काठमाडौं २ : पार्टी अस्थिर कि चञ्चल मतदाता ? प्रतिस्पर्धामा कांग्रेस, एमाले, राप्रपा, रास्वपा
मणिराम ‘ बा’ का रोजाईमा उमेदवार हुन् ‘आमा’ तर्फका आकाक्षीहरुले निको मानेका छैनन्, पटक पटक एउटैलाई भूमिका दिएकोमा।
काठमाडौं, ४ फागुन ।
काठमाडौंको पूर्वी दक्षिणमा पर्ने महानगरपालिका र सहर उन्मुख ग्रामिण क्षेत्र समेटिएको क्षेत्रं नं २ मा मतदाता अस्थिर हुन् वा राजनीतिक पार्टीहरु ? प्रश्नको उत्तर आसन्न निर्वाचनले दिने अपेक्षा गरिदैंछ । कारण, यसपटक प्रमुख राजनीतिकदलहरु एक्काएक्लै भिडदै छन् । निर्वाचन क्षेत्र बाहिरबाट आएर विजयी भएका र पराजित बनेर पार्टी पङ्तीलाई नराम्ररी बिथोलेका उमेदवारहरुका कारण काठमाडौं २ अस्थिर देखिएको त होइन ? त्यसैले आसन्न निर्वाचनमा कसले बाजी मार्ने हो, अनुमान गर्न सहज छैन ।
संविधानजारी भएपछिका दुईवटा चुनावमा राजनीतिक दलहरुको गठबन्धका कारण कांग्रेस, एमाले, माओवादीको हैसियत के कति हो ? ठ्याक्क हिसाव निस्कदैंन । यी दुई निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको बलिया प्रतिस्पर्धी बनेर आएका छन् । २०७९ को निर्वाचनमा रास्वपाकी सोबिता गौतमले बाजी मारेको यो क्षेत्रमा यसपटक कसले जित निकाल्ने हुन् ? अहिले प्रतिस्पर्धामा कांग्रेसका कविर शर्मा, एमालेबाट मणिराम फूँयाल, रास्वपाबाट सुनिल केसी, राप्रपाबाट कुन्तिदेवी पोखरेल लगायत १६ राजनीतिक दल तथा ११ स्वतन्त्र उमेदवार मैदानमा छन् ।
अहिलेसम्मको चुनावी माहौलबाट, क्षेत्र नं २का मतदाताहरुसँगको कुराकानी, चोकचौबाटाका चिया गफका आधारमा मुख्य प्रतिस्पर्धा, कांग्रेसका कविर शर्मा,एमालेका मणिराम फूयाल, रास्वपाका सुनिल केसी र राप्रपाका कुन्तिदेवि पोखरेलबीच हुने देखिन्छ । यी चारमध्ये संसदीय चुनावी प्रतिस्पर्धामा कांग्रेसका कविर नयाँ हुन् । भूगर्भशास्त्री कविर कांग्रेसको क्षेत्रिय सभापतिबाट संसदीय मोर्चामा उक्किएका छन् । बद्लिएको कांग्रेसका मुलुकभरका १०६ युवा उमेदवारमा कविर पनि एक हुन् ।

एमालेका मणिराम दोश्रो पटक भिड्दै छन् । अघिल्लो चुनावमा रास्वपाकी सोबिता गौतमबाट करिब ४ हजार मतले पराजित उनी यसपटक जित निकाल्न प्रयासरत छन् । सुनिल केसीको राजनीतिक परिचय चञ्चल देखिन्छ । वामपन्थी राजनीतिक पृष्ठभूमिका सुनिल अघिल्लो संसदीय चुनावमा काठमाडौं २(ख)बाट प्रदेश सांसदमा विजयी भएका हुन्, राप्रपाबाट ।एमाले, कांग्रेसका उमेदवारलाई पछि पार्दे प्रदेश सांसद बनेका उनी प्रदेश सांसदबाट राजीनामा गरेर अहिले रास्वपा उमेदवार बनेका छन् । राप्रपाबाट छोटो समयमा रास्वपासम्मको राजनीतिक फड्को मार्न सिपालु सुनिल आसन्न प्रतिस्पर्धामा पनि फड्को मार्ने योजना देखिन्छन् । कुन्तिदेवि दोश्रो पटक यही क्षेत्रमा भिड्दै छन् । अघिल्लो निर्वाचनमा एमालेको हाराहारी ११ हजार मत ल्याएर तेश्रो भएकी उनी यसपटक बाजी मार्ने प्रयासमा छन् ।
प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरु के कस्ता छन् त ? सामान्य विवेचना गरौं । कांग्रेस बद्लिएको छ र देशलाई बदल्छौं भन्ने नाराका साथ आएको छ । अघिल्लो चुनावमा माओवादीका उमेदवार ओनसरी घर्तीलाई मत हाल्ने पार्टी उर्दी उल्लघन गर्दे अन्यत्र बरालिएका कांग्रेसजन पार्टीमा फर्किसकेको कांग्रेसको आँकलन छ । कांग्रेसमा अन्तर्घात भन्ने रोगले च्यापेन भने र मुन्टो निमठँने प्रवृतिको शिकार हुनबाट जोगिए भने कविरको पल्ला भारी हुने देखिदैंछ । अघिल्लो निर्वाचनमा पार्टीले माओवादी उमेदबार ओनसरी घर्तीलाई मत हाल्न निर्देशन दिएपछि त्यसको प्रत्यक्ष लाभ रास्वपाकी सोबिताले प्राप्त गरेको आंकलन कांग्रेसजनको छ । कांग्रेस महासमिति सदस्य अर्जुन पराजुली भन्छन् ‘यसपाली कांग्रेसको मत रुखमा बाहेक अन्यत्र जाँदैन।’
कृष्णगोपाललाई हराएर कांग्रेसका दीपकलाई माला लगाउन सहयोग गर्ने एमालेजनले दुई वर्ष नबित्दै माधव कुमार नेपाललाई २७ हजार मतका साथ विजयी बनाएको राजनीतिक गणितलाई सामान्य अर्थमा लिन मिल्दैन । क्षेत्रंनं २ मा स्विङ्ग मतदाता उल्लेख्य संख्यामा रहेको देखिन्छ ।
सामान्यतथा एमालेको बलियो पकड क्षेत्र मानिन्छ काठमाडौं २ । शहर उन्मुख गाउँ र शहर दुबै तर्फ एमालेको प्रभावशाली संगठन छ भनिन्छ । एमालेमा माधव कुमार नेपालले सिंचित गरेको क्षेत्र हो यो । अघिल्लो निर्वाचनसम्म आइपुग्दा एमाले विभाजन भयो । माधवकुमार नेपाल यतिखेर एकिकृत समाजवादी हुँदै पुष्पकमलको छत्रछायाँमा नेकपाको नेता बनेका छन् । २०४६ को परिवर्तन पछि वामपन्थी किल्ला जस्तै बनेको यो क्षेत्रमा २०७४ को उपनिर्वाचनमा कांग्रेसका दीपक कुइकेलले बाजी मारेका हुन् । दोश्रो संविधानसभा निर्वाचनमा माधव नेपाल काठमाडौं र रौतहटबाट विजयी भएका थिए । नेपालले छोडेको काठमाडौं २ मा कांग्रेसका दीपकले १८ हजार २ सय मत ल्याएर विजयी हुँदा एमालेका कृष्णगोपाल श्रेष्ठले १३ हजार ४ सय ३२ मतमा चित्त बुझाउनु परेको थियो । माओवादीका लिलामणि पोखरेल ४ हजार ६ सय ७ मतका साथ तेश्रो स्थानमा थिए ।
बलियो आधार हुँदाहुँदै कृष्णगोपालको पराजको कारण अन्तर्घात रोगले गाजेको थियो एमालेलाई । किर्तिपुरका कृष्णगोपाललाई सबक सिकाएका एमाले मतदाताले २०७४ को पहिलो प्रतिनिधिसभा चुनावमा एमाले माओवादीको गठबन्धनका उमेदवार माधव कुमार नेपाललाई २७ हजार मतका साथ बिजयी बनाए । दोश्रो स्थानमा कांग्रेसका दिपक कुईकेलले १४ हजार ९ सय ३ मत ल्याएर भए भने साझा विवेकशीलका सुरजराज आचार्य ७ सय ४ सय ३७ मतका साथ तेश्रो स्थानमा थिए । माधव नेपाललाई त्यसबेला माओवादीको पनि साथ र समर्थन थियो । अहिले पनि एमाले भित्रको बिग्रह सङ्लिइ सकेको देखिदैंन कृष्णगोपाललाई हराएर कांग्रेसका दीपकलाई माला लगाउन सहयोग गर्ने एमालेजनले दुई वर्ष नबित्दै माधव कुमार नेपाललाई २७ हजार मतका साथ विजयी बनाएको राजनीतिक गणितलाई सामान्य अर्थमा लिन मिल्दैन । कृष्णगोपाललाई हराएर कांग्रेसका दीपकलाई माला लगाउन सहयोग गर्ने एमालेजनले दुई वर्ष नबित्दै माधव कुमार नेपाललाई २७ हजार मतका साथ विजयी बनाएको राजनीतिक गणितलाई सामान्य अर्थमा लिन मिल्दैन । क्षेत्रंनं २ मा स्विङ्ग मतदाता उल्लेख्य संख्यामा रहेको देखिन्छ ।
एमाले महाधिवेशनमा दुई कित्तामा विभाजित थियो, यो क्षेत्र । मणिराम ‘ बा’ का रोजाईमा उमेदवार हुन् ‘आमा’ तर्फका आकाक्षीहरुले निको मानेका छैनन्, पटक पटक एउटैलाई भूमिका दिएकोमा ।‘आमा’ तर्फका एमाले नेता, कार्यकर्ता र मतदातालाई कुन हदसम्म फकाउँदै, फूल्याउँदै फूँयालले आफ्नो पक्षमा परिचालन गर्दे कति मत बटुल्नसक्छन् त्यर्सैले उनको निर्वाचन परिणाममा फरक पार्ने हो ।
२०७४ को निर्वाचनमा बैकल्पिक राजनीतिका अगुवा सुरजराज आचार्य साझा विवेकशीलबाट उमेदवार थिए । उनलाई ७ हजार ४ सय ३७ मत दिएका काठमाडौं २ का मतदाताले २०७९ को निर्वाचनमा रास्वपाकी सोबिता गौतमलाई १५ हजार २ सय ३८ मत दिएर माला लगाए । एमालेका मणिराम फूँयाल ११ हजार ५ सय सहित दोश्रो स्थानमा सीमित बने । गौतमले कांग्रेसको कति मत काट्नि, एमालेको कति भोट लिइन, त्यसको लेखाजोखा आउँदो निर्वाचन परिणाम पछि गर्न सकिएला । कांग्रेस र एमालेले भनेजस्तै उनीहरुका मतदाताले आफ्नै चुनाव चिन्हमा मत खसालेको अवस्थामा रास्वपाका सुनिलको आधार कमजोर हुने देखिन्छ । काठमाडौं महानगरको सबै भन्दा ठूलो ३२ नम्बर वडाका लोकल हुन् सुनिल । स्थानीयस्तरमा काम गर्ने नेताको परिचय कमाएका छन् उनले । ३२ नम्बरका कमाएको श्रेय अन्य क्षेत्रमा कसरी विस्तारीत हुन्छ र मतमा रुपान्तरण हुन्छ, त्यसले परिणाममा फरक पार्ने हो । सुनिल के.सीले आफूलाई जेनजि प्रतिनिधिको रुपमा प्रचार गरेका छन् । ४३ वर्षका सुनिल ३७ वर्षका कबिर, ३८ वर्षिय कुन्तिदेवी र ६० वर्षका मणिराम कसलाई जेनजिले आफ्नो नेता मान्ने हुन् ? यो निर्वाचनमा पहिलो पटक मत हाल्नेहरुको संख्या करिब ४ हजार छ । महादेवस्थानका रास्वपाका समर्थकहरु रास्वपाको लहर आएको दाबी गर्दछन् ।
चुनावी मैदानमा काठमाडौं महानगरपालिका ९ कि कुन्तिदेवी पोखरेल दोश्रो पटक चुनावी मैदानमा उत्रिएकी छन् । राप्रपाकी पोखरेल यस अघि ११ हजार २४ मत ल्याएर तेश्रो स्थानमा आएकी थिइन । बडानं ९ को शहरी क्षेत्रका साथसाथ पंचायती व्यवस्थाका बलियो पिलर जोगमेयर श्रेष्ठको थातथलो हो शंखरापुर नगरपालिका । शखरापुर कुन्तिको प्रमुख श्रोत मानिन्छ । शंखरापुरका मेयर राप्रपाकै छन् । शहरी क्षेत्रकी कुन्तिलाई सहर उन्मुख ग्रामिण क्षेत्रले कति साथ समर्थन गर्ने हो ? अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत कायम राख्दै ३,४ हजार मत थप्नसक्दा कुन्तिले बाजी मार्ने संभावना रहन्छ । राप्रपाको परम्परागत मतमा अन्य पार्टीबाट धेरै मत थपिने संभावना भने त्यत्ति सहज देखिन्न, वर्तमान राजनीतिक परिवेशमा ।
तथ्याङ्गगत विवेचना
काठमाडौ २ मा करिव ९० हजार बढी मतदाता छन् । जसमध्ये करिव ४ हजार नयाँ थपिएका हुन् । संखरापुर नगरपालिकामा करिव १८ हजार, कागेश्वरी मनोहरामा करिव ३४ हजार मत छ । महानगरपालिकाका वडानं ३२ मा करिव २१ हजार र वडा नं ९ मा करिव १३ हजार संख्यामा मतदाता छन् । महानगरको तुलनामा सहर उन्मुख ग्रामिण क्षेत्रको मत धेरै छ, त्यहीँको मतले परिणाम निर्धारण गर्ने बताउँछन् जानकार । कबिर र मणिराम दुबै ग्रामिण क्षेत्रका हुन् ।
स्थानीयतह चुनावको आधारमा केही तथ्याङ्गगत समीक्षा गरौं । स्थानीय चुनावमा वडा नं ३२ एमालेको पक्षमा देखिन्छ । कांग्रेसले स्थानीय चुनावमा एकिकृत समाजवादीसँग चुनावी तालमेल गरेकोले कांग्रेसका कति मतदाता छन् ? यकिन छैन । कांग्रेस समर्थनका एकिकृत समाजवादीका उमेदवारले ३ हजार १ सय ८ मत पाएका थिए । कांग्रेसका स्थानीय नेता अर्जुन पराजुली ३२ वडाबाट कांग्रेसले ५ हजारको हाराहारी मत लिनसक्ने माहौल बताउँछन् ।
वडा नं ९ काग्रेसको पक्षमा छ । कागेश्वरी मनोहरामा मेयर कांग्रेसका छन् । वडा नं ४ देखि ९ सम्म जुन क्षेत्र न. २ मा पर्दछन् । यी ६ वटा वडा मध्ये वडान ४ वटामा एमालेले जितेको छ । वडा न ६ एकिकृत समाजवादीले जितेको छ । र, बाँकी ५, ७, ८, ९ काग्रेसका वडा अध्यक्ष छन् । उता शंखरापुरका ९ वडाहरु मध्ये सबै भन्दा धेरै ४ वटा वडाहरु वडानं २, ४, ८,९ मा कांग्रेसका वडाध्यक्ष छन् । राप्रपाका ३, ६ र ७ वडामा निर्वाचित भएका छन् । एमाले वडानं ५ र माओवादी वडानं १ मा बिजयी भएका छन् ।
क्षेत्र न.२ का राजनीतिकर्मीहरु करिव ९० हजार मत मध्ये ६० हजारको हाराहारी मतदान हुने र निर्वाचित हुन् १५ हजार मत आवश्यक हुने हिसाव गरिरहेको भेटिन्छन् । अहिलेसम्मको राजनीतिक माहौल, अघिल्ला चुनावहरुको समीक्षा, निर्वाचन क्षेत्रको अवलोकन लगायतका आधारबाट पहिलो, दोश्रो हुनेमा कांग्रेस एमालेको संभावना छ । त्यस्तै राप्रपा र रास्वपा तेश्रो र चौथो पदका लागि प्रतिस्पर्धा हुने राजनीतिक कर्मीहरु आँकलन गरिरहेका छन् ।
निर्वाचनको राजनीति तरल हुनेहुन्छ । मतदान हुने अघिल्लो दिनसम्म पनि मतदाताको मन बद्लिनसक्छ । अहिलेसम्मको चुनावी माहौलका आधारमा काठमाडौं २ मा कांग्रेस,एमाले, राप्रपा र रास्वपा चारपक्षीय प्रतिस्पर्धा भन्न सकिन्छ ।
