कांग्रेस केन्द्रीय अनुशासन समिति गठन, निर्वाचन परिचालन र सार्वजनिक कार्यक्रम निर्देशिका पारित
काठमाडौं, २५ माघ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रीय अनुशासन समिति गठन गरेको छ । पार्टी सभापति गगन थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको भर्चुअल बैंठकले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा, केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको अनुशासन समिति गठन गरेको हो । पार्टी विधान २०१७ संशोधन सहितको धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंठकले निर्वाचनसँग सम्बन्धित निर्वाचन परिचालन समिति र सार्वजनिक कार्यक्रम व्यवस्थापन गरी दुइृबटा निर्देशिका परिमार्जन सहित पारित गरेको छ ।
पार्टीका कार्यवाहक प्रमुख सचिव कृष्ण दुलालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा आज बस्यो । महामन्त्री गुरुराज घिमिरेले बैठकका लागि निर्धारित प्रस्तावहरू पेश गर्नु भएको थियो ।’
विज्ञप्तिमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले पुस्तुत गरेका “नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२” र “नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२” परिमार्जन सहित पारित भएका छन् ।
बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू, फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
