समानुपातिकमा कुन दलले कति सिट पाउँने ? निर्वाचन आयोग गृह कार्यमा छ । समानुपातिकमा दलहरुले प्राप्त मतका आधारमा रास्वपाले ५७ सिट कांग्रेसले २० सिट, एमालेले १६, नेकपाले ९ श्रम संस्कृतिले ४, राप्रपाले ४ सिट पाउँने संभावना छ ।

काठमाडौं, २७ फागुन ।
नेपालको तीन दशक लामो लोकतान्त्रिक राजनीतिको प्रयोगमा पछिल्लो निर्वाचनको मतादेशले राजनीतक वृतमा हलचल ल्याएको छ । प्रत्यक्ष र समानुपातिक दुबै निर्वाचन परिणाम सार्वजनिक भएका छन् ।
दुबै खाले निर्वाचन परिणामलाई अघिल्लो निर्वाचन परिणामसँग तुलना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)एकमना सरकार बनाउनसक्ने हैसियतमा उक्लिएको छ । यता प्रतिपक्षी कित्तामा पुगेका कांग्रेस, एमाले र एकिकृत ठुलो आकारको माओवादी मतादेशमा नराम्ररी खुम्चिएका छन् ।
रास्वपा प्रत्यक्ष निर्वाचनमा अघिल्लो चुनावको तुलनामाल ७ गुणा बढीले अगाडि छ भने समानुपातिकमा ५ गुणा बढी मत पाएको छ । नेपाली कांग्रेस प्रत्यक्षमा एकतीहाईले खुम्चिएको छ भने समानुपातिकमा १० लाख मतदाता गुमाएको छ । यता,एमाले प्रत्यक्षमा पंश्चमांश खुम्चिएको छ भने समानुपातिकमा आधा मतदाता गुमाएको छ ।
प्रत्यक्ष र समानुपापातिक दुबै निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्य दलको तुलनामा धेरै नै अगाडि छ । प्रत्यक्षका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय २५ स्थानमा रास्वपा विजयी भएको छ भने समानुपातिकमा पनि कूल मतको आधा जस्तो ५१ लाख ८३ हजार ४ सय ९३ मत रास्वपाले पाएको छ ।अघिल्लो निर्वाचनमा रास्वपा चौथो स्थानमा थियो, दुबै परिणाममा । रास्वपाले त्यसबेला प्रत्यक्षमा १७ सिट जितेको थियो भने समानुपातिकबाट ३ जना गरेर जम्मा २० जना सांसद थिए । रास्वपाले त्यसबेला पाएको मत ११ लाख ३० हजार ३ सय ४४ थियो ।अहिले रास्वपाका प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ सिट प्राप्त गर्ने संभावना छ । कूल मिलाएर रास्वपाको १८२ सिट हुन्छ, दुई तिहाई २८४ भन्दा २ सिट कम ।
दोश्रो स्थानमा नेपाली कांग्रेस छ । दुबै निर्वाचनमा कांग्रेस दोश्रो स्थानमा आएको छ यस पटक । नेपाली कांग्रेस प्रत्यक्षमा १८ स्थानमा विजयी भएको छ । कांग्रेसले समानुपातिकमा १७ लाख ५९ हजार १ सय ७२ मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा कांग्रेस प्रत्यक्षमा ५७ सिटमा विजयी भएको थियो भने समानुपातिकमा २७ लाख १५ हजार २ सय २५ मत पाएको थियो । कांग्रेसका ३२ समानुपातिक सिट सहित संसदको ठूलो दल थियो, ८९ सांसदहरु भएको । यसपालि कांग्रेसको प्रतिनिधिसभाको हैसियत भनेको १८ प्रत्यक्ष र २० जना समानुपातिक सांसद हुने संभावनाबीच ३८ सिट पुग्ने देखिन्छ ।
नेकपा(एमाले) तेश्रो स्थानमा आएको छ, जम्मा ९ वटा प्रत्यक्ष सिट जितेर । समानुपातिकमा १४ लाख ५५ हजार ८ सय ८५ मत पाएको छ । अघिल्लो निर्वाचनमा एमाले प्रत्यक्षमा ४४ स्थानमा विजयी भएको थियो । एमालेले त्यसबेला सबै भन्दा बढी २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको थियो । एमालेका ३४ समानुपातिक सांसद सहित संसदको दोश्रो ठूलो दल थियो, ७८ सांसद भएको । यसपटक एमाले प्रत्यक्ष ९ र समानुपातिक १६ सिट प्राप्त हुने सभावना छ । एमाले २५ सिटमा सीमित हुने देखिन्छ ।
चौथो स्थानमा २५ वटा कम्यूनिष्ट पार्टीहरु मिलेर बनेका नेपाली कम्यूनिष्ट पार्टी नेकपाले प्रत्यक्षमा ८ सिट जितेको छ । धनुषा १ बाट निर्वाचित मातृका प्रसाद यादव निर्वाचित भएको भनिए पनि आयोगको वेभसाइटमा उनले जितेको अपडेट छैन ।निर्वाचन आयोगले प्राविधिक समस्या भन्दै आएको छ । समानुपातिकमा भने नेकपाले ८ लाख ११ हजार ५ सय ७७ मत पाएको छ । अघिल्लो निर्वाचनमा तेश्रो स्थानमा रहेको नेकपा(माओवादी) अहिले त्यहीँ रुपमा छैन ।अहिले २५ कम्यूनिष्टको केन्द्रमा छ त्यसबेलाको माओवादी । अघिल्लो चुनावमा माओवादीले प्रत्यक्षमा १८ सिट र समानुपातिकमा १४ सांसदगरी जम्मा ३२ जना सांसदको बल थियो ।

यसपटक ८ प्रत्यक्ष र ९ समानुपातिक पाप्त हुने सभावनाबीच जम्मा १७ सांसदकाको बल हुने छ । त्यसबेला माओवादीले समानुपातिकमा ११ लाख ७५ हजार ६ सय ८४ मत पाएको थियो ।
पाचौं स्थानमा धरानका पूर्व मेयर हर्क साम्पाङ्गको श्रम संस्कृति पार्टी आएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ्ग सहित ३ जना प्रत्यक्षमा जितेका छन् भने समानुपातिकमा ३ लाख ८५ हजार ६ मत ल्याएको छ । यो पार्टी पहिलो पटक संसदको निर्वाचनमा भाग लिएको हो । श्रम संस्कति पार्टीका ३ प्रत्यक्ष र ४ समानुपातिक गरी ७ सांसद हुने सभावना छ ।
छैठौं स्थानमा राप्रपा आएको छ । प्रत्यक्षमा १ सिट र समानुपातिकमा ३ लाख ३० हजार ३ सय ८६ मत पाएको छ राप्रपाले । अघिल्लो निर्वाचनमा राप्रपाको प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गते गरेर १४ सिट थियो । समानुपातिकमा राप्रपाले त्यसबेला ५ लाख ८८ हजार ८ सय ३९ मत पाएको थियो । राप्रपाको भागमा समानुपातिकका ४ जना र एक प्रत्यक्ष गरेर जम्मा ५ सांसद हुने संभावना छ ।
यि ६ वटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । राष्ट्रिय पार्टी बन्न समानुपातिकमा न्यूनतम ३ लाख २४ हजार १ सय ४१ मत आवश्यक हुन्छ र एक जना प्रत्यक्षमा निर्वाचित भएको हुनुपर्ने कानूनी व्यवस्था छ ।
प्रतिनिधिसभामा एक जनामात्र स्वतन्त्र सांसद छन् । म्याग्दीबाट निर्वाचित पूर्वमन्त्री महाविर पुन् ।
अघिल्लो निर्वाचनमा ५ औं स्थानमा रहेको जनता समाजवादी पार्टी, यसपटक ७ औं स्थानमा छ । यस पटकको निर्वाचनमा जसपाले एउटै सिट जितेन । थ्रेस होल्ड न्यूनतम ३ प्रतिशत पनि कटाउन नसकेपछि उसको भागमा समानुपाति पर्देन । जसपाले यस पाली समानुपातिकमा १ लाख ८२ हजार २ सय ८५ मत पाएको छ । अघिल्लो निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपामा प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ५ सांसद गरी १२ सांसदहरु थिए । समानुपाकिकमा जसपाको ढल्केको छाताले ४ लाख २१ हजार ३ सय १४ मत पाएको थियो ।
अघिल्लो संसदमा छैठौं स्थानमा प्रत्यक्षमा १० सिट जितेको नेकपा(एकिकृत समाजवादी) अहिले सिंगो पार्टीको रुपमा छैन । ३ प्रतिशत मत ल्याउन नसकेकोले त्यसैबेला राष्ट्रिय पार्टी हुन नपाएको एकिकृत समाजवादी नेकपामा बिलय भएको छ । अघिल्लो पटक समानुपातिकमा एकिकृत समाजवादीको कलम चिन्हले २ लाख ९८ हजार ३ सय ९१ मत पाएको थियो ।
सातौं स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी थियो । प्रत्यक्षमा ४ सिट र समानुपातिकमा पनि ४ सिट सहित ८ सिटको लोसपा अहिले बेग्लै अस्तित्वमा छैन ।
अघिल्लौ निर्वाचनमा मधेशमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टी यस पटक प्रत्यक्षमा शुन्य छ । समानुपातिकमा माइक चिन्हले ७९ हजार ४ सय ३५ मत प्राप्त गरेको छ । अघिल्लो संसदमा जनमतका प्रत्यक्ष १ र समानुपातिक ५ गरी ६ सांसद थिए । त्यसबेला जनमतले ३ लाख ९४ ६ सय ५५ मत पाएको थियो । मधेशप्रदेशमा सरकार समेत गठन गरेको थियो ।
प्रत्यक्षबाट प्रतिनिधिसभामा आएका ६ वटा पार्टी छन् भने समानुपातिकमा पनि ६ वटै पार्टी अग्रस्थानमा छन् । निर्वाचनमा मतदान भएको कूल मतको न्यूनतम ३ प्रतिशत प्राप्त गर्ने दल राष्ट्रिय पार्टीको हैसियत प्राप्त गर्दछन् ।
२०४८ को जनआन्दोलन पछि प्रत्येक निर्वाचनमा उपस्थिति जनाउँदै आएको विशेष गरेर भक्तपुरलाई केन्द्रबिन्दू बनाएको नेपाल मजदुर किसान पार्टी यस पटक शुन्यमा झरेको छ । नेमकिपाले ४२ हजार ३ सय १ मत पाएको छ ।