादुर खडकालाई संयोजकको रुपमा प्रस्ताव गर्नु भएकोमा उहाँको नाम केन्द्रीय निर्वाचन समितिको संयोजकको रुपमा अनुमोदन गर्ने निर्णय गर्दछ। त्यसैगरी केन्द्रीय निर्वाचन समितिमा रहने चार जना सदस्यको नाम चयन गरी नियूक्ति गर्ने अधिकार पार्टीका केन्द्रीय सभापति श्री गगन कुमार थापालाई दिने निर्णय समेत गर्दछ।

 

कांग्रेस लिडरसिप एकेडेमीको स्थापना

पार्टीले आन्तरिक र सार्वजनिक नेतृत्व विकासका लागि निश्चित पाठ्यक्रम तयार गरी कक्षा सञ्चालन लगायत देहायका काम गर्न पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत “कांग्रेस लिडरसिप एकेडेमी”  गठन गरिनेछ। जसले:

* पार्टीको सदस्यता लिएपछि नेपाली कांग्रेसको सदस्य, कांग्रेसको इतिहास, आदर्श, विचार, ध्येय लगायत पार्टीको आर्थिक नीति, विकास नीति, सामाजिक नीतिका विषयमा पार्टी सदस्यलाई प्रशिक्षित गर्नेछ।

* पार्टीमा क्रियाशील रहेका र नवीकरण हुने सदस्यलाई पार्टीको नीति, कार्यक्रम र प्राथमिकता र अद्यावधिक नीतिगत विषयबारे पुनर्ताजगी तालिम प्रदान गर्नेछ।

* पार्टीको तर्फबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिलाई अनुशिक्षण गर्नेछ।

* पाठ्यक्रम तयार गरी पार्टीको तर्फबाट जनप्रतिनिधि बन्ने आकांक्षा राख्ने वा स्थानीय, प्रदेश र संघीय सरकारमा कार्यकारी भूमिकामा जिम्मेवारी लिन चाहने व्यक्तिहरूलाई उक्त जिम्मेवारीसँग जोडिएको आधारभूत तथा विषयगत ज्ञान, सीप र नेतृत्व विकासका लागि कक्षा सञ्चालन गर्नेछ। सार्वजनिक जिम्मेवारीमा जान चाहने व्यक्तिले निर्वाचन भन्दा तीन महिना अगाडि पब्लिक पोलिसी कक्षा अनिवार्य लिनुपर्ने छ।कांग्रेस लिडरसिप एकेडेमीमार्फत निश्चित कक्षा पूरा गरे नगरेको आधारलाई पार्टीको उम्मेदवारी छनोट र जिम्मेवारीसँग जोडिनेछ।

 

भ्रातृ संघ सम्बन्धमा

महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वत: पदावधि समाप्त हुने भनि अन्तिम समयसीमा दिइएकोमा अन्तिम पटक पुन: मिति २०८२ असार १६ देखि २३ गतेसम्म तत्कालीन सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो अबधिभित्र कार्यतालिका प्रस्तुत गरेका संघहरुको हकमा कार्यतालिकामा तोकिएको समयसम्म महाधिवेशन गर्नेगरी समयावधि थप गर्ने निर्णय गरेको थियो। सो अनुसार सहजिकरण गर्न पार्टीले निश्चित कार्यादेश सहित निर्देशक समिति बनाउँदा समेत अधिकांश भ्रातृ संघलले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेको अबस्था रहेकोले सो सम्बन्धमा सवै भ्रातृ संघको अबस्था र गतिविधिको अध्ययन गरी निर्णयको प्रस्ताव सहित प्रतिवेदन दश दिन भित्र पेश गर्न महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ।

सांसद अभिमुखिकरण सम्बन्धमा

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसबाट निर्वाचित हुने सदस्यहरू र राष्ट्रियसभामा निर्वाचित नयाँ सदस्यहरूलाई यही चैत्र १४ गते नेपाली कांग्रेसको तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाका बारेमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय गर्दछ।

 

नेपाली जनसम्पर्क समिति सम्बन्धमा

नेपाली जनसम्पर्क समितिहरूको विधानको एकरुपता र अधिवेशनको सुनिश्चितताका लागि विभिन्न देशको जनसम्पर्क समितिको सदस्यता, अधिवेशन, विधान र गतिविधि लगायतको अध्ययन गरी दश दिनभित्र सुझाव पेश गर्न सहमहामन्त्री उदय शमशेर राणाको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गर्दछ।

 

केन्द्रीय लेखा समिति गठन

नेपाली कांग्रेसको विधान २०१७ को धारा ३८ उपधारा (१) बमोजिम सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समतिको संयोजकको लागि केन्द्रीय सदस्य श्री भरतकुमार शाहलाई प्रस्ताव गर्नुभएकोले उहाँको नाम केन्द्रीय लेखा समितिको संयोजकको रुपमा अनुमोदन गर्ने निर्णय गर्दछ।

त्यसैगरी केन्द्रीय लेखा समितिमा विषय विज्ञाको आधारमा रहने चार जना सदस्यको नाम चयन गरी नियूक्ति गर्ने अधिकार पार्टीका केन्द्रीय सभापति श्री गगन कुमार थापालाई दिने निर्णय समेत गरियो।

ईनिशा वि.क. माथि भएको सामुहिक बलात्कार र जघन्य हत्या सम्बन्धमा

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नं. ६ की १६ बर्षीया बालिका ईनिशा वि.क. माथि भएको सामुहिक बलात्कार र जघन्य हत्या जस्तो अत्यन्तै अमानवीय तथा निन्दनीय घटनाले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ। यस दु:खद घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै यो बैठक मृतक बालिकाप्रति भावपूर्ण श्रद्धञ्जली अर्पण गर्दछ। साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस अपुरणीय क्षतिको घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।

विगतमा पनि यस्ता अपराधिक घटनामा छानबिन, अनुसन्धान तथा कानूनी कारवाही प्रभावकारी रुपले अगाडि नबढ्दा महिला तथा बालबालिकामाथि हुने जघन्य अपराधहरू दोहोरिंदै आएका छन। त्यसैले उक्त घटनाको यथाशीघ्र निष्पक्ष, पारदर्शी र प्रभावकारी छानविन गरी दोषीहरूलाई कुनै पनि हालतमा उम्किन नदिई कडाभन्दा कडा कानूनी कारवाही गर्न जोडदार माग गर्दछौं। साथै पिडित परिवारलाई उचित न्याय तथा सुरक्षा प्रदान गर्न सरकार र सम्बन्धित निकायलाई हामी गम्भिरतापूर्वक ध्यानाकर्षण गराउछौं।

 

नियमावली परिमार्जन र निर्देशिका तर्जुमा

विशेष केन्द्रीय महाधिवेशनबाट नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संशोधन) समेतको अध्ययन गरी नियमावली परिमार्जन तथा निर्देशिका निर्माण गर्नका लागि सह महामन्त्री श्री योगेन्द्र चौधरीको संयोजकत्वमा नियमावली परिमार्जन तथा निर्देशिका तर्जुमा समिति बनाउने।

 

नेपाली कांग्रेस केन्द्रीय कार्यालय कर्मचारी विनियमावली, २०७९ र नेपाली कांग्रेस केन्द्रीय कार्य संचालन निर्देशिका, २०७९ संसोधन प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गर्दछ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको विधान २०६३ को दोस्रो संशोधन २०८२ स्वीकृत गर्ने निर्णय गर्दछ।

बैठकमा धारणा व्यक्त

आजको बैठकमा महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्री फरमूल्लाह मंसुर, केन्द्रीय सदस्यहरु— ओमकारप्रसाद श्रेष्ठ, अर्जुनप्रसाद जोशी, चिनकाजी श्रेष्ठ, अमृत अर्याल, विनोदकुमार चौधरी, नानु बास्तोला, दिलकुमारी राई, हिमालय कर्माचार्य, सुवासकुमार पोखरेल, कमलप्रसाद भुसाल, कृष्णबहादुर के.सी., भरतबहादुर खड्का, प्रकाश पन्थ, देवप्रसाद तिमिल्सिना, नगेन्द्र कुमाल, मनकुमारी गुरुङ, नवोदिता चौधरी, प्रदीप शर्मा, सुरेशकुमार योङ्ग्या, जगतप्रसाद जोशी, तिलक रानाभाट, डा. केदारनरसिंह के.सी., प्रमोदहरि गुरागाई, गीता सत्याल, विष्णुदेवी पाण्डे, हिमबहादुर रावल, गंगा सुनार, धर्मबहादुर दर्जी (नेपाली), डा. अमिता प्रधान, भीम श्रीस, उमा शिवाकोटी, बाला अधिकारी, सम्झना खत्री, विजयबहादुर स्वार, विश्वनाथ रिजाल, अञ्जु झा, राधेश्याम पाठक, नरेन्द्रप्रसाद भट्ट, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समितिका संयोजक उमेश श्रेष्ठले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।