नेपाली कांग्रेशका दुई शीर्ष सभापति गगनकुमार थापा पूर्वी नेपालमा सभा गरिरहेका छन् भने उपसभापति विश्वप्रकाश शर्मा पश्चिमका सभाहरुलाई सम्बोधन गर्न त्यसतर्फ लागेका छन् ।

सिराहा, २७ माघ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेन(जी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन् । सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे ।

उनले भने ‘मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनु भयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ ।’

थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भए पनि अब चुनावबाट कुनै प्रकारले पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए । ‘हामीले त चुनाव २ वर्षपछि आउला भन्ने सोचेका थियौँ तर जेन(जीहरूले विद्रोह गरिदिनुभयो र सुशासन खोज्न थाल्नुभयो’ उनले भने ‘यसले गर्दा चुनाव चाँडै आयो । त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ । नयाँ नेतृत्व छान्न तयार छ । भोट तपाईंहरूकै हातमा छ । जिताउनु हुन्छ भन्ने आशा लिएको छु।’
सभापति थापाले मंगलबार मधेसको सप्तरीको हनुमान नगर, रुपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा सम्बोधन गरेका थिए । यसअघि थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए ।

यता काग्रेस उपसभापति विश्वप्रकाश शर्माले भने माघ २६ गते सोमबारदेखि थालेको पहिलो चरणको जिल्ला स्तरीय कार्यक्रम फागुन १ गतेसम्म हुनेछ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चितवनबाट शुरू भएको उनको पहिलो चरणको जिल्ला भ्रमण पाल्पा पुगेर टुङ्गिने छ । सोमबार चितवनका दुई ओटा कार्यक्रममा सहभागी भएका उपसभापति शर्मा मंगलबार बाँकेमा जिल्ला स्तरीय र बर्दियामा क्षेत्रीय स्तरीय भेलामा सहभागी भए ।
बुधबार माघ २८ गते कांग्रेसका उम्मेदवारहरूसहित दाङमा जिल्ला स्तरीय बृहत भेलामा सहभागी हुनेछन् । त्यस्तै माघ २९ गते बिहीबार बिहान रुपन्देही जिल्ला स्तरीय बृहत भेला तथा दिउँसो लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिको बैठकमा निर्देशनात्मक सम्बोधन गर्नेछन् ।
फागुन १ गते शुक्रबार उपसभापति शर्माले पाल्पा जिल्ला स्तरीय बृहत भेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।