आम निर्वाचन : मुलक चलाउने मतादेश
सम्पादकीय
तेश्रो चौथो मतादेशकाहरुसँग सत्ताको साँचो हुने र त्यसैले राजनीतिलाई घुमाउने अभ्यास अब दोहोरिनु हुँदैन । निर्वाचन भनेको सरकार चलाउने मतादेश हो, जनताको मतदेश अनुसार मुलुक चल्न सकोस् ।
मुलुक आम निर्वाचनमा होमिएको छ । भदौं २३ को जेनजि अभियान र त्यसको पृष्ठभूमिमा रचना गरिएको विध्वंशको जगमा निर्वाचन हुँदैन कि भन्ने संशयहरु हटेका छन् । निर्वाचन जुन आफैमा लोकतान्त्रिक राजनीतिक प्रणालीको आत्मा हो त्यसलाई पुर्नजागृत गर्ने एउटा यज्ञमा सामेल हुँदैछन् नेपालीजन ।
भदौंरे विध्वंशपछि सम्पन्न हुन लागेको यो निर्वाचनबाट जनताले मुलुकको राजनीतिक व्यवस्थाको स्वरुप निर्धारण गर्ने आफ्ना अधिकार सुम्पदै छन् जनप्रतिनिधिहरुलाई । यो जनादेशले संघीय लोकतान्त्रिक गणतन्त्र अझ सुढुढ बनाउन योगदान गर्ने अपेक्षा गरिदैंछ । भष्ट्राचार र सुशासनको अभावबाट गुज्रिएको मुलकमा लोकतन्त्रकै आवश्यकता र औचित्य माथि प्रश्न उठिरहेको संगिन समयबीच मध्यावधि निर्वाचन भएको हो । आम निर्वाचन भनेको राजनीतिक दलहरुलाई जनताले मुलुक चलाउन दिने मतादेश हो । जनताले कुन राजनीतिक पार्टीलाई कुन हदसम्मको मतादेश दिने हुन् ? त्यसको आँकलन एकसाता पछि मात्र गर्न सकिन्छ । फागुन २५ सम्ममा लगभग सबै निर्वाचन क्षेत्रको परिणाम आइसक्ने छ । विगतका चुनावमा आधारमा बहुमत कुनै पनि राजनीतिक दलको पक्षमा जुट्न नसक्ने अवस्थामा कुन कुन दल मिलेर सरकार बनाउने हुन् र संसदमा को को प्रतिपक्षमा बस्न तयार हुने हुन् ? त्यसैले निर्वाचन परिणामबारे अहिले चर्चा नगरौं ।
अहिलेको अवस्थामा निर्वाचन हुनुनै पहिलो सर्त हो । कारण,सुशिला कार्की नेतृत्वको सरकार जसलाई निर्वाचन गराउने प्रयोजनका लागि संविधानलाई टेको थापेर निर्माण भएको हो । भदौरे आन्दोलनको भेलको बलमा सृजित राजनीतिक अन्यौल अब समाप्त हुने आशा गरौं । अब घायल संविधानले जीवन पाउँने वातावरण बन्ने छ । भदौरे विध्वँशको रापले राष्ट्रपति रामचन्द्र पौडेलललाई गलाउन नसकेको अवस्थामा हामी नेपाली प्रतिनिधिसभा निर्वाचनको यज्ञमा सामेल हुन सकेका हौं । अहिलेका लागि त्यो नै प्रमुख उपलब्धी हो । त्यस अर्थमा यस निर्वाचनको गहन महत्व छ ।
भनिन्छ, लोकतान्त्रिक व्यवस्थामा निर्वाचननै सबैभन्दा ठूलो अनुष्ठान हो । विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक हुनेगरेकोमा आज प्रतिनिधिसभाको मात्र चुनाव हुँदैछ । एउटा विशिष्ठ राजनीतिक माहौलबाट गुज्रिएको नेपालले निर्वाचनबाट आफ्ना प्रतिनिधि छान्ने छन् । भदौरे आन्दोलनबाट एकाएक जननिर्वाचित सरकार ढलेको र सरकार बनाउने प्रतिनिधिसभा समेत विघटन गरिएको एउटा अप्रत्याशीत राजनीतिक घटनाबाट निकास पाउँन यो मध्यावधी निर्वाचनले योगदान गर्ने छ त्यसैले, निर्वाचनले राजनीतिक अनिश्चितालाई तोड्दै मुलुकमा नयाँ आशा जगाउने अपेक्षा छ ।
यो निर्वाचनले जनताका आशा, आकक्षालाई सम्बोधन गर्नसक्ने योग्य, इमान्दार र सकुशल संसद जन्माउने छ भन्ने विश्वास गरौं । विगतका गल्ती नदोहो¥याउने, सत्तानै सर्वोपरी हो भन्ने मान्यता बदलिएर जनताले दिएको माण्डेटलाई आत्मसात गर्ने परिपाटी बस्न सक्यो भने ठूलो उपलब्धी मान्नुपर्ने हुन्छ ।
चुनावी राजनीतिमा खास गरेर प्रत्यक्ष निर्वाचनको चर्चा व्यापक देखिन्छ । परिणाम भने दुबै निर्वाचनको उत्तिकै महत्व रहन्छ । मतदाताले दुबै निर्वाचनमा सोचेर, आफूलाई सम्हालेर मत दिँदा राम्रो हुन्छ । नेपालले पार्टी पद्धतिमा आधारित राजनीतिक प्रणाली अख्तियार गरेकोले मतदाताले एउटै चुनाव चिन्हमा मत हाल्नु राम्रो हुन्छ र त्यस्तो मत विवेकसम्मत मत भन्न सकिन्छ । प्रत्यक्षमा स्वतन्त्र उमेदवार रोज्ने मतदाताको हकमा समानुपातिकमा आफूले रोजेको पार्टीलाई मत दिन सकिन्छ ।
निर्वाचनमा सबै खाले पार्टी र स्वतन्त्र उमेदवार मैदानमा छन् । जनताले कसकसलाई मतादेश दिन्छन् । त्यसै आधारमा भोलीका समिकरणहरु बन्ने हुन् । विगतका राजनीतिक समिकरण, राज्यसत्ता संचालन, शासकीय पद्धति र प्रयोगकाबारे प्रश्नहरु उठेका छन् । जनताबाट प्राप्त मतादेशबाट चल्ने एउटा संस्कारयुक्त पद्धती नेपालको संसदीय अभ्यासमा बसालिन जरुरी देखिएको हो । निर्वाचन भनेको बहुमतको खेल हो । २७५ सांसदका लागि भैरहेको यो चुनावबाट आउँने संसदमा बहुमत प्राप्त दलले सरकार गठन गर्ने र दोश्रो दलले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने एउटा भद्र सहमतिको राजनीतिक अभ्यास नेपालमा अत्यावश्यक देखिन्छ । तेश्रो चौथो मतादेशकाहरुसँग सत्ताको साँचो हुने र त्यसैले राजनीतिलाई घुमाउने अभ्यास अब दोहोरिनु हुँदैन । निर्वाचन भनेको सरकार चलाउने मतादेश हो, जनताको मतदेश अनुसार मुलुक चल्न सकोस् । यति हुनसक्यो भने पनि ठूलो उपलब्धी हुने । मतादेशको विकल्प छैन, हुनु पनि हुँदैन ।
तस्बिर : नवनिर्मित संसद भवन, सिंहदरवार परिसर ।
