यस निर्वाचन परिणामलाई आत्म समिक्षा गर्दै नेपाली कांग्रेसले पार्टीलाई पुनर्जागरण र पुनर्निर्माण गर्ने अवसरका रूपमा लिएको छ । 
काठमाडौं, ९ चैत ।
नेपाली कांग्रेसको निर्वाचन पछि बसेको बैंठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकार गरेको छ । विशेष अधिवेशनबाट निर्वाचित कार्यसमितिले निर्वाचनमा पराजय थापाको मात्र जिम्मेवार नभएको, पार्टीमा थापाको नेतृत्वदायी भूमिका अझै आवश्यक रहेको लगायतका ८ वटा कारणहरु उल्लेख गर्दे राजीनामा अस्वीकार गरेको हो ।
पार्टी प्रवक्ता देवराज चालिसेले केन्द्रीय समितिको निर्णयहरुको विश्लेषण गर्दे सार्वजनिक गरेको वक्तव्यमा थापाको राजीनामा अस्वीकार गर्नुका ८ कारणमा ब्याख्या गरेको छ ।
राजीनामा अस्वीकारका  ८ कारण 
१. निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको ।
२. वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको ।
३.राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले ।
४.राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले ।
५.सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले ।
६.विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम ९कांग्रेस  २।०० कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले ।
७.पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले ।
८.केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले ।
२७ बुँदेको सारांश
केन्द्रीय समितिमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले पेशगरेको २७ बुँदे निर्वाचन समीक्षालाई परीमार्जन सहित पारित गरेको वक्तव्यमा उल्लेख । निर्वाचन समीक्षा जिल्ला तथा निर्वाचन क्षेत्रबाट समेत माग गरिएको जनाउँदै निर्वाचन र क्षेत्रबाट आएका प्रतिवेदनहरु समेतका आधारमा परीमार्जन गरिने उल्लेख छ । व्यक्तव्यमा भनिएको छ ‘उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि वैठकमा विस्तृत छलफल गरिएको छ।’
व्यक्तव्यमा २७ बुँदेको सारांश निकालिएको छ । व्यक्तव्यमा भनिएको छ ‘ प्रस्तुत २७ बुँदे प्रतिवेदनको सारांशअनुसार निर्वाचन परिणामका प्रमुख कारणहरू निम्नानुसार रहेका छन् ।’
१.चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु।
२.गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु।
३.विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू ९३५ वर्षमा ३२ सरकार परिवर्तन समेत ० का कारण जनआक्रोश बढ्नु।
४.जेन–जेड युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु।
५.डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिकृयात्मक लाभ पुग्नु।
यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको बैठकले ठहर गरेको छ। विशेष महाधिवेशन पश्चात् गठन भएको नयाँ नेतृत्वलाई सीमित समयावधि (करिब ५० दिन)भित्र यी सबै चुनौतीहरू समाधान गर्न कठिन भएको निष्कर्ष रहेको छ।
१५औँ महाधिवेशनतर्फ केन्द्रित
कांग्रेस बैंठकले आगामी कार्यदिशा १५ औं महाधिवेशन आयोजना हो भनेको छ । वक्तव्यमा भनिएको छ ‘ नेपाली कांग्रेस अब पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित भएको छ। विशेष अधिवे्शनबाट आएको केन्द्रीय समितिले आफू निर्वाचित भएको एक वर्ष भित्र अधिवेशन गर्नुपर्ने कांग्रेस विधानमा व्यवस्था छ ।
 १.नयाँ नेतृत्व चयन,
२.विधान संशोधन,
३.संगठनात्मक पुनर्संरचना,
४.तथा भावी रणनीति निर्धारण गरिनेछ।
‘पार्टीका सम्पूर्ण ऊर्जा, योजना र प्रतिबद्धता अब यस महाधिवेशनको सफलतामा केन्द्रित रहनेछ।’ व्यक्तव्यमा भनिएको छ ।
पार्टी नवनिर्माण र सुदृढीकरण गर्ने अवसर
 कांग्रेसले वर्तमान अवस्थालाई पार्टी नवनिर्माण र सुदृढीकरण गर्ने अवसरको रुपमा लिएको छ । वक्तव्यमा भनिएको छ ‘यस निर्वाचन परिणामलाई आत्म समिक्षा गर्दै नेपाली कांग्रेसले पार्टीलाई पुनर्जागरण र पुनर्निर्माण गर्ने अवसरका रूपमा लिएको छ।’ पार्टीले एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो भन्दै कार्यकर्तालाई उच्च मनोबलमासाथ रहन  भनेको छ  । वक्तव्यमा भनिएको छ ‘उच्च मनोबल कायम राख्न,अनुशासनमा रहन, र पार्टी एकता सुदृढ गर्न हार्दिक आह्वान गरिन्छ।’
कांग्रेसले निर्वाचनमा संलग्न र सरोकार राख्ने सबैको सम्बोधन गर्दे भनेको छ ‘निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण उम्मेदवार,कार्यकर्ता,भातृ तथा शुभेच्छुक संस्थाहरू, तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।’
वक्तव्यमा  विजयी सबै उम्मेदवारहरूलाई हार्दिक बधाई ज्ञापन गर्दे भनिएको छ ‘ कठिन परिस्थितिका बाबजुद नेपाली कांग्रेसलाई मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं। जनताको मतादेश र स्पष्ट सन्देशलाई पार्टीले गम्भीरतापूर्वक आत्मसात गर्दछौ ।’
कांग्रेसले मध्यपुर्वमा चर्किएको युद्धबारे भनेको छ ‘ मध्यपूर्वमा चर्किएको युद्द सम्वन्धमा यो वैठक विश्वशान्तिको अनिवार्य आवश्यकतालाई महसुस गर्दै युद्दको अन्त्य हुने अपेक्षा गर्दछ । युद्दग्रस्त क्षेत्रमा लाखौ नेपालीहरू असुरक्षित छन् तीनको आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाली काग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’
त्यस्तै युद्दको क्रममा हर्मुज क्षेत्रको वन्दर अव्वास वन्दरगाहमा ईरानी सेना द्वारा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झा लाई सकुसल मुक्त गरि स्वदेश फर्काउन यो वैठक नेपाल सरकारसँग माग गरेको छ ।
जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न यो बैठक माग
कांग्रेसले गौरी आयोगको प्रतिवेदन सार्वजनिक गर्न भनेको छ । व्यक्तव्यमा भनिएको ‘२०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटना बारे न्यायिक जाँचवुझ गर्न गठित श्री गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगद्वारा नेपाल सरकारलाई बुझाएको जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न यो बैठक माग गर्दछ ।’