प्रधानमन्त्री सुशिलाको नौं बुँदे दीक्षा
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रुपमा तालिममा दीक्षित सैनिक विद्यार्थीहरुलाई सम्बोधन गर्दे ९ बुँदे दीक्षा दिएकी छन् । प्रधानमन्त्री कार्कीले सम्बोधनमा भनेकी छन् ‘तपाईँ तालिमबाट सुसज्जित भई आज दीक्षित हुनुभएका भाइबहिनीहरुलाई म यहाँ विशेष रुपमा आग्रह र अनुरोध गर्न चाहन्छु ।
प्रधानमन्त्री कार्कीका ९ बुँदे दीक्षा
- तपाईँहरुले अनुशासनलाई जीवनशैली बनाउनुहोस्
- राष्ट्रप्रेमलाई कर्ममा उतार्नुहोस्
- राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउनुहोस्
- विपद् र संकटको घडीमा अग्रपंक्तिमा उभिनुहोस्
- नेतृत्व क्षमता विकास गर्दै उदाहरणीय बन्नुहोस्
- नैतिकता, चरित्र र इमान्दारीलाई सर्वोपरि राख्नुहोस्
- शिक्षा, सीप र आत्मविकासमा निरन्तर लागिरहनुहोस्
- समाज र राष्ट्रप्रति जिम्मेवारी बोध राख्नुहोस्:
- भावी पुस्ताका लागि मार्गदर्शक बन्नुहोस्:
प्रधानमन्त्रीको सम्बोधन
राष्ट्रिय सेवा दल सिनियर डिभिजन (सि.सं.२०) तालिमको दीक्षान्त कवाज समारोहमा उपस्थित प्रधानसेनापतिज्यू, पृतनापतिज्यू, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशकज्यू,
जनप्रतिनिधिज्यूहरु,
प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित नेपाली सेना तथा सुरक्षा निकायका प्रमुखहरु,
विभिन्न विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक तथा समन्वय शिक्षक/शिक्षिकाज्यूहरु,
NCC Alumni (आल्मुनाई) Association का पदाधिकारीज्यूहरु,
अभिभावकज्यूहरु,
नेपाली सेनाका सकलदर्जा तथा NCC क्याडेट छात्रछात्रा भाइबहिनीहरु,
सञ्चारकर्मी मित्रहरु।
“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शसहित स्थापित राष्ट्रिय सेवा दलले यस वर्ष सञ्चालन गरेको सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख संरक्षकको हैसियतले उपस्थित हुन पाउँदा खुसी लागेको छ।
हजारौँ युवाहरुमध्येबाट छनौट भई सफलतापूर्वक एनसीसी तालिम सम्पन्न गरी दीक्षित हुन लाग्नुभएका सम्पूर्ण क्याडेट छात्र/छात्रा भाइबहिनीलाई हार्दिक बधाई दिन चाहन्छु।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात् “जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ” भन्ने उक्तिलाई आत्मसात् गर्दै चन्द्र सूर्य अङ्कित झण्डा सदैव शिरोपर गर्ने, राष्ट्र सेवामा समर्पित, अनुशासित, नैतिकवान चरित्रवान् युवाहरु नै राष्ट्रका मेरुदण्ड हुन् ।
नेपाल सरकारले प्राथमिकताका साथ लिएको यस कार्यक्रमको लक्ष्य युवालाई अनुशासित, मर्यादित, आफ्नो देश, वेषभूषा, संस्कृति र इतिहासलाई माया गर्ने संस्कारयुक्त नागरिक बनाउनु रहेको छ।
साथै राष्ट्रमा विपद्को अवस्थामा उद्धार, राहत लगायत कार्यमा देशैभर परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक तयार गर्नु पनि यसको उद्देश्य हो ।
कार्यक्रमले यी उद्देश्यमा प्रभावकारी भूमिका निर्वाह गरेको छ ।
क्याडेट छात्र/छात्रा भाइबहिनीहरु,
यस तालिमले तपाईँहरुलाई विभिन्न आधारभूत सुरक्षा र सैनिक कलासँग परिचित गराएको छ । समसामयिक विषयहरूको ज्ञान दिएको छ। नेपालको भूगोल, विविध भाषा, संस्कृति, परम्परा तथा इतिहासलाई एउटै छानामुनि बसी बुझ्ने र अनुभव आदानप्रदान गर्ने मौका प्रदान गरेको छ। यसले तपाईँहरुमा नेतृत्वकला, सामूहिकता र राष्ट्रिय एकताको भावनालाई थप मजबुत गराउनेछ।
आज भर्खरै प्रदर्शन भएको सुन्दर, कलात्मक र उच्चस्तरको कवाजले तपाईँहरुको अनुशासन, लगनशीलता, अभ्यास र कडा परिश्रम स्पष्ट रुपमा प्रतिविम्बित गरेको छ।तपाईँहरूमा देखिएको उत्साह र आत्मविश्वासले उन्नत समाज निर्माणको लागि तपाईँहरुजस्ता युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी हुनेमा हामी सबैलाई आशावादी बनाएको छ।
तपाईँ तालिमबाट सुसज्जित भई आज दीक्षित हुनुभएका भाइबहिनीहरुलाई म यहाँ विशेष रुपमा आग्रह र अनुरोध गर्न चाहन्छु कि-
- तपाईँहरुले अनुशासनलाई जीवनशैली बनाउनुहोस्:
यहाँ सिकेको अनुशासन, समयको पालना र मर्यादालाई दैनन्दिन जीवन, पढाइ, पेसागत क्षेत्र र समाज सेवामा निरन्तर अभ्यास गरिदिनुहोस्।
- राष्ट्रप्रेमलाई कर्ममा उतार्नुहोस्:
राष्ट्रप्रेम केवल भावनामा सीमित नराखी व्यवहारबाटै इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गर्नुहोस् ।
- राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउनुहोस्:
भाषा, संस्कृति, जाति, वेशभूषा र भूगोलको विविधतालाई सम्मान गर्दै “म नेपाली हुँ” भन्ने साझा पहिचानलाई अझ बलियो गरी मन-मुटुमा राख्नुहोस्।
- विपद् र संकटको घडीमा अग्रपंक्तिमा उभिनुहोस्:
भूकम्प, बाढीपहिरो, आगलागीजस्ता विपद्मा उद्धार, राहत र सेवा कार्यमा स्वेच्छिक रूपमा सहभागी भई समाजको भरोसा बन्नुहोस्।
- नेतृत्व क्षमता विकास गर्दै उदाहरणीय बन्नुहोस्:
आफूले गर्ने काम, बोल्ने भाषा र देखाउने व्यवहारबाट अनुकरणीय नेतृत्व प्रस्तुत गर्दै समाजका लागि प्रेरणाको स्रोत बन्नुहोस्।
- नैतिकता, चरित्र र इमान्दारीलाई सर्वोपरि राख्नुहोस्:
अल्पकालीन लाभभन्दा दीर्घकालीन मूल्यलाई प्राथमिकता दिँदै चरित्रवान, संस्कारयुक्त र जिम्मेवार युवा बन्नुहोस्।
- शिक्षा, सीप र आत्मविकासमा निरन्तर लागिरहनुहोस्:
तपाईँ आफूले आफूलाई बनाउन सक्नु भएन भने अरुलाई पनि पर्याप्त दिन सक्नुहुन्न। देशलाई पनि दिन सक्नुहुन्न।
तसर्थ पढाइसँगै जीवनोपयोगी सीप, प्रविधि र नवप्रवर्तनमा रुचि राखी आफूलाई सक्षम र प्रतिस्पर्धी बनाउनुहोस्।
- समाज र राष्ट्रप्रति जिम्मेवारी बोध राख्नुहोस्:
कानुनको सम्मान गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र सकारात्मक सामाजिक परिवर्तनमा सक्रिय भूमिका खेल्ने गरी तपाई अघि बढिदिनुहोस्। समाजका असल, इमानदार र मानवीय पहलको प्रशंसा गर्न नहिच्किचाउनुहोस्। समाजका खराब तत्त्वको प्रतिरोध गर्नु पनि आफ्नो कर्तव्य सम्झिनुहोस् ।
- भावी पुस्ताका लागि मार्गदर्शक बन्नुहोस्:
आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तालाई पनि बाँड्नुहोस्। तपाईँहरुका यी आचरण र व्यवहारले नै हो देश बन्ने। आज देशले खोजिरहेको पनि यस्तै नागरिक हो।
उपस्थित महानुभावहरु एवम् क्याडेट छात्रछात्रा,
राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको छ ।
यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको छ । जस अन्तरगत सिनियर डिभिजनतर्फ १ हजार ८० जना र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना क्याडेट छात्र/छात्राहरु यस वर्ष दीक्षित हुन लागेको जानकारी पाउँदा मलाई थप हर्षित बनाएको छ ।
हालसम्म करिब ९० हजार युवाहरु एनसीसी तालिम प्राप्त गरी दीक्षित हुनु हामी सबैका लागि गौरवको कुरा हो । यसका लागि नेपाली सेना एवम् राष्ट्रिय सेवा दल परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
र, आगामी वर्षहरुमा संख्या थप गरी यसलाई अझै विस्तार गर्नको लागि आवश्यक पहल गरिने जानकारी गराउँदछु । किनभने, युवा पुस्ताको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कटिबद्ध रहन्छ ।
यसका साथै तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेनाका विभिन्न फर्मेसन तथा युनिटहरु, स्थानीय सरकारहरू, विभिन्न विद्यालय तथा शिक्षण संस्थाहरु, प्रधानाध्यापकज्यूहरु, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकवर्ग, विशेषतः किशोर-किशोरीलाई राष्ट्र र समाजप्रतिको जिम्मेवारी बोधका साथ यस तालिममा स्व:स्फूर्त रुपमा सहभागी गराउने तपाईँ सम्पूर्ण अभिभावकज्यूहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा, सफलतापूर्वक तालिम सम्पन्न गरी दीक्षित हुनु भएका सम्पूर्ण क्याडेट छात्रछात्रा भाइ बहिनीहरुलाई पुनः एकपटक बधाई दिँदै तपाईहरुको शैक्षिक तथा सर्वाङ्गीण विकासमार्फत उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति एवम् सफल जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
धन्यवाद ।
२०८२ माघ २० गते
तस्बिर: केशव थापा/ प्रधानमन्त्रीको सचिवालय
