लोकेशको कांग्रेसलाई सुझाव : हिन्दूराष्ट्र,राजतन्त्र स्थापना
तत्कालिन राजा ज्ञानेन्द्र, संविधानको दायरा भित्र बस्न नचाहेर हुकुमी राजतन्त्र स्थापनाको राजनीतिक अस्त्र चलाएपछि राजतन्त्र समाप्त भएको ईतिहासलाई लोकेशले बिर्सिए जस्तो छ ।
काठमाडौं, १९ माघ ।
नेपाली कांग्रेसका नेता, महासमिति सदस्य लोकेश ढकालले नेपाली कांग्रेसको घोषणापत्रमा सनातन हिन्दुराष्ट र राजतन्त्र स्थापन एजेण्डा समावेश हुनुपर्ने भन्दै सुझाव दिएका छन् । सोमबार, कांग्रेस केन्द्रीय कार्यालयलाई पठाएको सुझावमा निर्वाचन घोषणापत्रमा आफूले दिएका सुझाव समेट्न भनिएको छ । (
नेपाली कांग्रेस महासमिति सदस्य एंव सहसंयोजक नेपाली कांग्रेस, वैदिक सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको हैसियतमा दिइएको सुझावमा सात राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे सहमति पछि नेपाल राजनीति विचार, सिद्धान्त केवल सत्ताको राजनीतिमा केन्द्रीत भएको उल्लेख छ । सुझावपत्रमा भनिएको छ ‘विशेष गरेर,तत्कालिन ७ राजनीतिक दल र माओवादी बीच भएको १२ वुँदे साझा समझदारी यता हामी विचार, सिद्धान्त र आदर्शलाई छोडेर केवल सत्ताको राजनीतिमा लोभियौं र राष्ट्रिय राजनीतिको अविभावकीय भूमिका निर्वाह गर्नबाट चुक्यौं ।’
नेपाली कांग्रेस मुल राजनीतिक लाइनबाट बिचलन भएको ढकालको विश्लेषण छ ।
ढकालले भनेका छन् ‘देशप्रेमको भावनाबाट स्पष्ट नीतिकासाथ नेपाली कांग्रेस आउनसक्योे भने नेपाली कांग्रेस देश बचाउन र प्रजातान्त्रिक आन्दोलनलाई सकारात्मक बाटोमा लग्दै देश वदल्न समर्थ हुनेछ ।’
नेपालबाट संवैधानिक राजतन्त्र उन्मुलनका पछाडी तत्कालिन राजा ज्ञानेन्द्र संविधानको दायरा भित्र बस्न नचाहेर हुकुमी राजतन्त्र स्थापनाको राजनीतिक अस्त्र चलाएपछि राजतन्त्र समाप्त भएको ईतिहासलाई लोकेशले बिर्सिए जस्तो छ । सुझावपत्रमा राजतन्त्रको आवश्यकता औंल्याइएको छ, किन र कसरी राजतन्त्रको अन्त्य भयो भन्ने चर्चा गरिएको छैन ।‘राजाबाट गल्ती हुँदैन भन्ने हिन्दू सनातन राजनीतिक’मान्यताबाट पे्ररित ढकालको विचार २०६२÷६३ को जनआन्दोलनको माग र भावना विपरित देखिन्छ ।
ढकालका विचार विस्तृतमा
महोदय, नेपाली कांग्रेस जनस्तरसम्म फैलिएको नेपालको पहिलो शक्तिशाली प्रजातान्त्रिक दल मात्र होइन, यो देशको प्रमुख राष्ट्रिय शक्ति पनि हो । (यो शक्ति कमजोर हुँदा सिङ्गो राष्ट्र कमजोर वन्छ, जो अहिले भैरहेको छ ।) राष्ट्रियता र प्रजातन्त्र कै लागि बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय सहितका हाम्रा अग्रजहरूले ०३ सालमा नेपाली कांग्रेस नामको राजनीतिक संगठन निर्माण गरेका थिए । झण्डै ८ दशक पछि पनि त्यही दल देशको प्रजातान्त्रिक आन्दोलनको प्रमुख शक्तिको रूपमा रहेको छ तर यस पार्टीले पछिल्लो कालमा लिएको नीति र खराव नेतृत्वको कारण राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका र औचित्य कमजोर वन्दै गएको छ ।
नेपालको राष्ट्रियता खतरामा छ, सार्वभौमसत्ता र भौगालिक अखण्डता संकटमा छ भन्ने अठोटका साथ २०३३ सालमा महामानव वी.पी. कोइराला र लौहपुरुष गणेशमान सिंह ज्यानको बाजी लगाई प्रवासमा रहेका नेपाली कांग्रेसका सयौं कार्यकर्ताकासाथ नेपाल फर्किनु भएको थियो । महामानव वी.पी.कोइरालाले ०३३ सालमा अंगिकार गर्नु भएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको माध्यमबाट आफ्नो जीवनको अन्तिम घडीमा पनि देश, देशको राष्ट्रियता र प्रजातन्त्रप्रति गंभीर बन्दै ‘‘हामीहरू बढो अप्ठ्यारो स्थितिमा छौं, हाम्रो देश, हाम्रो जाति अप्ठ्यारो स्थितिमा छ, त्यसलाई जोगाउनु परेको छ ।’’ भनेर आज भन्दा ४९ वर्ष अगाडि व्यक्त गर्नु भएको विचार आजको मुलुकको अत्यन्त नै गंभीर राजनीतिक अवस्थामा अझै मार्मिक हुनपुगेको छ । मेरा विचारमा दलहरूको असफलता र नादानीपनले आज वीपीले कल्पना गरेकोभन्दा कठिन मोडमा देश उभिएको छ ।
प्रजातान्त्रिक आन्दोलन र शान्ति प्रक्रिया हुँदै राजनीतिलाई यहाँसम्म ल्याइपु¥याउँदा हामीले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनताको स्वाभिमानलाई केन्द्रबिन्दुमा राख्न सकेनौं । प्रजातन्त्रका लागि संघर्ष त ग¥यौं तर राष्ट्रियताको मुद्धामा हामी चुक्दै आयौं । विशेष गरेर, तत्कालिन ७ राजनीतिक दल र माओवादी बीच भएको १२ वुँदे साझा समझदारी यता हामी विचार, सिद्धान्त र आदर्शलाई छोडेर केवल सत्ताको राजनीतिमा लोभियौं र राष्ट्रिय राजनीतिको अविभावकीय भूमिका निर्वाह गर्नबाट चुक्यौं । हाम्रा महान नेता वी.पी.कोइरालाले त्यसै भन्नु भएको थिएन – ‘‘बाहिरको खतरालाई हामीले ध्यान दिऊँ । मलाई पहिले वाहिरको खतराको ध्यान हुँदैनथ्यो । तर अहिले त मलाई त्यसको धेरै अनुभव छ । पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वको थियो भने आज यो प्रथम महत्वको हुन आएको छ ।’’ भन्ने वी.पी.को दूरदर्शी एवम् मार्मिक विचारप्रति सत्तासार्थमा केन्द्रित कांग्रेसको नेतृत्वले त्यस वेला कुनै पर्वाह गरेन ।
यसै बीच माओवादी हिंसा र राजाको निरंकुशताका विरुद्ध लक्षित २०६२।६३ को जनआन्दोलनको घोषित लक्ष्य विपरित पुर्नस्थापित प्रतिनिधिसभाले षड्यन्त्रमूलक ढंगले २०६३ जेष्ठ ४ गते “नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ” भन्ने अप्रत्यासित घोषणा ग¥यो । विदेशी शक्तिको खेलमा षड्यन्त्रपूर्वक देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको त्यो घटना नेपालको लागि नेपालको परम्परागत सनातन हिन्दू, बौद्ध, वोन आदि धर्म एवम् हाम्रा विविध मौलिक संस्कृतिले नेपालको हिमाल, पहाड र तराईका जनतालाई एक सुत्रमा बाँधेर राष्ट्रियतालाई मजबुत बनाएको तथ्यलाई त्यो घोषणाले अस्विकार गर्दै, विविध आध्यात्मिक एवम् साँस्कृतिक सम्पदाले धनी नेपालमा विविध जाति, भाषा र भौगोलिक विविधतताका बीचमा हामी नेपाली एकआपसमा मिलेर बसिरहेको अवस्थामाथि गंभिर प्रहार गरेको यथार्थतालाई त्यो घोषणाले चटक्कै भुलेको छ । यसरी जनभावना विपरित हचुवाका भरमा धर्मनिरपेक्ष राज्य घोषणा पछि परंपरागत नेपाली धर्म र संस्कृति माथि बलजफ्त रूपमा अतिक्रमण गरिएको, प्रलोभनमा पारेर धर्म परिवर्तन गरी धार्मिक एवम सामाजिक सद्भावलाई विथोलेर देशलाई विखण्डनको बाटोमा उन्मूख गरिएप्रति नेपाली कांग्रेस सहित नेपालका राजनीतिक दलको ध्यान कत्ति पनि गएको छैन ।
विश्वका कुनैपनि देशको इतिहास हेर्दा देशको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको एउटा प्रमुख आधार लामो समय देखि त्यो देशमा बसोबास गरिरहेको बहुसंख्यक जनताले मानिआएको धर्म, संस्कृति र त्यसले सिर्जना गरेको गौरवपूर्ण परम्परा मानिन्छ । आज पनि प्रत्यक्ष अप्रत्यक्ष विश्वमा ७१ देशले क्रिस्चियन धर्म, ५१ देशले इस्लाम धर्म, झण्डै १२ देशले बुद्ध धर्म र एउटा देशले यहूदी धर्मलाई देशको राष्ट्रधर्म घोषणा गरेका छन् । नेपालमा ८१ प्रतिशत हिन्दू, ९ प्रतिशत वुद्धिष्ट, ५ प्रतिशत प्रकृतिपूजक र किंरात गरि झण्डै ९५ प्रतिशत ॐकार परिवारभित्रका जनता बसोबास गर्ने देशलाई जनतासंग सोधपुछ नै नगरी धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने कार्य जनताको भावना विपरित मात्र नभई नेपालको राष्ट्रियता विरुद्ध छ । यस विषयको निर्णयमा सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई सहभागी गराइएन । नेपाल हिन्दू राज्य रहँदा नेपालमा रहेका वौद्ध, इस्लाम, इशाई लगायत सबै अल्प संख्यक धार्मिक समुदायको धार्मिक स्वतन्त्रताको प्रत्याभूति भएको, सबै धार्मिक समुदायका बीच आपसी प्रेम, सामाजिक सद्भाव एवम् आपसी भाइचारा रहँदै आएको यथार्थलाई स्मरण गर्न जरुरी छ । वरू धर्मनिरपेक्ष भए पछि सामाजिक सद्भाव र आपसी भाइचाराको भाव विथोलिएको छ । नेपालको साझा पहिचानको रूपमा रहेको हजारौं वर्षदेखिका हाम्रा मौलिक सनातन धर्म र संस्कृति र परम्परा मासिदै गएको छ ।
नेपाल देशको भूराजनीतिक यथार्थता, राष्ट्रियता र यसको संवेदनशीलता, हाम्रा परंपरागत धार्मिक, सामाजिक एवम सांस्कृतिक मूल्य, मान्यता र आम जनताको विचार र भावनाको पर्वाह नगरी हचुवाको भरमा धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्र घोषणा गरे पछि नेपालको राष्ट्रियता माथि विभिन्न विदेशी शक्तिहरूले नेपालको परंपरागत धर्म र संस्कृति माथि नियोजित रूपमा आक्रमण गरी सामाजिक सद्भावलाई विथोलेर राष्ट्रियतालाई नै कमजोर बनाउन गरेको षड्यन्त्रहरू प्रति नेपाली कांग्रेस वेखबर जस्तै भएर वस्नु दुःखद् कुरा हो । नेपाली कांग्रेसको महाअधिवेशन वा महासमितिमा छलफल भई निर्णय हुनुपर्ने यस्तो संवेदनशील विषयमा केन्द्रिय कार्यसमितिमा समेत छलफल भई निर्णय भएको छैन । यसको अलावा २०६२।०६३ को जनआन्दोलनको आधारपत्र मानिएको (७ मंसीर २०६२) १२ बुँदे सहमतिमा कहीं कतै गणतन्त्र र धर्म–निरपेक्षता उल्लेख नगरिएको, जनआन्दोलनमा जनस्तरबाट समेत यसको कहिं कतै स्पष्ट माग वा आवाज नउठेको परिप्रेक्ष्यमा, धर्म निरपेक्षता, नेपालमा हिन्दू र बौद्ध धर्म विरुद्धमा सुनियोजित ढंगले लक्षित रहेको तथ्य विगत झण्डै २ दशका धर्म परिवर्तनका गतिविधिले सप्रमाण स्पष्ट पारिसकेको छ । विश्वका धेरै विकशित देशहरू र दक्षिण एशियाका अधिकांश देशहरुले आफ्नो मौलिकता, परम्परा र पहिचानसंग जोडिएको धर्मलाई राष्ट्रिय धर्म मानेको उदाहरण नेपालको हकमा लागु नहुने कुनै कारण देखिदैन ।
राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको स्थापनाकालिन प्रमुख राजनीतिक सिद्धान्त हो भने संवैधानिक राजतन्त्र पनि नेपाली कांग्रेसको प्रमुख राजनीतिक अडान थियो । राजा महेन्द्रले पौष १ गते प्रजातन्त्रको गला निमोठेर निरंकुश पञ्चायती व्यवस्था लादेर बीपी सहितको नेताहरूलाई कठोर कारावासमा राख्दा समेत कांग्रेसले संवैधानिक राजतन्त्रको आफ्नो अडानलाई परित्याग गरेको थिएन । राजासंग प्रतिशोध लिने हो भने त वीपीले लिनु पथ्र्यो । उहाँ राष्ट्रिय अन्तराष्ट्रिय दुवै क्षेत्रमा लोकप्रिय हुनुहुन्थ्यो । अहिलेका नेता जस्तो भ्रष्ट गन्हाएको हुनुहुन्नथ्यो । १८ महिनाको छोटो शासन कालमा नै देशमा राम्रोसंग काम गरिरहनु भएको थियो । त्यति लोकप्रिय प्रधानमन्त्रीलाई हठाथ जेल हालियो । ८ वर्ष कठोर कारावास वस्नु भयो । अर्को ८ वर्ष निर्वासनमा वस्नु भयो । अनेक हण्डर खेप्नु भयो तर राजसंस्थाप्रति कहिल्यै घृणा र प्रतिशोध राख्नु भएन । राजसंस्था देशको राष्ट्रियता र राष्ट्रिय अस्तित्वका लागि अपरिहार्य तत्व हो भन्ने कुरालाई गहिरोसंग वुझेकै कारण वीपीले राजा वा राजसंस्थालाई हटाउने वा कमजोर पार्ने कुरा कहिल्यै सोच्नु भएन तर पछि त्यही वीपीको पार्टी दुर्भाग्यसंग गणतन्त्रको भागिदार वन्न पुग्यो र आज राष्ट्र कमजोर वन्न पुगेको छ । यो तथ्यलाई वुझ्न कांग्रेसले ढिला गरे देशमा कांग्रेसको औचित्य त रहन्न नै देश पनि सङ्कटमा पर्ने निश्चित छ ।
जीवनभर वीपीलाई सम्मानपूर्वक आफ्नो नेता मान्नु भएको सन्तनेता कृष्णप्रसाद भट्टराईले देशलाई षड्यन्त्रको तहमा धर्मनिरपेक्ष घोषणा गरेकोप्रति विमति राख्नु भयो । नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) को एकता महासमिति वैठकको उद्घाटन सत्रमा सशरीर उपस्थित भएर दुई पार्टी बीच एकिकरण भएकोमा खुशी हुँदै शुभ कामना दिनु भएको थियो । त्यही महासमिति वैठकले षडयन्त्रको तहमा हचुवाको भरमा संघीय लोकतान्त्रिक गणतन्त्रको निरर्थक नाम दिएर यस ऐतिहासिक संस्थालाई हाम्रा देशका दुई सर्वकालिक स्वर्गीय नेता श्री वीपी कोइराला र गणेशमान सिंहजीलाई चटक्कै विर्सेझै छ भन्नु हुँदै अव उपरान्त पार्टीसंग मेरो कुनै खालको पनि सम्वन्ध वा सम्पर्क रहने छैन भनेर सदाको लागि ९ आश्विन २०६४ मा पार्टी परित्याग गर्नु भएको दुःखद् प्रसङ्ग आम कांग्रेसीजनले भुल्न सक्ने घटना होइन । किसुनजीको सम्मानपूर्वक स्मरण गर्दै कांग्रेसले अब राजनीतिक विचार, सिद्धान्त र त्यसमाथिको अडानमाथि पुनर्विचार गर्ने वेला भएको छ ।
२०६२ मंसीर ७ मा तत्कालिन ७ राजनीतिक दल र माओवादी बीच भएको १२ वुँदे साझा र २०६३ ÷२०६३ को जनआन्दोलनमा कहिं कतै राजसंस्था फाल्ने वा धर्मनिरपेक्षको प्रसङ्ग उल्लेख थिएन । म जस्ता हजारौं कांग्रेसजन संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष राष्ट्रको लागि आन्दोलनमा होमिएका थिएनौं, केवल निरङ्कुश राजतन्त्रको अन्त्यको लागि अर्थात माघ १९ को शाही कदम फिर्ता लिनको लागि आन्दोलन भएको थियो । ११ बैशाख २०६३ को शाही घोषणा नै ७ दल र राजा बीचको साझा सहमतिको दस्तावेज थियो । आन्दोलन नै राजासंग सहमतिमा टुङ्गिएको थियो । आन्दोलन पछि राजपरिवार सदस्य पनि करको दायरामा आउने र राजाको जेष्ठ सन्तान छोरी जन्मिए राजगद्धिको उत्तराधिकारी हुन पाउने भनेर परिवर्तनकारी दलहरूले निर्णय गर्नुले नै जनआन्दोलनले गणतन्त्र स्थापना गरेको कुरालाई खारेज गर्दछ । जसरी संविधान सभा समेतलाई नकुरेर हतारमा पुनःस्थापित संसदको ४ जेष्ठ २०६३ को घोषणाले धोका र वेइमानपूर्वक देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो त्यसरी नै धोका र वेमानी कै तहमा देशमा गणतन्त्र घोषणा गरिएको यो यथार्थलाई स्वीकार गर्न अब नेपाली कांग्रेसले हिच्किचाउनु हुँदैन ।
आन्दोलनको प्रमुख माग नेपाली कांग्रेस आफ्नो आन्तरिक झगडाको कारण आँफैले विघटन गरेको २०५६ साल बैशाख २९ गते सम्पन्न निर्वाचनबाट गठिन प्रतिनिधि सभाको पुनःस्थापना थियो । ७ दलको आग्रहमा राजाको शाही घोषणाबाट ५ वर्षीय कार्यकाल समाप्त भैसकेको ०५९ सालमा विघटित संसद पुनस्थापना गरियो । प्रधानमन्त्री र मन्त्रीहरूले राजाबाट नै ओहदाको सपथ लिएका थिए । तर दुर्भाग्य राजाको घोषणाबाट जीवन पाएको संसद र मन्त्रिपरिषद्ले विदेशी प्रभाव र डिजाइनमा धोका, वेइमानी र षड्यन्त्रको तहमा देशबाट राजसंस्था फाल्ने काम गर्नु राष्ट्रका लागि नै ठुलो अभिषाप सिद्ध भएको छ । नेपाली कांग्रेस जस्तो देशको सबै भन्दा पुरानो जिम्मेवार एवम् पुरानो प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्तिले इतिहासको भुलबाट सिकेर राष्ट्र पहिलो भन्ने सर्तलाई अगाडी सारेर देशको राजनीतिको सङ्कट टार्दै देशलाई बचाउन अविभावकीय भूमिका निर्वाह गर्दै विगतका भुल र गल्तीलाई सच्याउन अग्रसर बन्ने अहिलेको समय हो ।
माओवादीलाई शान्तिको मार्गमा नेपाली कांग्रेसले नै ल्यायो, संविधान सभा मुद्धा पनि हाम्रै थियो, लोकतान्त्रिक आन्दोलनको नेतृत्व हामीले नै ग¥यौं भनेर गर्व गर्दै पहिलो संविधान सभा निर्वाचनमा जनताकाो बीचमा जाँदा प्रत्यक्ष तर्फको २४० सिटमा कांग्रेसलाई किन जनताले दण्डित गरेर केवल ३७ सिटमा सीमित गरे ? त्यस पछि दोस्रो संविधान सभा निर्वाचन पछि कांग्रेस संसदमा सबैभन्दा ठुलो दलको रूपमा उपस्थित भए पछि हामीले देशलाई संघीयता, गणतन्त्र र धर्मनिपेक्षतालाई अंगालेको संसार कै उत्कृष्ट संविधान दिन सफल भयौं भन्दै गर्व गर्दै संविधान सभा निर्वाचन पछिको पहिलो संसदीय निर्वाचनमा जाँदा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १६५ सिटमा कांग्रेसलाई केवल २३ सिट दिएर जनताले किन निर्मम ढङ्गले दण्डित गरे ? यसको समीक्षा कांग्रेसले गरेको छ ? छैन ।
नेपाली कांग्रेसले आफ्नो स्थापनाकालिन सिद्धान्त, राजनीतिक अडान र बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति परित्याग गरेर शान्ति प्रक्रिया र संविधान निर्माणको क्रममा वामपन्थी भाषमा फसेकै कारण जनताले पटकपटकको निर्वाचनमा नेपाली कांग्रेसलाई दण्डित गरिरहेका छन् भन्ने राजनीतिक यथार्थलाई वुझ्ने चेष्टा कांग्रेसले अहिलेसम्म गरेको छैन ।
नेपालको राजनीतिमा प्रजातान्त्रिक मूल्यमा नेपाली कांग्रेस क्रान्तिकारी शक्ति हो भन्नेमा कांग्रेस इतर कुनै पनि दलले अस्वीकार गर्दैनन् । संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको मान्यतालाई स्वीकार गर्दै आएको नेपाली कांग्रेस समग्र नेपाली राजनीतिमा देशको कन्जभेटिभ पार्टी नै थियो । तत्कालिन नेतृत्वको राजनीतिक महत्वकांक्षा, वाह्य हस्तक्षेप, प्रभाव वा दवावमा १२ बुँदे समझदारी पछि नेपाली कांग्रेसले आफ्नो परम्परागत कन्जरभेटिभ राजनीतिक सिद्धान्त, चरित्र र अडानलाई परित्याग गरेर वामपन्थीहरूले उठाएको संविधान सभा, धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता आदि (जुन मुद्धालाई नेपाली राजनीतिमा माओवादीले स्थापित गरेका थिए) मुद्धालाई वोके पछि कांग्रेसको परम्परागत भोट बैङ्क (कस्टिट्युएन्सी) क्षेत्र भत्कियो । नयाँ राजनीतिक क्षेत्र कांग्रेसको आफ्नो मौलिक क्षेत्र होइन । कांग्रेसले अहिले वोकेको वा परिवर्तन गरेको राजनीतिक मुद्धा वामपन्थी दलको भएकोले कांग्रेसलाई जनताले विगतमा जस्तो पत्याएनन् । सत्य यही, आत्म ज्ञान यति हो । यो राजनीतिक यथार्थलाई नवुझ्दासम्म, राजनीतिक रोड करेक्सन गरे अगाडी वढ्दासम्म नेपाली कांग्रेसले विगतको जस्तो गौरवशाली स्थान प्राप्त गर्न सक्दैन । नेतृत्व वदल्यौं अव देश वदल्छौं भनेर आसन्न निर्वाचनको लागि सुशासन, विकास र व्यवहारिक कार्ययोजना सहित घोषणा पत्र लेख्न वसेकाहरूले यो राजनीतिक चेत भयो भने मात्र कांग्रेस बदलिन सक्छ ।
राजा ज्ञानेन्द्रले आँफुबाट भएको भुलको महसुश गरेको कुरा उनका नियमितरूपमा आउने सन्देशहरूले प्रस्ट पारिसकेको छ । राजाले नेपालको सन्दर्भमा प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्रको औचित्य छैन भन्नु वीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीतिकै सार हो । सार्वभौम शक्तिको स्रोत नेपाली जनता नै हुन । सबै राजनीतिक दलहरूसंग मिले देश बचाउने कार्यमा सहकार्य गर्न तयार भएको स्पष्ट अभिव्यक्ति राजा ज्ञानेन्द्रले गरिसकेको आवस्थामा अब नेपाली कांग्रेस अग्रसर भएर राजसंस्था सहित देशको सबै दलहरूको बीचमा आम सहमति निर्माण गर्दै सनातन हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको आँटलो ऐतिहासिक निर्णय लिने वेला अहिले नै हो । कांग्रेस यसमा चुक्यो भने कांग्रेसले क्षति व्यहोर्ने नै, कहिल्यै पराधिन नभएको स्वतन्त्र हिमाली राष्ट्र नेपालले अकल्पनीय क्षति व्यहोर्न सक्छ । समय बाँकि रहँदै उचित निर्णय लिएर राष्ट्र पहिले अनि बाँकि भन्ने भावकासाथ कांग्रेसले निर्णय गरोस् ।
उपरोक्त ऐतिहासिक तथ्य, राजनीतिक पृष्ठभूमिलाई मध्यनजर गर्दै पार्टीको स्थापनाकालिन नीति, सिद्धान्तलाई ख्याल गर्दै, नेपाली कांग्रेसको संस्थापक नेता राजनेता वीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीतिको सान्दर्भिकता र अर्का तत्कालिन अन्तिम जीवित संस्थापक सन्तनेता कृष्णप्रसाद भट्टराईको २०६४ साल आश्विन ९ गते नेपाली कांग्रेस परित्यागको घोषणा गर्नु भएको मार्मिक पक्षलाई गहिरोसंग हृदयङ्गम गर्दै नेपाली कांग्रेसका संस्थापक नेताहरू सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय आदिले हिड्नु भएको सिद्धान्त, निष्ठा र आदर्शको बाटोलाई पछ्याउँदै, राष्ट्र सुगौली सन्धी पछि कै सबैभन्दा कठिन मोडमा उभिएको कुरालाई गहिरोसंग ख्याल गर्दै नेपाली कांग्रेसले आउँदो २१ फागुन २०८२ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुशासन, आर्थिक एवम् भौतिक विकाश र व्यवहारिक कार्ययोजनाकासाथ घोषणा पत्र तयार गर्दै गर्दा निम्न वमोजिमको राष्ट्रियता, राष्ट्रको आफ्नो मौलिक पहिचान, धार्मिक एवम् सांस्कृतिक विषयलाई गंभीरतापूर्वक अंगिकार गर्न नेपाली कांग्रेसको एक निष्ठवान कार्यकर्ता हुनुको नाताले जोडदारसँगमा माग गर्दै सुझावको रूपमा निम्न उल्लेखित विशेष प्रस्ताव पेश गर्दछु ।
(१) आम नेपाली जनताको माग र भावनाको कदर गर्दै, नेपाली कांग्रेसको फागुन २०६९ सालमा नवलपरासी जिल्लाको त्रिवेणी धाम र अझ विशेष गरी मंसीर २०७५ काठमाडौं र फागुन २०८० ललितपुरको गोदावरीमा सम्पन्न भएको महासमिति वैठकमा बहुमत महासमिति सदस्यले वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर सहित व्यक्त अभिमतलाई ध्यानमा राख्दै, नेपाल परापूर्व वैदिक सनातन कालदेखि नै ऋषिमुनीहरूको तपोभूमि रहेको, यही सनातन धर्म र संकृतिले नै नेपाललाई यही एक सुत्रमा वाँधेर राखेको र राष्ट्रियतालाई वलियो वनाएको यथार्थतालाई आत्मसात गर्दै षड्यन्त्रको तहमा देशलाई जनभावना विपरित जवरजस्तीसंग धर्मनिरपेक्ष राष्ट्र घोषणा पछि हाम्रा मौलिक सनातन धर्म र संस्कृतिमाथि वाह्य अतिक्रमण बढ्दै गएको र नेपाली साझा पहिचान कमजोर वन्न गई देश नै जटिल स्थितिमा पुगेको डरलाग्दो स्थिति तर्फ नेपाली कांग्रेस समय मै गंभीर वन्दै आसन्न प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्रमा सबै अल्प संख्यक धार्मिक समुदायको धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्दै नेपाललाई वौद्ध, वोन, किराँत, लिम्वु सहितका सनातनी ॐकार परिवारको भावनाको कदर गर्दै वैदिक सनातन (हिन्दू) राष्ट्रको पक्षमा आफ्नो अडान राख्न यो प्रस्ताव राख्दछु ।
(२) नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखि नै ‘संवैधानिक राजतन्त्र’को मान्यतालाई एउटा प्रमुख राजनीतिक अडानको रूपमा स्वीकार गर्दै आएको ऐतिहासिक तथ्य हो । १ पौष २०१७ मा राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेर बीपी कोइराला जस्तो लोकप्रिय जननिर्वाचित प्रधानमन्त्रीलाई कठोर कारावासमा राखे, राजाले त्यति कठोर कदम चाल्दा पनि प्रतिशोधको भावना कहिल्यै राखेनन्, गणतन्त्रको बाटोमा कहिल्यै गएनन् । वरू देशको भू–राजनीतिक जटिलता, राष्ट्रियता, राष्ट्रिय अखण्डता, देशको स्वतन्त्रता र सार्वभौम सत्ताको संवेदनशीलतालाई विचार गरेर राजा र जनता मिलेर देश बचाउनु पर्छ भनेर २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भयो । सन्तनेता कृष्णप्रसाद भट्टराई जुन दिन नेपाली कांग्रेस राष्ट्रिय एकता र मेलमिलाप नीति र संवैधानिक राजतन्त्रको मान्यतालाई परित्याग गर्दै गणतन्त्रको मार्गमा गयो, त्यसै दिनबाट किसुनजीले मन दुःिखत वनाउँदै सदाको लागि नेपाली कांग्रेस परित्याग गर्नु भएको दुःखद् प्रसङ्गलाई स्मरण गर्दैं, करिव २० वर्षको गणतन्त्र कालमा देशको राष्ट्रियता थप कमजोर वनेको, राष्ट्रिय अखण्डतामाथि चुनौति थपिएर देश सुगौली सन्धी पछि कैे सबै भन्दा कठिन र चुनौतिको अवस्थामा परेको अवस्था तर्फ गंभीर वन्दै, १२ वुँदे साझा समझदारी पछि राजनीतिक दलहरू सत्ता स्वार्थमा केन्द्रित हुँदा देश भक्तिको भवना हराएको, कुटनीति र परराष्ट्र मामिलामा दलहरूको लापर्वाही, अक्षमता र अकर्मण्यताले अन्तराष्ट्रिय जगतमा नेपालको साख गिर्दै गएको अवस्थामा सर्वत्र आम नेपाली जनतामा राष्ट्र प्रमुखको रूपमा एउटा तटस्थ (न्युट्रल) शक्तिको आवश्यकता महसुश भएको कुरा तर्फ गंभीर ध्यान दिंदै शन्ति प्रक्रिया र संविधान निर्माणका क्रमममा वाध्यता वा विभिन्न पक्ष शक्तिको दवावले नेपाली कांग्रेस गणतन्त्रको लाइन निर्णय गर्न वाध्य भए तापनि उपरोक्त राजनीतिक तथ्य र देशको आवश्यकता र जनताको भावनाको कदर गर्दै नेपाली कांग्रेस संवैधानिक राजसंस्थालाई पुनःस्थापित गर्न अग्रसर हुनेछ भनेर आफ्नो चुनावी घोषणा पत्रमा प्रतिवद्धता जाहेर गरोस भनि जोदारसंग यो विशेष प्रस्ताव सुझावको रूपमा पेश गर्दछु ।
आसन्नः निर्वाचनलाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसले विगतका आफ्ना राजनीतिक भुलबाट सिकेर राजनीतिक रोड करेक्सन गरेर अगाडी बड्न सक्यो भने नेपाली कांग्रेसले इतिहासको आफ्नो गौरवशाली स्थान र भूमिकालाई पुनः प्राप्त गर्न सफल हुनेछ । नेतृत्व परिवर्तनले मात्र नीति परिवर्तनले सार्थकता रहन्न ।देशप्रेमको भावनाबाट यसरी स्पष्ट नीतिका नेपाली कांग्रेस आउन सक्यो सक्यो भने नेपाली कांग्रेस देश बचाउन र प्रजातान्त्रिक आन्दोलनलाई सकारात्मक बाटोमा लग्दै देश वदल्न समर्थ हुनेछ ।
