कम महिला साक्षरता,धेरै मत बदर : मतदाता शिक्षामा जोड
काठमाडौँ, १५ फागुन ।
सप्तरीको सप्तकोशी नगरपालिका–२ की मतदाता शिक्षा स्वयंसेविका रुपा देवकोटा गत शुक्रबार बिहानै मतदाता शिक्षा सिकाउने उद्देश्यले मुसहर बस्ती पुगिन । एकाबिहानै बस्तीमा पुग्दा पनि बस्तीका प्राय झुपडीमा ताल्चा लागेको थियो ।
त्यसपछि उनी त्यतैबाट अर्को बस्तीतर्फ मोडिइन , तर फेरि उक्त बस्तीमा एकपटक भए पनि पुग्ने योजनामा उनी छन् । अरु समुदायमा महिला मतदातालाई मतदाता शिक्षा दिन सजिलो छ, मुसहर बस्तीमा त्यति सजिलो नभएको उनी बताउँछिन । देवकोटा भन्छिन् “दिउँसो मान्छे नभेटिएलान भनेर बिहानै गएको थिएँ, बिहान झन् सबै जना मजदुरी गर्न निस्किने रहेछन् ।”
शिक्षिकासमेत रहनुभएकी उनले बाटोमै भेटिएका मुसहर समुदायका महिलालाई मतदाता शिक्षा दिने गरेको बताइन । तर, कामको चपेटाले गर्दा उनीहरुले ध्यान नदिने र मतदाता शिक्षाबारे सुन्न, सिक्न नचाहने गरेको उनको भनाइ छ । “एक, दुई जना महिलालाई बोटोमै भेटेर मतदाता शिक्षाको नमुना सिकाउने प्रयास गरेँ, तर बस्तीमा फेरि नगई हुँदैन भन्ने लागेको छ । बस्तीमा जाँदा मान्छे नभेटिने समस्या छ”, देवकोटा भन्छिन् ।
विगतका प्रतिनिधिसभा निर्वाचनमा पनि मतदाता शिक्षा स्वंसेविकाको अनुभव बटुल्नुभएकी देवकोटाले नमुना मतपत्रमा छाप लगाउन जानेकाले पनि कतिपयले मतपत्र पट्याउने तरिका नजान्दा मत बदर हुने गरेको बताउँछिन । त्यसैले पट्याउने तरिका सिकाउनमा आफूले जोड दिएको उनको भनाइ छ ।
डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–३ का मतदाता शिक्षा स्वंयसेविका पार्वती पनेरु पनि हिजोआज मतपत्र बोकेर कहिले खेतमा त कहिले मेलापातमै पुगिरहेकी छन् । महिला मतदातालाई एकै ठाउँमा भेला पार्न समूहमा मतदाता शिक्षाबारे सिकाउने उनको चाहना भए पनि त्यो सम्भव नभएको अनुभव छ । “घाँसदाउरा र खेतीपातीमै व्यस्त हुने भएकाले उहाँहरु जहाँ हुनुहुन्छ, त्यहीँ पुगेर मतदाता शिक्षा दिने प्रयास गरिरहेकी छु”, पनेरु भन्छिन् “कहिलेकाहीँ बाटो छेकेरै भए पनि मतदाता शिक्षाबारे सिकाउनुपर्छ ।”
गाउँमा धेरैमा १० जनासम्म भेला पार्न सकिने र कतिपय अवस्थामा त एक दुई जना भेट्नसमेत गाह्रो हुने गर्छ । यद्यपि मतदाता शिक्षा दिन घरदैलो गर्दै आएको उनले बताइन । सुरुमा मतदानबारे सबै प्रक्रिया आउँछ भन्ने जवाफ पाए पनि नमुना मतपत्र पट्याउन दिँदा गल्ती गर्ने गरेको उनको भनाइ छ । त्यसपछि अधिकांशलाई मतपत्र पट्याउन सिकाउने गरेको पनेरुले बताइन।
डडेलधुरा जिल्ला निर्वाचन कार्यालयका मतदाता शिक्षा स्वयंसेवक संयोजक भवानी दत्त भट्टका अनुसार जिल्लाका ५२ वडामा स्वयंसेवक परिचालन गरिएको छ । जसमा एक जना पुरुषबाहेक सबै महिला छन् ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा मत बदर हुने दर घटाउन मतदाता शिक्षामा जोड दिएको छ । विगतका निर्वाचनको बदर मतको तथ्याङ्क विश्लेषण गर्दा महिला साक्षरता कम भएको ठाउँमा बदर मत बढी हुने गरेकाले महिला मतादातामा मतदाता शिक्षामा विशेष ध्यान दिनुपरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
आयोगका सहसचिव राजेन्द्र केसीले महिला साक्षरता कम भएकै स्थानमा महिला मतदाताबाट बढी मत बदर हुने गरेको अनुमान गरिएको बताए । उनका अनुसार विसं २०७८ को जनगणनाको तथ्याङ्कमा मधेश प्रदेशमा महिला साक्षरता सबैभन्दा कम ५४ दशमलव ७० प्रतिशत छ । सोही तथ्याङ्कलाई आधार मानेर तुलना गर्दा विसं २०७४ र त्यसअघिका निर्वाचनमा बदर मतको प्रतिशत अन्य प्रदेशको तुलनामा ५ दशमलव ४६ प्रतिशतले उच्च रहेको थियो ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा महिला साक्षरता ६५ दशमलव ५० प्रतिशत छ । राष्ट्रिय रुपमा औसत मत बदरको अनुपातमा सुदूरपश्चिममा बदर मतको दर ५ दशमलव ७० प्रतिशत रहेको थियो । बागमती प्रदेशमा भने महिला साक्षरता सबैभन्दा बढी अर्थात ७५ दशमलव २० प्रतिशत छ । त्यसैअनुसार बदर मत दर पनि सबैभन्दा न्यून ४ दशमलव १६ प्रतिशत रहेको थियो । गण्डकी प्रदेशमा पनि महिला साक्षरता ७३ दशमलव ८० प्रतिशत रहेकामा बदर मत प्रतिशत तुलनात्मक रुपमा कम अर्थात ४ दशमलव ६३ प्रतिशत रहेको सहसचिव केसीले बताए ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । जसमध्ये ९२ लाख ४० हजार १३१ महिला छन् भने ९६ लाख ६३ हजार ३५८ पुरुष छन् । अन्यमा दुई सय मतदाता छन् । विसं २०७९ को निर्वाचनको मतदाताको तुलनामा यस वर्ष नौ लाख १४ हजार १२१ मतदाता थपिएका छन् ।
तस्बिर: मतदाता शिक्षा दिइँदै। दाङको घोराही उपमहानगरपालिका–१८ स्थित फुर्सेखालीको गोदावरी टोलका स्थानीयलाई मतदाता शिक्षा दिँदै मतदाता शिक्षा स्वयंसेवक। तस्बिर कुलदीप न्यौपाने / रासस ।
