चिनको डिपार्टमेन्ट अफ एसियन अफिएर्समा डिपुटि डाइरेक्टरको भूमिकामा रहेका माओमिङ नेपालको राजनीतिक र कतिपय राजनीतिक नेताहरुका लागि परिचित अनुहार हुन् ।

काठमाडौं, १५ फागुन । नेपालका लागि चिनका नयाँ राजदूत चाङ माओमिङले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । गत शुक्रबार काठमाडौं ओर्लिएका माओमिङ नेपालको राजदूत हुनु अघि चिनको परराष्ट्र मन्त्रालयको उच्च ओहदामा थिए । प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक जिम्मेवारी लिनेछन् ।
चिनको डिपार्टमेन्ट अफ एसियन अफिएर्समा डिपुटि डाइरेक्टरको भूमिकामा रहेका माओमिङ नेपालको राजनीतिक र कतिपय राजनीतिक नेताहरुका लागि परिचित अनुहार हुन् । नेपालको राजनीति महत्वपूर्ण मोडमा उभिएको समयममा नेपालमा उत्तरी छिमेकीले नयाँ राजदूत पठाएको छ ।
प्रधानमन्त्री कार्यलयका अनुसार प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन। साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरिन।


चिनियाँ राजदूत माओमिङले व्यस्तताका बीच शिष्टाचार भेटका लागि समय उपलब्ध गराइदिनुभएकामा प्रधानमन्त्री कार्कीलाई धन्यवाद ज्ञापन गर्दे कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाइ ज्ञापन गरेका छन् । उनले नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि बताए ।
प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गरिन। विकासका विभिन्न परियोजना र आयामहरुमा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरुप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरिन।
भेटका क्रममा प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्ष ९घोडा वर्ष० का अवसरमा शुभकामना पनि आदानप्रदान गरे।
संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदाझैँ स्पष्ट रहेको बताइन।
एउटा मुलुकमा अस्थिरता हुँदा अर्कोमा पनि समस्या हुन सक्ने भन्दै कार्कीले क्षेत्रीय शान्ति र स्थायित्वका निम्ति पनि आपसी सहकार्य मजबुत बनाउँदै लैजानुपर्ने धारणा राखिन। चिनियाँ राजदूत माओमिङले नेपाल सरकारको यस नीति र अडानका लागि चिनियाँ जनता र त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गरे।
भेटका अवसरमा नेपाल चिनिया राजदूताबासका पदाधिकारीहरुको उपस्थिति थियो ।

तस्बिर : केशव थापा/प्रधामन्त्रीको कार्यालय