काठमाडौ, ४ चैत ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान श्री पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् ।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले प्रकाशीत सूचनामा भनिएको छ ‘मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गर्नुभयो ।’
मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी कार्कीले पुकारा गरेको सूचनामा उल्लेख छ ।
रुद्राभिषेकमा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक थिए ।

तस्बिर : केशव थापा, प्रधानमन्त्रीको सचिवालय