परीक्षामा छन आम मतदाता : घायल संविधान जोगाउने कि मास्ने ?
जनताका हातहरुले एक दशक लगाएर बनाएको संविधान परिमार्जन गर्ने सोचहरु पनि छन् सँगै यो संविधान मासेर मुलुकलाई अधिनायकत्वमा फर्काउने चेष्टाहरु पनि छन् । यस्तो विषम परिस्थितिबीच अहिले मुलक मतदाताको जिम्मामा छ, परीक्षामा छन् आम मतदाता ।
समाचार विश्लेषण
चार दिन पछि निर्वाचन हुँदैछ । यो मध्यावधी निर्वाचनबाट प्रतिनिधिसभा चुनिने छ । भदौरे जेनजि अभियान र अभियानको पृष्ठभूमिमा रचिएको विध्वंशको मूल्यमा हुन गैरहेको चुनावको परिणाम के हुने हो ? राजनीतिका प्रमुख पात्र को को विजयी हुने हुन् ? कसकसले पराजयको सामना गर्नुपर्ने हो ? अनिश्चय छ । मत परिणामसँग जोडिएका यि विषयलाई फागुन २१ मा हुने निर्वाचनले स्पष्ट गर्ने छ ।
निर्वाचन आफैमा राजनीतिक अभ्यास हो । यसको प्रमुख ध्येय सरकार चलाउने, संसदबाट सरकार चलाउने ऐन नियम बनाउने हो ? फागुन २१ पछि आउँने मत परिणामले कसलाई सिंहदरबार सुम्पने हो ? अहिले मुलुकमा अन्तरिम सरकार छ । भदौरे आन्दोलनको पृष्ठभूमिबाट आएको यो सरकारको प्रमुख जिम्मेवारी निर्वाचन गराउने हो । प्रशासनिक जिम्मेवारी चुनाव गराउनु हो । त्यो सबैको नजरमा छदैं छ । निर्वाचन हुने अवस्था पनि आयो । शंकाको सुविधा दिदैं सुशिला कार्की नेतृत्वले प्रमुख जिम्मेवारी पुरा गर्न लागेकोमा धन्यवाद भनौं ।
आसन्न निर्वाचन मध्यावधी हो, सामान्य चुनाव हुँदै होइन । पछिल्ला केही महिनादेखिका राजनीतिक सघर्षहरु, विध्वंशहरु र राजनीतिको सतहमा आएका पात्र र प्रवृतिहरुको आलोकमा चुनावको उदेश्य र ध्येयको विवेचना गर्नुपर्ने हुन्छ । नेपालको संविधान अहिले घायलमात्र भएको हो । र,आउँने संसदलाई घायल भएको संविधानलाई निको पार्ने र यसलाई चलायमान बनाउनुपर्ने प्रमुख राजनीतिक जिम्मेवार छ ।
यस्तो जिम्मेवारी निर्वाह गर्न जनताले कसलाई म्याण्डेट दिने हुन् ? निर्वाचनबाट कुन राजनीतिक पार्टी पहिलो हुने हो ? को प्रधानमन्त्री हुने हो ? प्रधानमन्त्रीको उमेदरवार तोकेर निर्वाचनमा होमिएका छन् प्रमुख राजनीतिक दल । कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । उनी मधेशको सर्लाही ४ बाट उमेदवार बनेका छन् । काठमाडौं ४ छोडेर सर्लाही ४ मा उमेदवार बनेका उनी अहिलेसम्मको राजनीतिक माहौलको आधारमा सुरक्षित देखिन्छन् ।
एमालेले पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा मैदानमा उतारेको छ । उनी आफ्नो थातथलो झापा ५ बाट उमेदवार बनेका छन्, विगतमा सधै विजयी हुँदै आएका पनि हुन् । यता रास्वपाले काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह(बालेन)लाई प्रधानमन्त्रीको उमेदवार बनाएको छ । रणनीतिकरुपमा झापा ५ बाट उमेदवार बनेका बालेन खासमा आफू विजयी हुन त्यहाँ पुगेका हुन् वा एमाले अध्यक्ष ओलीलाई पराजित गर्ने मुख्य उदेश्यले झापा झरेका हुन् ? झापा ५ को निर्वाचन परिणाम र त्यसपछिका राजनीतिक अभ्यासबाट स्पष्ट हुँदै जाने छ ।
चुनावी माहौलको आधारमा विवेचना गर्दा नेपाली कांग्रेस, एमाले, रास्वपा प्रमुख प्रतिस्पर्धी देखिएका छन् । यसबाहेक, पुष्पकमल, माधवकुमार नेपाल नेतृत्वको नेकपा, राप्रपा दल पनि केही स्थानमा प्रतिस्पर्धामा छन् । मधेशमा जसपा लगायत पार्टीहरु, प्रलोपा, उज्यालो पार्टी, श्रमिक पार्टी लगायतका पार्टीहरु पनि संसदमा उपस्थिति देखाउने कसरतमा देखिन्छन् ।
यो चुनावमा तीनवटा प्रमुख पार्टीका तीनखाले चरित्र सार्वजनिक भएका छन् । एमाले यथास्थितिवादी चरित्रको प्रतिनिधित्व गरिरहेको छ, नीति र नेतृत्व दुबै आधारमा । भदौ २३ लाई प्रहरी कारवाही मात्र हो भन्न रुचाउने र भदौं २४ को विध्वशलाई देशिविदेशी षडयन्त्र भन्ने एमालेको निचोडकै वरिपरि रहेर उसका चुनावी नीतिहरु बनेका छन्, घोषणापत्रको भाषा र भावना पनि त्यसकै वरिपरि देखिन्छ ।
आफू प्रधानमन्त्री बन्न नपाउँने अवस्थाको आँकलन गर्दे बालेनलाई प्रधानमन्त्री अफर गरेका हुन् रबिले ? प्रधानमन्त्रीको अफरको राजनीतिलाई सामान्य अर्थमा लिनु गलत हुने छ । कारण, बालेन नेपालको संसदीय राजनीतिमा उदाएका रहस्यमयी पात्र हुन् ।
देशभर सांगठनिक आधार भएको एमाले, अहिले आफ्ना अध्यक्षलाई जिताउन कम्मर कसेर लागेको छ । नेपालको राजनीतिमा लामो समयदेखि बलियो पकड र प्रभावशाली पार्टी संगठन संरचनामा क्याडेरवेस्ड पार्टी कार्यकर्ताको ठुलो आकारले सम्पन्न एमाले वर्तमानमा पुराना पार्टीको दर्जामा दरिएको छ — खास गरेर सामाजिक संजालको नियोजित प्रचारका माध्यमबाट । पार्टी अध्यक्ष ओली जो महाधिवेशनबाट तेश्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्, पार्टी विधानको व्यवस्थालाई परिवर्तन गर्दे । मुलुकभर परिवर्तनको आवाज फैलिरहेको समयमा सम्पन्न एमालेको ११ औं महाधिवेशनले परिवर्तनलाई सम्बोधन गर्ने भन्दा परम्परा र यथास्थितिलाई बल पुग्ने नेतृत्व चयन गरेको आरोप पार्टी माथि लाग्दै आएको छ ।
अर्को चरित्र, रास्वपा हो । सांगठनिक आधार कमजोर रहेको तर सामाजिक संजालबाट राज गरिरहेको रास्वपा, अघिल्लो निर्वाचनमा वैकल्पिक राजनीतिको एउटा बलियो धार थियो । यसपटक प्रमुख धार मध्येको एक बन्न पुगेको छ । आरोप, प्रत्यारोप, आलोचना, आवेग र आक्रोसले सम्पन्न रास्वपाको चुनावी राजनीतिको मुख्य कडि नयाँ र पुरानोको मुद्धा बनेको छ ।
जेनजि आन्दोलनको नाममा विध्वंश मच्चाउनेहरु कतिपय रास्वपाबाट उमेदवार बनेका छन् । जसलाई सामान्य अर्थमा लिन मिल्दैन । २४ गते मुलुकभर विध्वंश मच्चाउनेहरुको छानविनलाई नियोजितरुपमा निषेध गरिएको र विध्वंशमा संलग्नहरु छाति फूलाएर उमेदवार बनेको अवस्थालाई सामान्य अर्थमा लिन मिल्दैन ।
रास्वपाको नायक बनेर बालेन्द्र शाह उदाएका छन् । बालेन्द्रलाई प्रधानमन्त्रीको अफर किन ? के त्यत्ति धेरै उदारमना हुन् रबि ? रबि यसपटक चितवन २ बाट उमेदवार छन् । सहकारीका हजारौको रकम अपचलनको आरोपमा थुनामा रहेका उनी वर्तमान सुशिला सरकारको उदारमना राजनीतिकै कारण थुना बाहिर निस्किएर निर्वाचनमा होमिएका छन् । कानूनविदहरुका अनुसार उनी निर्वाचित भएर आएको अवस्थामा सांसदकोरुपमा प्रतिनिधिसभामा सहभागि हुन पाउँदैनन्, मन्त्री, प्रधानमन्त्री हुने कुरा झन टाढा हो । आफू प्रधानमन्त्री बन्न नपाउँने अवस्थाको आँकलन गर्दे बालेनलाई प्रधानमन्त्री अफर गरेका हुन् रबिले ? प्रधानमन्त्रीको अफरको राजनीतिलाई सामान्य अर्थमा लिनु गलत हुने छ । कारण, बालेन नेपालको संसदीय राजनीतिमा उदाएका रहस्यमयी पात्र हुन् ।
भदौरे आन्दोलन पछिको अन्यौलग्रस्त, एक किसिमको शुन्यताले छाएको समयमा नेपाली सेनाको नियन्त्रणमा थियो मुलुक । सेना प्रमुख अशोकराज सिग्देलले आन्दोलनका स्टेकहोल्डर मानेका एउटा पात्र हुन् बालेन । त्यसो त, चैत १५ गते राजा फर्काउने आन्दोलनका कमाण्डर दुर्गा प्रसाई जो त्यसै दिन नेपालको संसदमा जाइलाग्न चाहन्थे । तीनकुने, कोटेश्वर, जडिबुटी लगायतका क्षेत्रमा आगजनी, हिंसा फैल्याएर राजा फर्काउन असफल नायक प्रसाई पनि सेनाको स्टेकहोल्डर मै थिए । अर्का राजनीतिक खेलाडि डा.बाबुराम भट्टराई जो गोरखाबाट दिइसकेको उमेदवारी त्यागेर अहिले रास्वपाको अभिभावक बन्न पुगेका छन् यतिखेर । यी तिनैजनाको सिफारिसबाट सुशिला कार्की प्रधानमन्त्री बनेकी हुन् । जेनजि आन्दोलनको नाममा विध्वंश मच्चाउनेहरु कतिपय रास्वपाबाट उमेदवार बनेका छन् । जसलाई सामान्य अर्थमा लिन मिल्दैन । २४ गते मुलुकभर विध्वंश मच्चाउनेहरुको छानविनलाई नियोजितरुपमा निषेध गरिएको र विध्वंशमा संलग्नहरु छाति फूलाएर उमेदवार बनेको अवस्थालाई सामान्य अर्थमा लिन मिल्दैन । यो भन्दा बिडम्बना के हुनसक्छ ? लोकतान्त्रिक राजनीतिमा ।
तेश्रो पक्षको नेतृत्व कांग्रेसले गरेको छ ।विशेष अधिवेशन आयोजना गरेर कांग्रेसले नेतृत्व पनि बद्लिएको, नीति पनि बद्लिएको छ । उसको प्रमुख नारा नै ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने छ । देश बद्लने योजनाहरुको फेहरिस्तसहित । सबै भन्दा पुरानो लोकतान्त्रिक आन्दोलनहरुको विरासत बोकेको कांग्रेस यतिखेर जेनजि आन्दोलनको भावनालाई समेटेर अगाडि बढेको बताइरहेको छ । कांग्रेसका परिवर्तनका आवाजहरुले अहिलेको सामाजिक संजालको कोलाहल चिर्न भने सकिरहेको छैन । मुलुकभर संगठन भएको,पार्टीका आन्तरिक मतमतान्तर न्यून हुँदै गएको र लाखापाखा लागेका कांग्रेसजनहरु पनि समेटिदंै गएको कांग्रेसले मुलुकलाई मार्ग निर्देश गर्नसक्छ भन्ने भरोसा जगाउन सक्नुपर्दछ । दुई आपसमा विपरित, विभाजित, विवादित पार्टीहरुको बिचमा उभिएको छ काग्रेस र भन्दैछ ‘सबै अटने देश सबैलाई जोड्ने कांग्रेस।’
चुनावको संघारमा कुन पार्टी ठिक ? मतदाताहरुले विवेकसम्मत विवेचना गर्ने समय हो अहिले । हाम्रो निर्वाचन प्रणालि र विगतका केही निर्वाचन परिणामको आधारमा भन्न सकिन्छ ? कुनै पार्टीको एकल बहुमत संभव देखिन्न । त्यो भनेको २ सय ७५ सांसदमा १ सय ३८ सिट ल्याउँन सक्यो भनेमात्र त्यो एकल बहुमत हुन्छ ।
हाम्रो यस्तो राजनीतिक धरातलबीच कसको अगुवाई भयो भने मुलुकको राजनीतिले सहि दिशा प्रक्रनसक्छ ? यो प्रश्नको उत्तर खोज्नुपर्दछ मतदाताहरुले ।
चुनावी माहौलमा के गर्देछन्, को कसरी प्रस्तुत हुँदैछन्, त्यो एउटा पक्ष हो । भोली तीनवटै पक्ष कुनै न कुनै रुपमा सत्ता र प्रतिपक्षमा विभाजित हुनुपर्ने हुन्छ ।उत्तेजक, यथास्थितिवादी र मध्यमार्गिका तीनवटै धार आपस मिलेपछिमात्र घायल संविधान लिकमा आउँनसक्छ ।सरकार बन्ने बनाउने र संविधानलाई परिमार्जन गर्ने कुरा फरक फरक हो ।
पार्टीहरुले घोषणापत्रमा राजनीतिबारे के भनेका छन्, त्यस आधारमा उनीहरुको राजनीतिक योजना बुझौं ।
नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा भनेको छ ‘हामी संविधानले लिपिवद्ध लोकतन्त्र, गणतन्त्र, संघीयता नागरिक सर्वोच्चता, बहुलवाद, संसदीय व्यवस्था, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायापालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत सारभूत मूल्य मान्यताप्रति पूर्ण प्रतिवद्ध छौं ।’ प्रतिज्ञापत्रमा संविधानको गतिशिल कार्यान्वयन कांग्रेसको उदेश्य भनिएको छ ।
पार्टीहरुले,उमेदवारहरुले प्रचार सक्दैछन् । मौनअवधि सुरु हुँदैछ । अब पालो मतदाताहरुको । मत कुनै एउटा पार्टीलाई दिनुहोस्, प्रत्यक्षमा एउटालाई, समानुपातिकमा अर्कोलाई होइन । किनभने हाम्रो राजनीतिक व्यवस्था पार्टी पद्धतिमा आधारित छ ।
एमालेले आफ्नो घोषणापत्रमा भनेको छ ‘हामी घाइते लोकतन्त्रलाई सग्लो र सदा अनतिक्रम्य जनताको परिपूर्ण लोकतन्त्र (Comprehensive Democracy) बनाउने घोषणा गर्दछौं । हामी परिपूर्ण लोकतन्त्रसहितको नेपाली विशेषताको समाजवाद निर्माण गर्न चाहन्छौं ।
रास्वपाले आफ्नो वाचापत्रमा सरकार बनेको तीन महिना भित्र संविधान संशोधन बारे ‘बहसपत्र’ तयार गर्ने र छलफलका क्रममा निम्न अवधारणाहरु पेश गर्ने भनेको छ ‘प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, सांसद मन्त्री हुन नपाउँने व्यवस्था, गैर दलिय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरुप ।
मुलुकको संविधान घायल छ । वर्तमान संविधान फालेर नयाँ राजनीतिक प्रणालीको पक्षमा आन्दोलनहरु भैरहेका छन्,आउँदा दिनहरुमा पनि त्यसमा कमि हुने देखिन्न । भदौरे आन्दोलनको पृष्ठभूमिमा पुग्दा राष्ट्रपति रामचन्द्र पौडेलको अडानकै कारण अहिलेको संविधान जिवित भएको हो । चैत १५ हुँदै भदौं २४ सम्म आइपुग्दा नेपालको राजनीतिमा खेल्ने एउटा पक्ष जनताको अनुमोदनबाट अधिनायकवाद स्थापना गर्ने उदेश्यमा योजनावद्ध भएर लागिरहेको देखिन्छ । कतै यो निर्वाचनको परिणाम त्यस्तो मनसाय पुरा गर्ने माध्यम नबनोस् ।
पार्टीहरुले,उमेदवारहरुले प्रचार सक्दैछन् । मौनअवधि सुरु हुँदैछ । अब पालो मतदाताहरुको । मत कुनै एउटा पार्टीलाई दिनुहोस्, प्रत्यक्षमा एउटालाई, समानुपातिकमा अर्कोलाई होइन । किनभने हाम्रो राजनीतिक व्यवस्था पार्टी पद्धतिमा आधारित छ ।
२०४६ को राजनीतिक परिवर्तन पछिका निर्वाचनहरुको हिसाव गर्दा आसन्न निर्वाचन आठौं हो । २०४८ देखि ५६ सम्मका तीनवटा संसदीय निर्वाचन, दुईवटा संविधानसभा निर्वाचन, संविधान निर्माणपछिका २ वटा समेत गरेर ७ पटा निर्वाचनको अनुभव छ नेपालीसँग । यतिलामो राजनीतिक चुनावी अभ्यासले नेपालीजनलाई परिपक्व बनाएको मान्नुपर्ने हुन्छ ।
अहिलेको मुख्य राजनीतिक समस्या भनेको संविधान घायल बनेको छ । जनताकाहातहरुले एक दशक लगाएर बनाएको संविधान परिमार्जन गर्ने सोचहरु पनि छन् सँगै यो संविधान मासेर मुलुकलाई अधिनायकत्वमा फर्काउने चेष्टाहरु पनि छन् । यस्तो विषम परिस्थितिबीच अहिले मुलक मतदाताकोको जिम्मामा छ, परीक्षामा छन् आम मतदाता ।
तस्बिर: भक्तपुर मध्यपुर नगरपालिका ६,पाचो मतदान केन्द्रमा मतपेटिका लग्दै कर्मचारी ।
