पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्था प्रभावित हुने
अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ।
काठमाडौं, २० फागुन ।
अमेरिका, इजरेलले इरानमा आक्रमण गरेर, इराकका धार्मिक नेता आयोतोल्ला खुमेनीको हत्या गरेपछि खाडी क्षेत्रमा उत्पन्न तनावका कारण नेपालको अर्थतन्त्र र उपभोत्ता बजारमा असर पर्ने खतरा विज्ञहरुले औंल्याएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले अरबराज्यहरुमा देखिएको तनावबाट नेपाल प्रभावित हुने बताएका छन् । वाणिज्य विद्, पेट्रोलियम व्यवसायी र नेपाल राष्ट्र बैंकका प्रतिनिधि समेतको उपस्थितिमा नाफिजले अन्तरक्रिया सम्पन्न गरेको हो।
कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताए । ‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भूराजनीतिक तनाव, बाढी–पहिरो र अहिले इरान–इजरायल द्वन्द्वले फेरी अर्थतन्त्र प्रभावित हुने देखिन्छ,’ खरेलले भने, ‘आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौति थपेको छ ।’
खरेलले नेपालमा भित्रिने रेमिटेन्सको ३५ प्रतिशत खाडीका ४ देशबाट आइरहेको बताउँदै अहिलेको तनावले त्यहाँको रोजगारीमा असर गर्ने धारणा राखे । ‘ खाडी तनावले पर्यटनमा पनि असर पर्ने देखिन्छ ’ खरेलले भने ‘ खाडी देशलाई ट्रान्जिट बनाएर नेपालमा आउने पर्यटकको संख्या ठूलो छ । पर्यटन क्षेत्र पनि प्रभावित हुन्छ ।’

उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अर्थतन्त्रलाई लयमा आउने बाटोमा थियो । बैंकिङ्ग प्रणलीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिएपनि मध्यपूर्वको द्वन्द्वले फेरि चुनौती थपेको खरेलको भनाइ छ । यसले रेमिट्यान्स र बाह्य मुलुकमा नेपालीहरुको रोजगारीमा समेत असर पर्नसक्ने जोखिम रहेकाले यसलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनको धारणा छ ।कार्यक्रममा सहभागी वक्ताहरुले पश्चिम एसियाको द्वन्द्वबाट नेपालमा पर्न सक्ने प्रभाव र ध्यान दिनुपर्ने विषयहरुमा धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघको पारवहन समितिका सभापति एवम् पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताए । ‘सयम सयममा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ । यसर्थ, विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ,’ घिमिरले भने, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो । तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन ।’
अहिले भएको द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति श्रृंखलामा पनि समस्या पैदा गर्ने भएपनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ । केही दिन अगाडि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ।
यसैगरी, वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पूर्व तथा पश्चिम् एसियामा हाल चर्किएको द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । ‘पश्चिम एसियाली मुलुकहरुमा भइरहेको द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’
कार्यक्रममा नाफिज अध्यक्ष मेनुका कार्कीले द्वन्द्वका कारण नेपालको रोजगारी र आम्दानीमा दिर्घकालीन असर पार्नसक्ने बताइन् । ‘द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य र अन्य उपभोग्य सामाग्रीको आपूर्ति व्यवस्थालाई समेत ठूलो प्रभाव पार्नसक्ने सम्भावना देखिन्छ,’ कार्कीले भनिन्, ‘नेपालको पेट्रोलियम पदार्थ पूर्ण रुपले भारतसँग निर्भर छ । भारतले पनि बाह्य देशबाटै कच्चा तेल आयात गर्दछ । यसकारण हाम्रो देशमा पनि त्यसको असर पर्न सक्छ ।’
तस्बिर : नाफिज
