काठमाडौ, १६ माघ ।

नेपाली कांग्रेसका सभापति गगनकुृमार थापाले शहिद दिवसको अवसरमा श्रद्धासुमन व्यक्त गर्दे शहिदहरुले जनताका लागि समर्पण गरेकै कारण नेपालीहरुले स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेको बताएका छन् । शहिद दिवशको अवसरमा शुक्रबार विज्ञप्ति प्रकाशीत गर्दे थापाले भनेका छन् ‘नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र संघर्षहरूमा आफ्नो अमूल्य जीवन आहुति दिनु हुने सम्पूर्ण वीर शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँहरूले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका छौं ।’
‘ सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ । वीर शहीदहरूले देखाउनु भएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु हाम्रो र नवीन पुस्ताको दायित्व हो ’ थापाले भनेका छन् ‘ आज शहीद दिवसका अवसरमा उहाँहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै शहीदका सपना पूरा गर्ने र उहाँहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछौं ।’
नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ निर्माण भएको चर्चा गर्दे थापाले भनेका छन् ‘ संविधानमा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्दै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को लक्ष्य पूरा गर्न आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छौं ।’

तस्बिर: विकिपिडिया