काठमाडौं, १५ माघ ।
नेपाली कांग्रेस संसद पुर्नस्थापना पक्षका सांसदहरुले प्रधानन्यायाधीस प्रकाशसिंह राउतसँग भेटवार्ता गर्ने कार्यक्रम स्थगित भएको छ । निवर्तमान संसदका कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेका अनुसार न्यायाधीसको सचिवलायबाट आज भेटघाट हुन समय नभएको जानकारी आएको छ ।
घिमिरेको सक्रियतामा पुर्नस्थापनको पक्षमा हस्ताक्षर गर्ने कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समुहका सांसदहरुले बिहिबार प्रधानन्यायाधीस राउतालाई भेटेर पुर्नस्थापनाको रिटलाई प्राथमिकता दिन दबाव दिने कार्यक्रम थियो ।
घिमिरेले, इमेलबाट पठाएको सुचनामा भनिएको छ ‘आज मिति २०८२ माघ १५ गते विहान १० :३० बजे प्रतिनिधि सभा पुर्नस्थापनाका लागि रिट पेश गर्नुहुने नेपाली कांग्रेसका माननीय सदस्यहरुको डिलेकेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराईन्छ ।’
घिमिरेका अनुसार, प्रधानन्यायाधीससँग भेटगर्ने काठमाडौंमा उपलब्ध कांग्रेसका पूर्व सांसद तथा एमाले सांसद सहभागि हुने कार्यक्रम थियो । घिमिरेले भने ‘ पुर्नस्थापनको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस र एमालेका १४३ जना सांसद छन्, एमालेलाई हामीले खबर गरेका थियौं ।’
विशेष अधिवेशनबाट निर्वाचित कांग्रेस आम निर्वाचनमा होमिएको अवस्थामा संसद पुर्नस्थापना पक्षको सक्रियता र अदालतलाई दबाव दिने कार्यक्रमले कांग्रेसको देउवापक्ष चुनाव भन्दा पुर्नस्थापनामा जोड दिइरहेको देखिन्छ । कांग्रेसको औपचारिक निर्णय भने चुनावमा भाग लिने भन्ने हो ।