सामाजिक संजाल प्रयोग गर्रौं : कांग्रेस महामन्त्री प्रदीप
काठमाडौं, १४ माघ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीका सक्रिय कार्यकर्तालाई सामाजिक संजालको सदुपयोग गर्दे कांग्रेसको पक्षमा माहोल सृजना गर्न आग्रह गरेका छन् । बुधबार, काठमाडौंमा आयोजित कार्यकर्तासँगको एक अन्र्तक्रिया कार्यक्रमा बोल्दै पौडेलले यस्तो आग्रह गरेका हुन् । पौडेलले भने ‘हाम्रा १० लाख सक्रिय सदस्य छन्, ‘कम्तिमा पनि तीन लाख सदस्य सामाजिक सञ्जालमा सक्रिय हुने हो भने हाम्रा पक्षमा माहोल सिर्जना हुन्छ । हामा उम्मेदवार र पार्टीको बदलिएको नीतिका पक्षमा सबैले सक्दो पोष्ट गरौं ।’ सामाजिक संजालको प्रयोगले पार्टीलाई चुनाव जित्न र बदलिएको सन्देश आम नागरिकसमक्ष पुर्याउन सहज हुने समेत महामन्त्री पौडेलले बताए ।
कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यसपाली जनतामाझ लोकप्रिय उम्मेदवार तय गरेको बताए । कतिपयलाई मन भएको र चित्त समेत दुखेको भए पनि पार्टी एकता कायम राख्ने गरी टिकट वितरण गरिएको उनले बताए । महामन्त्री पौडेलले भने, ‘पार्टीलाई धेरै सिट जिताउन एकता कायम गर्नु आवश्यक छ ।’ यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए ।
पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने तयारी गरेको उल्लेख गर्दै महामन्त्री पौडेलले भने, ‘सच्चिने र सच्याउने प्रक्रियामा अझ धेरै काम गर्नु जरुरी छ । देश विकासमा प्रष्ट दृष्टिकोण समेट्ने घोषणापत्र आउनेछ ।’
