परिवर्तनका युवा आवाजलाई कांग्रेसले सम्बोधन गर्छ:विश्वप्रकाश
काठमाडौं, १७ फागुन ।
कांग्रेसका उपासभापति विश्वप्रकाश शर्माले परिवर्तनको आवाजलाई नेपाली कांग्रेसले सम्बोधन गर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस भक्तपुर क्षेत्रं नं २ ले मध्यपुर ६,पाचोमा आयोजना गरेको अन्तिम चुनावी सभाका प्रमुख वक्ता शर्माले कांंग्रेसले आफैले आफुलाई परिवर्तन गरेर नवयुवाका माग पुरा गर्न अग्रसर भएको बताए ।

वृहत सभालाई सम्बोधन गर्दे शर्माले जेनजिहरुका प्रमुख माग शासनमा, सरकार र विकासमा परिवर्तन हो भन्दै त्यस्तो चाहना पुरा गर्न कांग्रेस तयार भएको बताए । ‘सबै परिवर्तन एकै पटक हँुदैन, समय लाग्दछ, तर परिवर्तनको सुरुवात कसले गर्यो त्यो महत्वपूर्ण कुरा हो’शर्माले भने ‘कांग्रेस विशेष महाधिवेशन गरेर नीति र नेतृत्व दुबैमा बदलिएर आएको छ ।’
शर्माले परिवर्तनको सुरुवात आफैबाट सुरु गरेको बताउँदै भने ‘कांग्रेस बदलिएर आएको छ, जो बदलिनसक्छ, त्यसले बदल्नसक्छ ।’
नेपाली कांग्रेस सबै भन्दा पुरानो पार्टी भएको चर्चा गर्दे शर्माले भने ‘हामी सबै भन्दा पुराना हौं, हाम्रा अग्रजहरुले गरेका कामहरुमा हामी गर्व गर्छो ।’
शर्माले नेपालमा विकासका काम गर्ने शैली र समयमा परिवर्तन आवश्यक रहेको बताए । कांग्रेस प्रतिज्ञापत्रमा नेपाल अब राती पनि जाग्ने कुरा राखेको चर्चा गर्दे शर्माले भने ‘समयमा बाटो बनेन् भने श्रमिक, ठेकेदार, इन्जिनीयलाई रुखमा वाध्ने काम कांग्रेसले गर्देन ।‘ धनी देश बेलायत राती पनि बाटो बनाउने काम गर्दछ, गरिब देश नेपाल साँझ परेपछि काम गर्देन’ शर्माले भने ‘अलिअलि वासा लगाएर होस् वा नलगाएर होस, हामी सुत्छौं ।’
शर्माले डाक्टर, नर्सले दिनरात सेवामा तत्पर भएजस्तै इन्जिनीयर, श्रमिक पनि दिनरात काममा लाग्नुपर्ने ८, ८, ८ घण्टाको नियममा चल्नुपर्ने बताए । नेपालमा ३० वर्षमा केही विकास भएको छैन भन्दै विरोधीले प्रश्न उठाउने गरेको बताउँदै शर्माले भने ‘तीस वर्षमा केही भएन भन्ने होइन, केही काम भएका छन्, १० वर्षमा हुने कामलाई ३० वर्ष लागेको हो, अब ३० वर्षमा हुने काम १० वर्षमा गनुपर्दछ भन्ने हाम्रो मान्यता हो ।’

सभामा नेपाली कांग्रेसका उमेदवार कविर राणाले क्षेत्र नं २ का दुईवटा नगरपालिकाहरुको फरक फरक विशेषता रहेको बताए । ‘सूर्यविनायक नगरपालिकाका डाडाँ पाखामा निजी क्षेत्रसँग समन्वय गरेर होटल, रिसोर्ट चलाउन सकिन्छ, धार्मिक पर्यटकका संभावना पनि उत्तिकै छ’ राणाले भने ‘ मध्यपुर नगरपालिका मन्दिरै,मन्दिर, पोखरीनै, पोखरी, जात्रौजात्रा,सास्कृतिक विशेषताले भरिपूर्ण छ, यहाँ पर्यटनको विकास गर्न सकिन्छ, होमस्टे जस्ता पर्यटनका कार्यक्रम संचालन गर्न सकिन्छ ।’भक्तपुरको भौतिक, सास्कृतिक, सामाजिक र विकासका काममा आफू लागिपर्ने विश्वास व्यक्त गरे ।
सभामा भक्तपुर कांग्रेसका सभापति एवं निवर्तमान सांसद दुर्लभ थापाले भक्तपुर २ को गर्विलो इतिहास कायम राख्न अनुरोध गर्दे भने ‘ कबिरको जित सुनिश्चित गर्न मध्यपुर पाचोमा जम्मा भएका छौं । नेपालको राजनीतिक अवस्था संवेदनशील रहेको धारणा राख्दै थापाले नेपाललाई नेपालै बनाउने गरी काम गुर्नपर्ने आवश्यकता औंल्याए ।
निर्वाचन प्रचार प्रसार समितिका संयोजक एवं भक्तपुर कार्यसमितिका सदस्य सुरेन्द्र केसीले मुलुक अप्ठारो अवस्थाबाट गुज्रिरहको चर्चा गर्दे यस्तो संकटबाट कांग्रेसले मात्र मुलुकलाई उतार्नसक्ने बताए । ‘अहिलेको यो संविधान जोगाएको कांग्रेसले हो’ केसीले भने ‘ यदी यसरी जोगिएको थिएन भने हामी यहाँ यसरी जम्मा हुन सक्तैनथ्यौं ।’
सभामा भक्तपुर कांग्रेसका पूर्व सभापति महेश श्रेष्ठ, कांग्रेस भक्तपुर जिल्ला उपसभापति उर्मिला वन, मध्यपुर कांग्रेस नगर समितिका सभापति हरिदास प्रजापति, मध्यपुर नगरपालिकाका पूर्व उपमेयर मुरारीप्रसाद आचार्य, युवा इन्जिनीयर विष्णुलाल थापा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा १ सय ७० भन्दा बढी नवयुवाहरु कांग्रेसमा आवद्ध भएका घोषणा गर्दे पार्टीमा स्वागत गरिएको थियो ।
भक्तपुर २ निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधरको समापतित्वमा सम्पन्न सभाको संचालन नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति निशान ढुंगेलले गरेका थिए ।
