बेलबारी, मोरङ ५ फागुन । बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री गर्दे आएकी छन् ।

मकै पोलेरै जीविका चलाउँदै आएकी उनलाई सो काममा श्रीमान् र छोरीको साथ छ । उनका अनुसार रु २५ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि प्रतिघोगा रु ५० मा बिक्री भइरहेको छ । प्रमिलासँगै मकै पोल्नुहुने कानेपोखरी–५ की दुुर्गामाया तामाङ भन्छिन, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुन्छ । पछिल्ला केही वर्षयता भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदो छ ।”

बेलबारी–१० भाउन्नेका रमेश कुँवरले पनिं सोही स्थानमा मकै पोलेर बिक्री गर्दै र्आएका छन् । घरमै होटल व्यवसाय सञ्चालन गरेका कुुँवरले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेको बर्ताए । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांश सार्वजनिक यातायातले यहाँ रोकेका बेला यात्रीले पोलेको मकै किनेर खाने र निजी सवारीमा यात्रा गर्नेले पनि पोलेको मकै खानकै लागि आउने गरेका छन्।

सुुनसरीको इटहरी घर भएका अनिल सुुब्बा उर्लाबारी पुुगेर फर्किएपछि परिवारसहित भाउन्नेमा गाडी रोकेर मकै पोल्न भने । मकै खाँदै अनिल भन्छन् “यहाँको मकैको स्वादै बेग्लै, पोलेको मकै रुचाउनेका लागि यहाँ उचित मूल्यमा ताजा मकै खान पाइन्छ”, मकै पोलुुञ्जेल थकाइ पनि मर्ने उनी बताउँछन् । केही वर्षयता यस स्थानमा पोलेको मकै रूचाउनेको भीड नै लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरूका लागि खाजा खाने नयाँ गन्तव्यका रूपमा यो ठाउँ विकास भइरहेको छ।

भाउन्ने चोक पूर्व चिसाङ खोला छेउसम्ममा २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेसा गर्दै आउनुुभएको छ । पछिल्लो समय बेलबारीमा व्यावसायिक मकैखेतीप्रति किसानको आकर्षण बढ्दो छ । मकैले उचित मूल्य पाएपछि बाह्रै महिना हरिया मकै उत्पादनमा किसानले जोड दिन थालेका छन् ।