अमेरिका, इजरेल, इरानको जारी युद्धमा इरान र लेवननमा गरेर २ सय बढी बालबालिका मारिएका छन् । युद्धकै कारण ५० लाख बढी आफ्नो थातथलो छोडेर अरुको शरणमा पुगेका छन् । युद्धको सामरिक जित हार, विजय, पराजयको गर्भमा मानवीय कथाव्यथा विस्मृतिमा दबिन्छन्, आँसु बनेर बगिरहन्छन् ।

काठमाडौं, ५ चैत ।
अमेरिका, इजरेल र इरानबीचको सामरिक युद्ध सुरु भएको १९ औं दिन भयो । नेपालबाट लामो दुरीमा रहेका यि देशहरुबीचको युद्धको बाँछिटा तपाई हाम्रो चुल्हो चौकामा आइसकेको छ । संसारको आर्थिक, सामाजिक र सामरीक अवयवहरुमा यो युद्धले असर पारेको देखिदैंछ।
नेपाल आयल निगमले पेट्रोल र डिजलमा चैत २ देखी मूल्य वृद्धि गरेको छ। पेट्रोलमा ३१ रुपैया, डिजेलमा ५४ र खाना पकाउने ग्यासमा २१६ रुपैया बढाएको छ । यो मूल्य पछि पेट्रोल १८८ डिजेल १९६ र ग्यास २ हजार १ सय २६ मोल पर्ने भयो । आयल निगमले भारतबाट पेट्रोलियम आयात गर्दछ र नेपालमा बिक्री गर्दछ ।
त्यसो त एक साता अघिदेखी नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बेच्न थालेको हो । कहिलेसम्म आधा सिलिण्डर ? पुरै सिलिण्डर आउँने दिनहरु कति टाढा छन् ? अन्यौलग्रस्त छ समय, अनुत्तरित छन् प्रश्नहरु ।

खाडीको रोजगारीबाटै धेरै नेपालीको भातभान्सा चलेको छ ,नानीबाबुले ‘बोर्डिङ्ग’मा पढन पाएका छन् । जीवनयापनका सपनाहरु छन्, खाडिको रोजगारीमा । श्रोतहरु भत्किए पछि सपनाहरु घायल हुन सक्छन्, संगिन छ समय ।

खाडीमा युद्ध चर्किएको छ । पेट्रोलियम लगायतका सामानहरुको मुख्य समुन्द्री साँधुरो मार्ग ‘स्टेट्र अफ हर्मज’ अवरुद्ध छ । इरानले त्यहाँबाट तेल लगायतका सामान बोक्ने पानी जहाज चल्न नदिने धम्की दिएको छ । केही दिन अघि तेल बोकेको पानी जहाजमा आक्रमण भएको थियो । त्यसयता इरानको भयका कारण पानी जहाज चल्दैनन् । हर्मज समुन्द्री नाकाबाट करिव २० प्रतिशत पेट्रोलियम आवतजावत हुनेगर्दछ, त्यसै अनुसार अन्य कच्चा पर्दार्थहरु पनि । पेट्रोलियम उत्पादक खाँडी राष्ट्रका उत्पादन बाहिर जान पाएका छैनन् । खाडी राष्ट्र आफै युद्धको चपेटामा परेका छन् ।
युद्ध सुरु हुनु अघि पेट्रोलको मुल्य ७० अमेरिकी डलर प्रति ब्यारेल थियो । प्रतिव्यारेल १२० अमेरिकी डलर पुगेर अहिले १०७ डलरको हाराहारीमा कायम छ । एक ब्यारेल करिब १५९ लिटर हुन्छ । अहिलेको अमेरिकी डलर १४८ का आधारमा हिसाब गर्दा एक लिटरको मूल्य करिव १०० रुपैया हुन आउँछ ,जुन खाँडीको मूल्य हो । खाँडीबाट काठमाडौं खाल्डोसम्म आइपुग्दा करिब दोब्बर पर्ने रहेछ ।
पेट्रोलियमको मूल्य बढेपछि त्यसले सर्वत्र असर गर्दछ । यातायात, खाद्यान्न सबैको मूल्य बढ्ने गर्दछ, कालो बजारीको सभावना बढ्छ । हुनेले बढी भन्दा बढी भण्डार गर्दछन्, बिहान बेलुकाको छाक टार्नेहरु नै बढी मारमा पर्ने हुन् ।


इरान माथि इजरेल, अमेरिका जाइलागेपछि इरानले खाडी राष्ट्रहरु जो अमेरिकसँग, कूटनीतिक, व्यापारिक, सामारिक हिसावले नजिक थिए, त्यहाँ बमवारी गर्यो, गरिरहेको छ । जताततै भय सृजना भएको यतिबेला । कुन बेला कताबाट बम खस्छन्, त्यसको टुंगो छैन ।
इरान माथि अमेरिका र इजरेल किन जाइलागे ? त्यसको सामरिक,राजनीतिक आयामहरु पेचिला र गहिरा छन् । अहिलेसम्म खासमा इरान प्रतिकारमा छ । एकपछि अर्कोगर्दे इजरेल र अमेरिका भयानक आक्रमणमा व्यस्त देखिन्छन् । उनीहरुले खोजेको जस्तो सत्ता परिवर्तन भएको छैन । न्यूक्लियर हतियार, पूर्वाधार र संभावनाहरु माथि बन्देज लागि सकेका छैनन् । त्यसैले युद्ध जारी छ ।
सन् २०२६ को फ्रेबुवरी २८ मा इजरेल, अमेरिकाको कारवाहीमा इरानको शासनसत्तामा ४५ वर्षदेखी हुकुम चलाउँदै आएका धार्मिक नेता आयोतोल्लाह अलि खुमेनीको हत्या भयो । उनीसँगै उनकी पत्नी, छोरी, ज्याई, १४ महिनाकी नातिनी, छोरा बुहारी र किशोर नातिको निधन भएको बताइन्छ । धार्मिक शासनसत्ताका जिम्मेवार ठूलो संख्यामा पदाधिकारीहरुको इहलिला समाप्त भएको दाबी विरोधीहरुको छ ।
इरानको इस्लामिक धार्मिक संस्था—इस्लामिक रिभोलुसनरी गार्डकोर्स (आइआरजिसि)जसले राजनीतिको कमान सम्हाल्छ, त्यसले ८६ वर्षिय आयोतोल्लाह खुमेनीका माइला छोरा ५६ वर्षका मोजतबा अलि खुमेनीलाई सर्वोच्च नेता चुनेको छ । बाबुको सत्ता राजनीतिलाई भित्रबाट सघाइरहेका मोजतवा जसको सामाजिक र बाहिरसम्म फैलिएको राजनीतिक परिचय बनिसकेको थिएन ।उनको नियुक्तलाई अमेरिकाले निको मानेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आइएम नट ह्यापी ’भनेका थिए, प्रतिक्रियाका क्रममा ।
मोजतवा सर्वोच्च नेता भनेर समाचारहरु बाहिर आएपनि उनी भने सार्वजनिक भएका छैनन्, कुनै पनि हिसावले । मोजतवा आफै पनि घायल भएको र उपचार भैरहेको बताइन्छ । बाबु आयोतोल्लाहसँगै आफ्नी श्रीमती र किशोर छोरा गुमाएका उनको अवस्था बाहिरी दुनियाका लागि अज्ञात छ ।
युद्ध प्रारम्भ भएको १८ औं दिनमा इरानका अर्का महत्वपूर्ण व्यक्ति मारिए। अलि लारिजानी, जो सुरक्षा प्रमुख थिए। इरानी सत्ताको राजनीति, कुटनीतिका ज्ञाता, अनुभवि टेक्नोक्रेट लारिजानीको क्षतिपुर्ति कसरी हुन्छ ? आन्तरिकरुपमा पनि राजनीतिक अस्थिरता झेलिरहेको इरान यतिखेर बाह्य भयानक आक्रमणको सामना गरिरहेको छ । अनुभवी नेतृत्वको ठूलो पङ्ती सफाया भएको अवस्थाको व्यवस्थापन कसरी हुने हो ? त्यसैले युद्धको आगामी दिशा निर्धारण गर्ने हुन्छ।
युद्धका क्रममा इरानमा १ हजार ४ सय हाराहारी सर्वसाधारणको मृत्यु भएको समाचारहरु छन् । प्रारम्भमै अमेरिका, इजरेलले इरानको मिनावमा आक्रमण गर्यो स्कुलमा जहाँ कक्षामा सासाना विद्यार्थी पढिरहेका थिए। त्यहाँ १६८ जनाको मृत्यु भयो, जसमा १०० भन्दा बढी केटाकेटी छन् । मानव अधिकारवादीहरुले यसको आलोचना गरेका छन् । अमेरिकामा पनि यसको विरोध भएको छ । जिम्मेवारहरु माथि सिनेटले प्रश्नहरु सोध्ने भएको छ।
स्कुल र इरानी इस्लामिक रिभोलसनरी गार्ड कर्पसको क्याम्प नजिकमा रहनुनै यो घटनाको कारक देखिन्छ। यस मामलामा इजरेल, अमेरिकाले पुरानो गुप्तचर रिपोर्टका आधारमा आक्रमण गरेको बताइदैंछ । अमेरिका,इजरेल र इरानको राजनीतिक, सामरिक स्वार्थमा सय भन्दा बढी स्कुलमा पढिरहेका बालबालिकाको इहलिला समाप्त हुनु युद्ध होइन,अपराध हो । स्कुललाई ढाल बनाउने इरानी बिद्रोहीहरु र अपुरो सूचना र जानकारीका आधारमा आक्रमण गर्ने अमेरिका, इजरेल दुबै दोषि हुन्।
केही दिन अघि इजरेलको एउटा यहुदी मन्दिरमा एक जनाले कार कुदाउँदै लगे,कार विस्फोट भयो उनको मृत्यु भयो । प्रहरीका अनुसार उनीसँग बन्दुक, केही तरल ग्यास (विष्फोटक)थियो । आयामन मोहमद घजाली नाम गरेका ४१ वर्षिय उनी आफैले आत्महत्या गरेको इजरेली प्रहरीको दाबि छ । घटनाहरुकाक आधारमा उनलाई त्यहाँका सुरक्षाकर्मीले मारेको समाचारहरुमा आएका छन्। मन्दिर भित्र कार कुदाउँनु अघि उनी २ घण्टा त्यतै वैचेन भएर घुमिरहेका थिए भनिन्छ। उनले आफैलाई किन सिध्याए ? प्रहरीका अनुसार उनी अमेरिकामा जन्मिएका लेवनानी नागरिक हुन्, जो सन् २०११ देखि इजरेलको डियरवोर्न हाइटमा आएर बसोबास गर्दे थिए।
लेवननमा भैरहेको इजरेली आक्रमणमा आफ्ना दाजुभाई र भतिजहरु मारिएपछि त्यसको पिडामा घजालीले आफैले आफैलाई सम्हाल्न नसकेको देखिन्छ । यता, इजरेल प्रहरीले भने आत्महत्याको मुख्य ध्येय के हो पत्ता नलागेको बताएको छ । लेबननबाट इरानलाई हतियार र लडाकुहरु परिचालन गर्दे आएका हेजबुल्लाहका उच्चस्तरका नेता इब्राहिम मोहमद घाजाली र आयमन घाजाली दाजुभाई भएको इजरेली सेनाले बताएको छ ।


इजरेल अमेरिकाले इरानमा आक्रमण गरेर धार्मिक नेता आयोतोल्लाह खुमेनीको हत्या भएको दोश्रो दिन प्रतिक्रियामा लेवननमा क्रियाशील हेजबुल्लाह समुहले उत्तरी इजरेलमा मिसाइल प्रहार गर्यो । त्यसको प्रतिउत्तरमा इजरेलले लेवननमा हवाई र स्थल दुबै माध्यबाट आक्रमण गरिरहेको छ, लगातार । लेवननको राजधानी बेरुत लगायतका स्थानमा अहिले भय छाएको छ। इजरेलको आक्रमणबाट लेवननमा ठुलो मानवीय संकट आएका छन् । त्यहाँका ८५० बढीको निधन भएको छ जसमा १०० बढी केटाकेटी छन्।
ठूलो संख्यामा लेवननको राजधानी बेरुत लगायतका स्थानबाट सुरक्षाका लागि आफ्नो थातथलो छोडेर अन्यत्र जानेको संख्या ७ लाख नाघेको बताइन्छ। उनीहरु छिमेकी सिरियामा शरण लिन थालेका छन् । युनएनएचसिआरले युद्धले मानवीय संकट निम्त्याएको बताउँदै सहयोगको याचना गरिरहेको छ। त्यसोत, इरान भित्रै सुरक्षित स्थानको खोजिमा आफ्नो बसोबास छोडेर शरण खोज्दै ग्रामिण क्षेत्रमा जानेको संख्या ३० लाख रहेको अनुमान गरिदैंछ । इरानको राजधानी तेहरान लगायतका सहरी इलाकाबाट ग्रामिण क्षेत्रमा शरणार्थी हुने परिवार ६ लाख बढी भएको बताइन्छ।
त्यसो त इरानमा अफगानिस्तानका करिब ४० लाख बढी शरणार्थीहररु पनि मारमा परेका छन् । उनीहरुलाई जुटिरहेको सहयोगमा अवरोध आएको छ ।
युद्धले निम्त्याएका परिवारिक, सामाजिक घाँउहरु गोलाबारुदको चोट भन्दा गहिरा हुन्छन नै । जसको हिसाव किताव हुँदैन । इरानको राजधानी तेहरान लगायतका स्थानबाट आफ्नै देशभित्र शरणाथी हुन वाध्यहरुको पिडा कसले बुझ्ने ? देशको राजधानीमा बम वर्षा भएपछि बसोबास छोडेर हिडेका बेरुतका ७ लाख बढी नागरिकको पिडा कति गहिरो होला ? अनुमान लगाउन कठिन छ।

इरानमा जसरी उच्च पदस्थहरु मारिएका छन्, आक्रमणमा परेर मृत्यु भएका सर्वसाधारणको संख्या, सहरका भग्नावशेषहरुले शान्तिको आग्रह गरिरहेका छैनन्, ठुलो संख्यामा बिद्रोही र जेहादीहरु पैदा भैरहेका हुनसक्छन् ।

खाडी देशका आफ्नै पिडा छन्। अमेरिकासँग, व्यापारिक, कुटनीतिक, सामरिक सम्बन्धहरु राख्दै आएका कतार, बहराइन, जोर्डन, युनाइटेड अरव इमिरेट, कुबेत, साउदी अरेविया, ओमान जस्ता देशहरुको उद्यम, व्यापार र सामान्य जनजीवन प्रवावित भएको छ । आर्थिक उन्नयनमा तिव्र गतिमा अगाडि बढिरहेका, नेपाल लगायतका देशहरुका रोजगारदाताहरु माथि इरानी आक्रमणले. सुरक्षाको प्रश्न सामुन्ने ल्याएको छ । यि देशहरुमा १७ लाख बढी नेपाली रोजगारीका लागि त्यहाँ पुगेका छन् । यो आधिकारीक तथ्याङ्क हो । इरानी आक्रमण पछि कतिपय स्वदेश फर्कने मनस्थितिमा पुगेको समाचारहरु आइरहेका छन् ।
आक्रमणबाट नेपालीको पनि मृत्यु भएको छ। गोरखाका दिवश श्रेष्ठ, संयुक्त अरब इमिरेटको अबुधाबिमा काम गरिरहेको बेला इरानले प्रहार गरेको बम खस्यो, उनको मृत्यु भएको । त्यसैबेला भारतीय र बंगलादेशीको पनि मृत्यु भएको बताइन्छ। खाडिमा रहेको ठूलो संख्याका नेपाली त्यहाँको भयग्रस्त माहौलबाट आजित छन् र कतिपय स्वदेश फर्कन चाहन्छन् । जो उहाँछन्, उनीहरुको के हुने भन्ने प्रश्न छ । यता, दैनिक औषत १८ सय नेपाली रोजगारीका लागि खाडी मुलुक जान्थे, हाल त्यो क्रम रोखिएको छ । नेपाल मात्र होइन खाडीका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफ्रिकन देशबाट रोगगारीका लागि आएकाहरुको संख्या ३ करोड बढी मानिन्छ।

युद्ध कति समय लम्बिने हो ? अझै कति क्षति हुन बाँकी छ ? इरानले कहाँकहाँ निशाना बनाउने हो ? अमेरिका र युरोपका ठूल्ठुला कम्पनीहरु छन्, खाडीमा। तिनिहरु माथि निशाना दाग्ने भनिरहेको छ इरान। रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रलाई कुन तहसम्म असर पार्ने हो यो युद्धले ? यावत प्रश्न अनुत्तरित छन्, यतिबेला। खाडीको रोजगारीबाटै धेरै नेपालीको भातभान्सा चलेको छ ,नानीबाबुले ‘बोर्डिङ्ग’मा पढन पाएका छन्। जीवनयापनका सपनाहरु छन्, खाडिको रोजगारीमा । श्रोतहरु भत्किए पछि सपनाहरु घायल हुन सक्छन्, संगिन छ समय।
जीवनयापनसँग जोडिएको रोजगारीको अर्को पाटो छ । सउदी अरेबियामा जीवनयापनका लागि मात्र होइन, शौख गर्दे रमाउन चाहनेहरुको आकर्षण थियो। बेलायती, युरोपेली, भारतीय, बंगलादेश, पाकिस्तान साउदी आएका थिए ठूलो संख्याका धनाढयहरु। राम्रो कमाई, कमाईमा ट्याक्स नलाग्ने नीति र सुरक्षाका कारण आकर्षण थियो। आधुनिकतामा फड्को मारिरहेका खाडीका सहरहरुमा शान्ति थियो, अनुशासित समाज थियो, वैभवशाली पहिचानमा ठुला, साना, धनी, गरिब सबै अटाएका थिए।
अहिले अवस्था उल्टो छ। अब सुरक्षा नै प्रमुख चुनौती बनेको छ। सउदीमा शानसँग बसोबास गर्दे आएका बेलायतीहरुको संख्या २ लाख ४० हजार छ। साउदीको राजधानी रियाधमा अहिले भय छाएको छ । राजधानीको कूल करिव ८५ लाखको जनसंख्यामा आधाजसो बाहिरबाट गएकाहरु छन् । आधुनिकताले छाएको रियाध, सुविधा सम्पन्न मेट्रोपोलिस हो।
अरबका खाडि राष्ट्रहरु जो वैभता, आधुनिकताबाट अगाडि बढिरहेका छन्, तिनले दिएको रोजगारीले नेपाल, भारत, बंगलादेश लगायतबाट वाध्यतामा त्यहाँ पुगेकाहरुको रोजिरोटी चलेको थियो ? त्यसमा कुनै व्यवधान त हुने होइन ? प्रश्नहरु मात्र छन् यतिखेर ।

सामरिक युद्धका जितहार होलान, संझौताहरु हुनसक्छन् । युद्धले बनाएको घाउँ पुरिन र निको हुन् संझौता र हारजितले ठुलो भूमिका खेल्दैनन् । आफ्नो बसोबास छोडेर शरणार्थी बनेका र शरणार्थी बनेर थप पिडामा पुगेकाहरुको संख्या नै एक करोड हाराहारी छ। इरानमा जसरी उच्च पदस्थहरु मारिएका छन्, आक्रमणमा परेर मृत्यु भएका सर्वसाधारणको संख्या, सहरका भग्नावशेषहरुले शान्तिको आग्रह गरिरहेका छैनन्, ठुलो संख्यामा बिद्रोही र जेहादीहरु पैदा भैरहेका हुनसक्छन् ।
आम नागरिकलाई जातियता, राष्ट्रवाद र धार्मिक नशामा डुबाएर अधीनायकवादी शासनसत्ता चलाउने, टिकाउने कट्टरपन्थीहरुकै कारण यो युद्ध निम्तिएको देखिन्छ । युद्ध जित्ने पर्ने अमेरिका, इजरेल र कुनै पनि हालतमा नहार्ने इरानको अडानबीच कस्तो परिणाम आउँने हो ? कहिलेसम्मका परिणाम आउँने हो ? प्रश्नहरु सतहमा छन्, सामुन्नेमा छैन उत्तर।

तस्बिर साभार:  UNHCR, BBC ,Lebanon