एमालेको उर्दी : आँखामा मत दिनु, गुलाफमा भोट हाल्नु
एमाले, प्रलोपा र माओवादी(केन्द्र) बीचको चुनावी तालमेलको अर्थ हो, रुकुममा एमालेका मतदाताले सूर्यमा होइन, आँखामा भोट हाल्नु । उता, कालिकोटमा एमालेले आफ्नो उम्मेदवारी हापेर विप्लवको गोलोकार भित्रको गुलाफको फूलमा स्वतिक छाप हान्नु।
काठमाडौं, १५ माघ ।
उम्मेदवारी दर्ता र उम्मेदवारी फिर्ताको समयसीमा सकिएपछि कर्णाली, लुम्बिनी र राप्तीको राजनीतिमा नयाँ क्षेत्रिय समीकरण बनेको छ । एमाले, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र विप्लव नेतृत्वको माओवादी (केन्द्र)ले आपसमा चुनावी तालमेल गरेका हुन् । पछिल्लो चुनावी तालमेलको प्रमुख ध्येय दाङ्गबाट एमाले महासचिव शंकर पोखरेल,
रुकुम पश्चिमबाट जनार्दन शर्मा, कालिकोटबाट खडग बहादुर विश्वकर्मालाई जिताउनु र पूर्वी रुकुममा पुष्पकमल दाहाललाई धक्का दिनु रहेको अर्थ लाग्दैं छ । पछिल्लो एकसाताबीच प्रलोपामा दुई फरक राजनीतिक अभ्यास सतहमा आए । प्रलोपाका रचनाकार डा.बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारीनै फिर्ता लिएका छन् । भट्टराईको भरपर्दो विश्वासपात्र दुर्गा सोब जो प्रलोपाको अध्यक्ष हुन् उनले एमालेसँग मिलेर नयाँ क्षेत्रिय समीकरण बनाएकी छन् । भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिकिएको घटनाहरुले संकेत गरेका छन् । यता,सोबले एमालेसँग मिलोमतो गरेकी छन् । एमाले उपाध्यक्ष रामबहादुर थापा र दुर्गा सोबबीच भएको सहमति अनुसार एमालेले चुनावका बेला रुकुम पश्चिमका प्रलोपा उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका प्रलोपा उम्मेदवार सन्दिप पुनलाई मतदान गर्नुपर्ने हुन्छ ।
अर्थात रुकुमका एमालेका नेता कार्याकर्ताले सूर्यमा होइन, आँखामा मत हाल्नुपर्ने छ । प्रलोपाको चुनाव चिन्ह खुलेको एउटा आँखा हो । यता प्रलोपाका नेता कार्यकर्ताले सुर्खेत, दैलेख, मुगु, डोल्पा, जाजरकोट,सल्यान, दाङ्ग, रोल्पा, प्यूठानमा आँखामा होइन सूर्यमा मतदान गर्नुपर्ने हुन्छ । पार्टी हाइकमानले उचित समयमा उर्दी जारी गर्ने नै छन् । यता कालिकोटमा भने नेत्रविक्रम चन्द (विप्लव)सँग एमालेले बेग्लै सहमति गरेको छ । जस अनुसार कालिकोटमा एमालेका मतदाताले सूर्यमा होइन गोलाकार भित्रको गुलाफको फूलमा मतदान गर्नुपर्ने छ । त्यसवापत,विप्लवले एमाले महासचिव शंकर पोखरेललाई दाङ्गमा सहयोग गर्ने भन्ने छ ।
पछिल्लो समीकरणको केन्द्रमा शंकर पोखरेल, जनार्दन शर्मा र खड्गबहादुर विश्वकर्मा रहेका छन् । एमालेलाई आफ्ना महासचिवलाई जिताउनुपर्ने छ भने प्रलोपा र माओवादी (केन्द्र)लाई जनार्दन र खड्गबहादुरलाई जिताउनै पर्ने हुन्छ । माओवादीमा विद्रोह गरेर प्रलोपाको रक्षक बन्न पुगेका जनार्दनका लागि निर्वाचन आफ्नो पक्षमा ल्याउनुपर्ने चुनौती सामुन्ने छ, अहिलेसम्मको राजनीतिक करिअरको सम्मानजक निरन्तरताका लागि । पहिलो पटक संसदीय निर्वाचनमा होमिएका विप्लवलाई आसन्न निर्वाचनमा एकदुई स्थानमा विजयी हुनुपर्ने आवश्यकता देखिन्छ, खुला राजनीतिमा हैसियत प्राप्त गर्न । रामबहादुर थापा (बादल),दुर्गा सोब दुबै समानुपातिक उम्मेदवार हुन ।
शंकर, जनार्दन र खड्गबहादुरको राजनीतिक मैदान
शंकर पोखरेल
प्रलोपा, माओवादी (केन्द्र)सँग एमालेले चुनावी तालमेल गर्नुको पछाडि एमाले महासचिव शंकर पोखरेल दाङ्ग २ बाट विजयी हुनै पर्दछ भन्ने एमालेको मान्यता देखिन्छ । शंकरालाई केन्द्रमा राखेर समीकरण बनेको जानकार बताउँछन् । शंकर पोखरेल दाङ्गको क्षेत्र नं २ मा दोश्रो पटक भिडदै छन् । अघिल्लो संघीय चुनावमा माओवादी र कांग्रेसको समीकरण थियो । माओवादीकि रेखा शर्माले २६ हजार ८ सय ८० मत ल्याएर विजयी हुँदा शंकर पोखरेल २६ हजार ६ सय ६८ मत पाएर दोश्रो भएका थिए । तेश्रो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १५ हजार ८ सय ६१ मत पाएका थिए । २०७४ को चुनावमा एमाले माओवादी एकतावद्ध थिए र माओवादीका कृष्णबहादुर महरा ४० हजार ४२ मत ल्याएर विजयी हुँदा कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत पाएका थिए । त्यसबेला शंकर प्रदेश राजनीतिमा केन्द्रीत थिए । दाङ्गबाट निर्वाचित भएर उनी लुम्बिनीको मुख्यमन्त्री समेत बने ।
एमाले महासचिवको ओज र पूर्व मुख्यमन्त्री लगायतका राष्ट्रिय छविलेसाथ दिएको भएपनि शंकरका निम्ति दाङ्ग २ सहज बन्न सकिरहेको छैन । चुनावी तापक्रम बढ्दोक्रममा छ, तर माहौल चुनावमय बनिनसकेको अवस्थामा शंकरपक्ष ढुक्क हुन सकेको देखिदैन । आसन्न चुनावमा एमालेका शंकर पोखरेल, कांग्रेसका किरण किशोर घिमिरे, रास्वपाबाट विपिन आचार्य, नेकपाबाट निर्मल आचार्य, प्रलोपाबाट प्रतिक आचार्य मैदानमा छन् । मुख्यरुपमा मुख्य एमाले, कांग्रेस र रास्वपाबीच नै मुख्य प्रतिस्पर्धी हुने प्रारम्भिक संकेत देखिएका छन् ।
अघिल्लो पटक शंकरले प्राप्त मतमा एमाले बाहेक कांग्रेसका केही,माओवादीको केही थपिएको मानिन्छ । कांग्रेसको आफ्नै उम्मेदवारी थिएन । यस पटक कांग्रेसको आफ्नै उम्मेदवारी छ । उता माओवादी छिन्नभिन्न भएको छ । पुष्पकमल नेतृत्वको मूल माओवादी जो अहिले नेकपामा रुपान्तरण भएको छ । नेकपाबाट निर्मल आचार्य मैदानमा छन् । दाङ्ग—२मा माओवादी सग्लो देखिन्न । त्यहाँ महराको बेग्लै समुह छ । महरापक्षको मत नेकपा उम्मेदवार निर्मलालाई जादैंन । माओवादीमतमा रुकुमका जनार्दशनको प्रभाव पनि मानिन्छ । जनार्दनकी बहिनी नारायणी शर्माको कार्यक्षेत्र भएकोले प्रलोपाको भागमा माओवादीको केही मत सुरक्षित मानिन्छ । यस अर्थमा शंकरका महरापक्ष र जनार्दनपक्षबाट लागि केही मत थपिने संभावना छ । त्यस्तै विप्लव, माओवादी (केन्द्रका दाङ्ग २ मा, एक हजार १२ सयको संख्यामा संगठित सदस्यहरु रहेको बताइन्छ ।
रेखा शर्माले प्रत्यक्षमा २८ हजार बढी मत ल्याएको भएपनि समानुपातिक मतमा माओवादी रास्वपा भन्दा पनि पछाडि थियो अघिल्लो निर्वाचनमा । माओवादीले समानुपातिमा १० हजार ८ सय २ मत पाएको थियो । समानुपातिकको मतलाई आधार मान्दा १०, १२ हजार हाराहारीमा माओवादी मत छ, जुन माओवादी, महरापक्ष र जर्नादर्नको प्रलोपाको भाग लाग्दछ । यस अर्थमा शंकरले माओवादीका विभाजित ग्रुपहरुको आधाजसो मत पाउँनसक्छन् । कारण, माओवादीका उम्मेदवार निर्मलालाई पार्टीकै जिम्मेवारहरुले गंभिररुपमा लिएका छैनन् ।
अघिल्लो चुनावमा दाङ्ग २ मा प्रत्यक्षमा १५ हजार बढी मतसाथ तेश्रो स्थानमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी आसन्न निर्वाचनमा कुन रुपमा प्रस्तुत हुने हो ? अघिल्लो निर्वाचनमा कांग्रेसको उम्मेदवारी नभएकोले, काग्रेसबाट केही लाभ लिएको देखिन्छ रास्वपाले, धेरै भने होइन । रास्वपाले त्यसबेला सबैदलका असन्तुष्ठ मतहरु लिएको स्थानीयको अनुभव छ । रास्वपाबाट यसपटक विपिन आचार्य मैदानमा छन् । रास्वपा केन्द्रीय कार्यालयमा बसेर काम गरेका विपिनको पक्षमा पार्टी अध्यक्ष रबि लामिछाने समेत लागि पर्ने चर्चा छ दाङ्गमा । माओवादीका विभिन्न पक्षबाट शंकरलाई मत आउँनसक्छ । तर, यसपटक रास्वपाले सबै भन्दा धेरै क्षती कसलाई गर्ने हो ? दाङ्ग २ को निर्वाचन त्यसैमा निर्भर रहन्छ भन्दछन् चुनावी आँकलन गर्नेहरु । शंकरको प्रमुख आधार मानिएको थारु समुदाय अघिल्ला वर्षहरुको जस्तै सुरक्षित हुनसक्छ ? यसपटक थपिएका करिव ७ हजार मत कसरी बाँडिने हो, कुन कुन दलमा ? राष्ट्रिय राजनीतिमा एमाले र रास्वपाबीच राजनीतिक दुरी फराकिलो छ र कतिपय अवस्थामा शत्रुतापूर्ण । जेनजि अभियान र विध्वंशपछिको सामाजिक, राजनीतिक माहौलमा एमाले नेतृत्व युवाहरु विरोधी हो भन्ने भाष्य निर्माण भएको, त्यसको मूल्य एमालेका शीर्ष नेताहरुले भोग्नुपर्ने हुनसक्छ ।
दाङ्गका पत्रकार सुदीप गौतम रास्वपाको चुनावी अभियान कसरी चल्दछ, कुन रुपमा उसको हावा लाग्दछ, त्यसले दाङ्ग २ को चुनावलाई प्रभावित बनाउने विशेषण गर्दछन् । ‘स्थानीयतह लगाएतका आधारमा विगतदेखी एमालेको अन्य दलको तुलनामा राम्रो अवस्था हो’ गौतम भन्छन् ‘रास्वपाले एमालेको मत कति काट्छ वा काटदैन भन्ने कुराले शंकरको भविष्य निर्भर देखिन्छ ।’ गौतम, रास्वपाले पहिलाको तुलनामा ८,१० हजार भोटमात्र थप्नसकेको अवस्थामा प्रमुख प्रतिस्पर्धा काग्रेस,एमाले र रास्वपाबीच हुने अनुमान गर्दे भन्छन् ‘ अन्तिम प्रतिस्पर्धा, यिनै तिन मध्ये कुनै दुईबीच हुने हो, बाजी कसले मार्नसक्छ, अहिले अनुमान गर्न सकिन्न ।’
जनार्दन शर्मा :
माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको राजनीतिक मतभेदका कारण माओवादी त्यागेका जनार्दश शर्मा यतिखेर कर्णाली प्रदेशको रुकुम पश्चिममा उम्मेदवार छन् । डा. बाबुराम भट्टराईले रचना गरेको प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेताकारुपमा खुलेको आँखा चिन्ह लिएर मैदानमा उत्रिएका जर्नादन यतिखेर आफ्नै थातथलोमा सघर्षरत छन् । एमाले र प्रलोपाबीचको पछिल्लो सहमति अनुसार जर्नादनका लागि एमालेका नन्दराम देवकोटाले मैदान खाली गर्नेछन् भने । अघिल्लो निर्वाचनमा जनार्दन ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी हुँदा दोश्रो स्थानमा एमालेका तिनै देवकोटा थिए । उनले १२ हजार ९ सय ६१ मत पाएका थिए । जनार्दनले पाएको भोट कांग्रेसको समेत हो । कांग्रेस माओवादी चुनावी एकता थियो, त्यहाँ कांग्रेसका उम्मेदवार थिएनन् । कांग्रेसका विद्रोही तारक केसी स्वतन्त्र उम्मेदवार थिए, उनले ३ हजार ५ सय ६७ मत पाएका थिए ।
माओवादीको बलियो किल्लाको रुपमा मानिन्छ रुुकम पश्चिम ।तर, त्यस्स्तो सुरक्षित किल्लाबाट उम्मेदबार हुने अवसर यस पटक पाएनन् जनार्दनले ।चुनावी मैदानमा काग्रेस पनि मैदानमा छ । सबै भन्दा महत्वपूर्ण माओवादीबाट गोपाल शर्मा छन् । पूर्वी रुकुममा माओवादी अध्यक्ष पुष्पकमल आफै उम्मेदवार छन् । माओवादीका जिल्ला इन्चार्जको भूमिकामा रहेर अघिल्लो चुनावमा जनार्दनलाई विजयको माला पहि¥याउन महत्वपूर्ण योगदान गरेका गोपाल अहिले जनार्दनको प्रमुख प्रतिस्पर्धी बन्ने देखिन्छ । नेकपाको बलियो उम्मेदबारको रुपमा लिइदैंछ उनलाई । माओवादीको संस्थागत भोट जनार्दनले कुन हदसम्म खोस्नसक्छन्, त्यसले निर्वाचन परिणाम फरक पार्ने हो ।
अघिल्लो निर्वाचनमा समानुपातिकमा माओवादीले ३४ हजार ३ सय ४७ मत पाएको थियो । एमालेले ८ हजार सात सय ६९ र कांग्रेसले ८ हजार ७ सय ६६, रास्वपाले १ हजार ८ सय ६१ मत पाएका थिए । समानुपातिकलाई पार्टीहरुको प्रतिवद्ध मत मान्न सकिन्छ । यस अर्थमा एमाले र कांग्रेसको हैसियत समान जस्तै छ । रास्वपाहरु प्रारभ्मिक अवस्थामा थिए, त्यसबेला ।
जनार्दनलाई केन्द्रमा राख्दा उनको कर्मभूमि रुकुम पश्चिम हो । संविधान निर्माणको समयमा आफ्नो राजनीतिक स्वार्थका लागि रुकुमलाई पूर्वपश्चिममा विभाजन गर्नसक्ने हैसियतमा थिए जनार्दन । तर यतिबेला उनीसँग रुकुमको माओवादीको बलियो आधार छैन् । प्रलोपा जनार्दनका लागि प्लेटफर्ममात्र हो । जनार्दनले व्यक्तिगतरुपमा प्राप्त गर्ने मतनै उनको जीतको प्रमुख आधार बन्ने देखिन्छ । जनार्दनसँग आफ्नो, पारिवारिक र माओवादी छोडेर उनलाई साथ दिनेहरुको समेत १०,१२ हजार मत छ भनिदैंछ । त्यसमा एमालेको मत थपिन्छ जुन करिव ९ हजार हाराहारीमा रहेको मानिदैंछ । कांग्रेसमा अन्र्तघातको संकेत देखिदैछन्, त्यस आधारमा उनले केही मत लिन सक्छन् । तर, यतिमै जनार्दन बलिया छन भन्न मिलि हाल्दैन ।
नेकपाका उम्मेदवार गोपाल पार्टीको तहमा जनार्दनकै हैसियतको योगदान गरेका नेता हुन । यता माओवादी अध्यक्ष पुष्पकमल जो आफैं रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्, उनको नजिकको उपस्थिति जनार्दनका लागि जोखिमयुक्त मानिदैंछ । रुकुमपूर्व र पश्चिम दुबैबाट पार्टीको संगठित मत ठूलो परिणाममा यताउता हुनसक्ने संभावना कम छ । पुष्पकमलको निर्वाचन क्षेत्रमा प्रलोपाबाट सन्दीप पुन उम्मेदवार छन् जो जनार्दनका नजिकका आफन्त हुन् । सन्दीपलाई एमालेले मत हाल्ने सहमति छ । पुष्पकमललाई एमाले र जनार्दन दुबै मिलेर पूर्वरुकुममा दिने दबावको प्रतिक्रिया पश्चिमरुकुममा देखिने हुन्छ । गोपालसँग आफ्नै पार्टीको बलियो आधार छ । यता जनार्दनको भने व्यक्तिगत प्रभाव, राष्ट्रिय राजनीतिक पहिचान, एमाले लगायतका पार्टीहरुको भरथेगमा भर पर्नुपर्ने हुन्छ । अहिलेसम्मका चुनावी राजनीतिको आधारमा जनार्दन र गोपालकोबीच प्रतिस्पर्धा हुने देखिन्छ, कसले बाजी मार्ने हो ?
खड्गबहादुर विश्वकर्मा
विप्लव पहिलो पटक गोलाकार भित्रको गुलाफको फूल चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् ।र, कालिकोटमा माओवादी( केन्द्र)बाट पार्टी प्रवक्ता खडगबहादुर विश्वकर्मा उम्मेदवार बनेका छन् । एमाले, माओवादी (केन्द्र)बीचको आपसि मिलोमती पछि विश्वकर्माको पल्ला भारी भएको अनुमान गरिदैछ । तर, माओवादी पार्टीको बलियो आधार क्षेत्र मानिने कालिकोटमा विप्लवको हैसियत के कति हो ? अहिलेसम्म चुनावी प्रतिस्पर्धामा नआएकोले यकिन गर्न सहज छैन । कालिकोटमा निवर्तमान सांसद महेन्द्रबहादुर शाही नेकपाबाट उम्मेदबार छन् । कांग्रेसका हर्षबहादुर बम मैदानमा छन् । एमालेका नगिन्द्र शाहीको उम्मेदवारी भएपनि पार्टीको निर्णय विपरित उनी जान सक्तैनन् ।
अघिल्लो चुनावमा माओवादीका महेन्द्रबहादुर शाही २३ हजार ७ सय २९ मत ल्याएर विजयी भएका थिए । यो मत भनेको कांग्रेस, एकिकृत समाजवादीको समेत को हो । दोश्रो स्थानमा एमालेका नागिन्द्र शाहीले १६ हजार ७ सय १८ मत पाएका थिए । राप्रपाका धनबहादुर बुढा १ हजार ५ सय ९३ मत सहित तेश्रो स्थानमा थिए । समानुपातिक मतमा भने माओवादीले १४ हजार २ सय २९, एमालेले १२ हजार ५ सय ६४, कांग्रेसले १० हजार ५ सय ८५ र एकिकृत समाजवादीले २ हजार ५३ मत पाएका थिए । कांग्रेस आफै मैदानमा उत्रिएको छ । एमाले पार्टीपङतीमा पार्टी हाईकमान को आदेशको पालना कसरी र कति हुने हो ? सशय छन् । अघिल्लो चुनावको आलोकमा कालिकोटमा माओवादी र एमाले तथा समाजवादीको समान हैसियत देखिन्छ । माओवादीमा विप्लवको र्हैसियत कति हो ? खड्गबहादुरको गुलावको फूल र महेन्द्रबहादुरको पाँचकुने तारा को कति बलिया छन् ?नेकपाको संस्थागत मत करिव १४ हजार जसले कुम्ल्याउन सक्यो त्यर्ही विजयी हुने हो । माओवादी भोट ठूलो परिणाममा लिन सकेको अवस्था र एमालेको सबै संस्थागत मत खड्गबहादुरले पाएभने खड्गबहादुरले बाजि मार्न संभव छ । एमालेले उम्मेदवारी हापेकोले एमाले मत एकै ठाउँमा सामान्यतथा जादैंन, बाँडिन्छ । एमालेको मत खड्गले कति पाउँने हुन ? महेन्द्रले माओवादी पार्टीको मत कति जोगाउन सक्छन् र एमाले लगालयका मत कति चोर्न सक्छन् ? त्यसैमा निर्वाचन परिणाम भर पर्दछ ।
