नेपालमा एक प्रकारको आयामिक परिवर्तन (प्याराडाइम सिफ्ट) भएको छ, जसले समृद्धिको फराकिलो बाटो खोल्नेछ भन्ने मेरो विश्वास छ । नयाँ शक्तिहरूको उदयलाई खतरा नभै हामीले नै रोपेको लोकतन्त्रको बिरुवा फक्रिएको रूपमा बुझ्नुपर्ने ।

काठमाडौं, ९चैत ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी केन्द्रीय समिति बैंठकमा पेश गरेको आफ्नो धारणा सार्वजनिक गरेका छन् । मिडियालाई उपलब्ध गराएको दस्तावेजमा पौडेलले १० बुँदमा आफ्ना विषयहरु राख्दै, पार्टीका उपासभापतिले पेश गरेका प्रस्तावहरुको समर्थन गरेका छन् । पौडेलले भनेका छन् ‘हामी यतिबेला इतिहासको यस्तो विशिष्ट मोडमा उभिएका छौँ, जहाँ अंकगणितले हामीलाई दोस्रो देखाए पनि विचार र पद्धतिको लडाइँमा हामीले एउटा युगीन विजय हासिल गरेका छौँ।’ आफ्नो १० बुँदे दृष्टिकोण राखेका महामन्त्री पौडेलले मुलुक निर्माणको महाअभियान र लोकतन्त्रको रक्षाका लागि थप जिम्मेवार र सचेत भएर उभिनु पर्ने घडी आएको उल्लेख गरेका छन् ।
पार्टी सभापति गगनकुमार थापाको राजीनामा प्रसङ्गमा पौडेलले भनेका छन् ‘राजीनामा अस्वीकृत गरिनु केवल एउटा प्राविधिक निर्णय मात्र होइन, बरु सामूहिक नेतृत्व र एकताप्रतिको हाम्रो साझा प्रतिबद्धता हो। प्रतिकूलताका बीच पनि नयाँ नेतृत्वकै ऊर्जाका कारण पार्टी यो सम्मानजनक अवस्थामा छ, अन्यथा इतिहासको गर्तमा हराउने जोखिम थियो ।’पौडेलले अहिलेको परिणामलाई निराशाको रूपमा नभै संगठन पुनर्गठनको अवसरका रूपमा लिनुपर्ने समेत उल्लेख गरे ।
लोकतन्त्रमा एउटा सामान्य नागरिकले पनि शासन सत्ताको सपना देख्न र जनविश्वास प्राप्त गर्न सक्नु नै नेपाली कांग्रेसको आठ दशक लामो लगानीको प्रतिफल भन्दै महामन्त्री पौडेलले आफ्नो दृष्टिकोणमा नयाँ शक्तिहरूको उदयलाई खतरा नभै हामीले नै रोपेको लोकतन्त्रको बिरुवा फक्रिएको रूपमा बुझ्नुपर्ने उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसले यस निर्वाचनमार्फत नेपालको राजनीतिमा केही नवीन मानकहरू स्थापित गरेको प्रसँग कोट्याउँदै महामन्त्री पौडेलले लिखित दृष्टिकोणमा अप्राकृतिक गठजोडलाई भत्काउँदै मित्रवत प्रतिस्पर्धाको नयाँ उचाइ स्थापित पारेको भनेका छन्, ‘युवा पुस्ताको विद्रोहलाई रचनात्मक ढंगले आत्मसात गर्ने वातावरण हामीले नै तयार पा¥यौँ। केवल सत्ता प्राप्तिका लागि गरिने अप्राकृतिक गठजोड लाई भत्काउँदै स्वच्छ र मित्रवत् प्रतिस्पर्धाको नयाँ उचाइ स्थापित भएको छ।’

प्रतिज्ञापत्रः मुलुक रूपान्तरणको मार्गचित्र : निर्वाचनका क्रममा नेपाली कांग्रेसले जारी गरेको प्रतिज्ञापत्र केवल चुनावी दस्तावेज मात्र नभै मुलुक निर्माणको प्रष्ट मार्गचित्र भन्दै महामन्त्री पौडेलले शासन सञ्चालनका कैयन जटिल र अनुत्तरित प्रश्नहरूको ठोस जवाफ यसले दिएको उल्लेख गरे । ‘यसलाई आधार बनाएर अघि बढ्ने हो भने मुलुकमा युगान्तकारी रूपान्तरण सम्भव छ । यो दस्तावेज कांग्रेसका लागि मात्र नभएर शासन सञ्चालन गर्ने जुनसुकै दलका लागि पनि एउटा मार्गदर्शक दर्शन दस्तावेज बन्न सक्छ,’ उनले भने ।

उदार राजनीतिको अनुमोदन र आयामिक परिवर्तन: नेपाली मतदाताले प्रजातान्त्रिक उदारतालाई रोज्नुलाई यो निर्वाचनको सबैभन्दा सुखद् पक्ष भन्दै महामन्त्री पौडेलले भनेका छन्, ‘हाम्रा कम्युनिष्ट मित्रहरूले विगतमा प्रणाली जोगाउन हामीसँग सहकार्य गरे पनि जनमतले अब मुलुक सामाजिक न्याय, कानुनको शासन र उदार अर्थतन्त्रको कांग्रेसी मार्गु मा हिँड्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ।’ सिट संख्यामा दोश्रो भए पनि आफ्ना नीति र सिद्धान्त विजयी भएको उनले उल्लेख गरेका छन् । ‘नेपालमा एक प्रकारको आयामिक परिवर्तन (प्याराडाइम सिफ्ट) भएको छ, जसले समृद्धिको फराकिलो बाटो खोल्नेछ भन्ने मेरो विश्वास छ,’ उनले भने ।
बाहिरबाट हेर्दा अहिले कांग्रेसको रुख अलि सानो वा पातहरू झरेको जस्तो देखिए पनि यसका जराहरू नेपाली माटोको धेरै गहिराइसम्म फैलिएको उनले उल्लेख गरे ।
‘पराजयका बावजुद कांग्रेसका तमाम समर्थक र शुभेच्छुकहरूमा देखिएको आत्मबल र उत्साहले यो पुष्टि गर्दछ कि कांग्रेस छिट्टै पुनः मुलुकको नेतृत्वमा फर्कनेछ,’ महामन्त्री पौडेलले भने ।
नकारात्मक भाष्य र लोकप्रियतावादको डटेर सामना :यो निर्वाचनमा विचार वा भिजनभन्दा बढी नकारात्मकताको प्रचारले ठाउँ पाएको भन्दै महामन्त्री पौडेलले आफूहरुका असल कामहरूलाई एल्गोरिदम र डिजिटल न्यारेटिभले छोपिदिएको भनी उपसभापति विश्वप्रकाश शर्माले राखेको धारणामा सहमति जनाएका छन्। ‘अब हामीले हाम्रा उपलब्धिलाई प्राज्ञिक र लोकप्रिय दुवै भाषामा जनतासम्म पु¥याउने नयाँ सञ्चार कला विकास गर्नैपर्छ,’ उनले भने,‘हिजोका उपलब्धि बुझाउने र आजका कमजोरी सुधार्ने काम हामी एकसाथ गर्नेछौँ ।’

बहुआयामिक परिवर्तन र कांग्रेसको नवीन भूमिका : मुलुक एउटा आयामिक परिवर्तनमा प्रवेश गरेको भन्दै महामन्त्री पौडेलले अबको राजनीति केवल आन्दोलनको विरासतले मात्र नचल्ने उल्लेख गरेका छन् । ‘हामीले डेलिभरी र मेरिटोक्रेसी लाई मूल मन्त्र बनाउनुपर्छ। हामी संसद्मा रचनात्मक प्रतिपक्ष साथै जनताका मुद्दामा सडकको वैकल्पिक आवाज बनेर सशक्त रूपमा प्रस्तुत हुनेछौँ,’ उनले भने,‘नयाँ परिवेशमा हामीले आफ्नो भूमिकालाई समयसापेक्ष परिमार्जन गर्दै लैजानु पर्दछ ।’
आन्तरिक शुद्धीकरणसहितको देशव्यापी पुनर्जागरण
पार्टीभित्रका कमजोरीहरूलाई साहसका साथ केलाउने र तिनको निर्मम सम्बोधन गर्दै पार्टीलाई पुनर्जीवन दिनु आजको अनिवार्य आवश्यकता भएको महामन्त्री पौडेलले उल्लेख गरेका छन् ।‘राणा, पञ्चायत, निरंकुश राजतन्त्र र सशस्त्र विद्रोहलाई परास्त गर्दै आएको नेपाली कांग्रेस एउटा निर्वाचनको परिणामबाट किमार्थ विचलित हुने छैन,’ उनले भने,‘हामी कसैसँग पूर्वाग्रह नराखी उच्च मनोबलका साथ पार्टी पुनर्गठन गर्दै देश विकासको महाअभियानमा नयाँ९पुराना सबै शक्तिसँग हातेमालो गर्दै अघि बढ्नेछौँ ।’

पुनरागमनको संकल्प :आफूहरुले हार र जित दुवैलाई परिपक्वताका साथ आत्मसात गरेको भन्दै महामन्त्री पौडेलले यो हारले थप विनम्र र जिम्मेवार बनाएको भन्दै बदलिन तयार रहेको उल्लेख गरे । ‘हामी प्राविधिक रूपमा दोस्रो देखिए पनि वास्तविकतामा यो देशको सबैभन्दा विशाल र भरपर्दो लोकतान्त्रिक शक्ति हौँ। हामी बदलिन तयार छौँ,’ उनले भने, ‘यो बदलावले नै आगामी निर्वाचनमा कांग्रेसलाई पुनः पहिलो शक्तिको रूपमा उभ्याउनेछ।’ हामीले आज गरेको संकल्पको फल देशले छिट्टै प्राप्त गर्नेछ।
अन्त्यमा, सभापतिको राजीनामा अस्वीकृत गर्दै, उपसभापतिज्यूको प्रतिवेदनलाई पार्टीको मार्गदर्शक दस्तावेजका रूपमा ग्रहण गरी आगामी दिनमा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्ने संकल्प गरौँ।

प्रदीपको १० बुँदे 

१.उच्च नैतिक मूल्यको प्रदर्शन र सामूहिक उत्तरदायित्वः

आज पार्टीका सभापति आदरणीय गगनकुमार थापाज्यू यस बैठकमा उपस्थित हुनुहुन्न। उहाँले निर्वाचन परिणामको नैतिक अपनत्व लिँदै उच्च नैतिकताका साथ राजीनामा पेस गर्नुभएको छ। नेपाली कांग्रेसको नैतिक संस्कारलाई पुनर्जीवित गर्न उहाँले गर्नुभएको यो त्यागप्रति म उच्च सम्मान प्रकट गर्दछु। लोकतान्त्रिक पार्टीको नेतृत्वले देखाएको यस्तो नैतिकता र त्याग संस्कार आफैँमा गर्व गर्न लायक छ । यसले पुनः पुष्टि गरेको छ कि देश र पार्टीको हितका अगाडि कांग्रेसका कुनै पनि नेताका लागि पद गौण विषय हो ।
अर्कोतर्फ, उपसभापतिज्यूले सभापतिको राजीनामा स्वीकृत हुनु हुँदैन भन्ने जुन प्रस्ताव राख्नुभएको छ, त्यसले त्याग र निष्ठाको राजनीतिलाई थप पोषित गरेको छ।कांग्रेसमा विद्यमान निष्कपट राजनीति पुन उजागर भएको छ ।राजीनामा दिनु निकास होइन, बरु संकटका बेला संगठनलाई नेतृत्वविहीन बनाउनु हो। त्यसैले, यो राजीनामा अस्वीकृत गरिनु केवल एउटा प्राविधिक निर्णय मात्र होइन, बरु ुसामूहिक नेतृत्वु र ुएकताु प्रतिको हाम्रो साझा प्रतिबद्धता हो। प्रतिकूलताका बीच पनि नयाँ नेतृत्वकै ऊर्जाका कारण पार्टी यो सम्मानजनक अवस्थामा छ, अन्यथा इतिहासको गर्तमा हराउने जोखिम थियो । अतः यसलाई निराशाको रूपमा होइन, संगठन पुनर्गठनको अवसरका रूपमा लिनुपर्दछ।

२.प्रजातान्त्रिक लगानीको महान् प्रतिफल र प्रणालीको विजयः

वि.सं. २००३ सालदेखि नेपाली कांग्रेसले प्रजातन्त्रका लागि जुन रगत र पसिना बगायो, यो निर्वाचन त्यसैको महान् लाभांश हो । लोकतन्त्रमा एउटा सामान्य नागरिकले पनि शासन सत्ताको सपना देख्न र जनविश्वास प्राप्त गर्न सक्नु नै हाम्रो ८ दशक लामो लगानीको प्रतिफल हो । नयाँ शक्तिहरूको उदयलाई हामीले खतरा होइन, बरु हामीले नै रोपेको लोकतन्त्रको बिरुवा फक्रिएको रूपमा बुझ्नुपर्छ । यसले सावित गरेको छ—नेपालमा लोकतान्त्रिक पद्धति थप परिपक्व हुँदै गएको छ। निर्वाचनमा कसले जित्यो र को उपविजेता भयो भन्नुभन्दा पनि हामीले स्थापना गरेको प्रणाली विजयी भयो कि भएन भन्ने मुख्य विषय हो। यसमा हामी सबैले गौरव गर्नुपर्छ ।

३.राजनीतिमा नवीन मानकहरूको स्थापनाः

नेपाली कांग्रेसले यस निर्वाचनमार्फत नेपालको राजनीतिमा केही नवीन मानकहरू स्थापित गरेको छ। युवा पुस्ताको विद्रोहलाई रचनात्मक ढंगले आत्मसात गर्ने वातावरण हामीले नै तयार पा¥यौँ। केवल सत्ता प्राप्तिका लागि गरिने ुअप्राकृतिक गठजोडु लाई भत्काउँदै स्वच्छ र मित्रवत् प्रतिस्पर्धाको नयाँ उचाइ स्थापित भएको छ। नागरिकले स्वतन्त्रतापूर्वक प्रतिनिधि छान्न पाउने अधिकारको सुनिश्चितता र समयमै निर्वाचन सम्पन्न गराउने कार्यमा कांग्रेसको भूमिका निर्णायक रह्यो। नवीन सोच र नयाँ पुस्तालाई अग्रभागमा ल्याउने कार्यको नेतृत्व पनि कांग्रेसले नै गरेको छ।भोलिका दिनमा नयाँ पुस्ताको विद्रोहका मागलाइ राष्ट्रिय मुद्धा बनाउने बाचा पनि नेपाली कांग्रेस गर्दछ ।

४.प्रतिज्ञापत्रः मुलुक रूपान्तरणको मार्गचित्र

निर्वाचनका क्रममा हामीले जारी गरेको प्रतिज्ञापत्र केवल चुनावी दस्तावेज मात्र होइन, यो मुलुक निर्माणको प्रष्ट मार्गचित्र हो। शासन सञ्चालनका कैयन जटिल र अनुत्तरित प्रश्नहरूको ठोस जवाफ यसले दिएको छ। यसलाई आधार बनाएर अघि बढ्ने हो भने मुलुकमा युगान्तकारी रूपान्तरण सम्भव छ। यो दस्तावेज कांग्रेसका लागि मात्र नभएर शासन सञ्चालन गर्ने जुनसुकै दलका लागि पनि एउटा मार्गदर्शक दर्शनु दस्तावेज बन्न सक्छ।

५.उदार राजनीतिको अनुमोदन र आयामिक परिवर्तन ।

यो निर्वाचनको सबैभन्दा सुखद् पक्ष भनेको नेपाली मतदाताले प्रजातान्त्रिक उदारताु लाई रोज्नु हो । हाम्रा कम्युनिष्ट मित्रहरूले विगतमा प्रणाली जोगाउन हामीसँग सहकार्य गरे पनि जनमतले अब मुलुक सामाजिक न्याय, कानुनको शासन र उदार अर्थतन्त्रको ुकांग्रेसी मार्गु मा हिँड्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ । सिट संख्यामा हामी दोस्रो भयौँ होला, तर हाम्रा नीति र सिद्धान्त विजयी भएका छन्। नेपालमा एक प्रकारको आयामिक परिवर्तन(प्याराडाइम सिफ्ट) भएको छ, जसले समृद्धिको फराकिलो बाटो खोल्नेछ भन्ने मेरो विश्वास छ।६.अदृश्य जरा र

दृश्यमान रुखुको विम्बः

बाहिरबाट हेर्दा अहिले कांग्रेसको रुख अलि सानो वा पातहरू झरेको जस्तो देखिएला, तर बिर्सन नहुने तथ्य के हो भने यसका जराहरू नेपाली माटोको धेरै गहिराइसम्म फैलिएका छन्। प्रतिकूलताको आँधीले केही पात झार्न सक्छ, तर यसको अस्तित्वको जग हल्लाउन सक्दैन। हाम्रो सिद्धान्त र विचारको जरा बलियो भएकै कारण यो रुख छिट्टै झन् विशाल भएर मौलाउनेछ। पराजयका बावजुद कांग्रेसका तमाम समर्थक र शुभेच्छुकहरूमा देखिएको आत्मबल र उत्साहले यो पुष्टि गर्दछ कि कांग्रेस छिट्टै पुनः मुलुकको नेतृत्वमा फर्कनेछ।

७.नकारात्मक भाष्य र लोकप्रियतावादको डटेर सामना:

उपसभापतिज्यूले भन्नुभए झैँ, यो निर्वाचनमा विचार वा भिजनभन्दा बढी नकारात्मकताको प्रचारले ठाउँ पायो। असत्य र भ्रमको फैलावट तीव्र हुन्छ, तर दीर्घकालमा सत्य नै स्थायी हुन्छ। हाम्रा असल कामहरूलाई एल्गोरिदम र डिजिटल न्यारेटिभले छोपिदियो। अब हामीले हाम्रा उपलब्धिलाई प्राज्ञिक र लोकप्रिय दुवै भाषामा जनतासम्म पु¥याउने नयाँ सञ्चार कला विकास गर्नैपर्छ । हिजोका उपलब्धि बुझाउने र आजका कमजोरी सुधार्ने काम हामी एकसाथ गर्नेछौँ ।

८.बहुआयामिक परिवर्तन र कांग्रेसको नवीन भूमिका :

मुलुक एउटा आयामिक परिवर्तनमा प्रवेश गरेको छ। अबको राजनीति केवल आन्दोलनको विरासतले मात्र चल्दैन । हामीले डेलिभरीु र मेरिटोक्रेसी लाई मूल मन्त्र बनाउनुपर्छ। हामी संसद्मा रचनात्मक प्रतिपक्ष साथै जनताका मुद्दामा सडकको वैकल्पिक आवाजु बनेर सशक्त रूपमा प्रस्तुत हुनेछौँ। नयाँ परिवेशमा हामीले आफ्नो भूमिकालाई समयसापेक्ष परिमार्जन गर्दै लैजानु पर्दछ।

९. आन्तरिक शुद्धीकरणसहितको देशव्यापी पुनर्जागरणः

पार्टीभित्रका कमजोरीहरूलाई साहसका साथ केलाउने र तिनको निर्मम सम्बोधन गर्दै पार्टीलाई पुनर्जीवन दिनु आजको अनिवार्य आवश्यकता हो। राणा, पञ्चायत, निरंकुश राजतन्त्र र सशस्त्र विद्रोहलाई परास्त गर्दै आएको नेपाली कांग्रेस एउटा निर्वाचनको परिणामबाट किमार्थ विचलित हुने छैन। हामी कसैसँग पूर्वाग्रह नराखी उच्च मनोबलका साथ पार्टी पुनर्गठन गर्दै देश विकासको महाअभियानमा नयाँ९पुराना सबै शक्तिसँग हातेमालो गर्दै अघि बढ्नेछौँ।

१०. पुनरागमनको संकल्पः

हामीले हार र जित दुवैलाई परिपक्वताका साथ आत्मसात गरेका छौँ। यो हारले हामीलाई थप विनम्र र जिम्मेवार बनाएको छ। हामी प्राविधिक रूपमा दोस्रो देखिए पनि वास्तविकतामा यो देशको सबैभन्दा विशाल र भरपर्दो लोकतान्त्रिक शक्ति हौँ। हामी बदलिन तयार छौँ र यो बदलावले नै आगामी निर्वाचनमा कांग्रेसलाई पुनः पहिलो शक्तिको रूपमा उभ्याउनेछ। हामीले आज गरेको संकल्पको फल देशले छिट्टै प्राप्त गर्नेछ।
अन्त्यमा, सभापतिको राजीनामा अस्वीकृत गर्दै, उपसभापतिज्यूको प्रतिवेदनलाई पार्टीको मार्गदर्शक दस्तावेजका रूपमा ग्रहण गरी आगामी दिनमा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्ने संकल्प गरौँ।