फूटबल कप्तान साम्बाको उपचारमा कांग्रेसले दियो पाँचलाख
काठमाडौं, १२ फागुन ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको उपचारका लागि नेपाली कांग्रेसले ५ लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं. ३४४०१०१०००११३७ मा रू. ५,००,०००।– पाँच लाख रुपैयाँ जम्मा गरिएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रकाशीत विज्ञप्तिमा भनिएको छ ‘ साम्बाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा हुनुहुन्छ । उहाँको उपचारमा सहयोग पु¥याउनु हामी सबैको कर्तव्य हो ।’
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले— देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गर्नु भएका प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उहाँलाई साथ दिन जरुरी छ— भनेका छन् । साथै, सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपाली कांग्रेस खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउने सङ्कल्प गर्दछ ।
