खेती किसान हराएको मेरो देश : कसलाई भोट हाल्नु ?
काठमाडौंबाट भैरहवा हुँदै अयोध्या, लखनउ र कानपुरसम्मको यात्राले एउटा गहिरो प्रश्न मेरो मनमा रोपिदियो । हामी कुन दिशातर्फ देशलाई लैजाँदैछौँ ?
नेपालतर्फ हेर्दा राजमार्ग छेउछाउका खेतबारीहरू बाझो देखिन्छन, कतै प्लटिङका नाममा खण्डहर बनेका छन, कतै खेतीको नामोनिसान छैन। गाउँ र शहरको सीमामा जमिन माटो होइन, व्यापारको वस्तु बनेको छ । खेती गर्ने किसान हराउँदैछन , खेतहरू अनावश्यक घरघडेरीमा बदलिँदैछन , र हामी विकासको नाममा जमिनको , माटोको आत्मा बेचिरहेका छौँ।
तर सुनौली नाका पार गरेपछि दृश्य एकाएक बदलिन्छ। अयोध्या, लखनउ, कानपुरसम्म करिब छ सय किलोमिटर यात्रा गर्दा कतै खाली जमिन देखिँदैन। अहिलेको सिजनमा गहुँ, तोरी, सरसोंले सम्पूर्ण भूमि हरियो बनाएको छ। राजमार्गमा यात्रा गर्दा आँखा तृप्त हुन्छ, मन शान्त हुन्छ, आत्मा नै हरियालीसँग संवाद गर्नथाल्छ । छिमेकी देशमा जमिन केवल सम्पत्ति मात्र होइन — सभ्यता हो , जीवन हो , र राष्ट्रिय शक्ति हो।
यसले एउटा कठोर सत्य उजागर गर्छ : राजनीति किसानविहीन हुँदा राष्ट्र पनि निर्जीव बन्छ ।
जमिन खेतीविहीन हुँदा लोकतन्त्र पनि खोक्रो हुन्छ , भोकै हुन्छ ।
हामीले अहिले कसलाई भोट दिइरहेका छौँ ?
भोट राजनीति व्यवसाय बनाएका बज्रस्वाठ नेताहरूलाई ? कि आफ्नो खेतमा पसिना बगाउने किसान र मजदुर , नागरिकको समस्या बुझ्न सक्ने उन्नत नेतालाई ?
यदि राजनीति जमिनसँग जोडिएको छैन , बिकास र सुसासन सङ जोडिएको छैनभने त्यो राजनीति सत्ताको खेल मात्र हो।
यदि नेता नागरिक र किसानको भावना बुझ्नसक्ने होइन भने त्यो नेता राष्ट्रनिर्माता होइन , केवल एक दलाल हो ।
यसैले मैले निर्णय गरेको छु ,
अब म किसानलाई भोट दिन्छु । म खेत जोत्ने हातलाई भोट दिन्छु । म अन्न उमार्ने बुद्धिलाई भोट दिन्छु । म माटोसँग जोडिएको चेतनालाई भोट दिन्छु।
किनकि ,
जसले खेत जोगाउँछ , उसले देश जोगाउँछ।
जसले माटो बचाउँछ , उसले सभ्यता बचाउँछ।
हामीले आज जमिन गुमायौँ भने भोलि हाम्रो पहिचान पनि गुम्छ।
हरियाली हरायो भने लोकतन्त्र पनि मरुभूमि बन्छ।
अब चुनाव केवल नेता छान्ने प्रक्रिया होइन , माटो, किसान र बिकसित भविष्य छान्ने ऐतिहासिक अवसर हो , यसलाई बुझेर , जानेर मात्र उपयोग गरौ , आफ्नो अमुल्य मतलाई सदुपयोग गरौ ।
अहोभाव , प्रेम देखि परमात्मा सम्म ।
जय श्रीकृष्ण 
