रामेछापमा उज्यालो जित सुनिश्चित:दीप बहादुर योञ्जन
काठमाडौं १३ माघ ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीबाट रामेछापमा उम्मेदवारी दिएका दीप बहादुर योञ्जनले रामेछापमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रामेछाप कुलमानको पार्टी भएकाले पार्टीको जित सुनिश्चित भएको दाबी गरेका हुन् । उनले देशको नेतृत्व प्रधानमन्त्री कुलमान घिसिङले गर्नुपर्ने धारणा राखे । घिसिङलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहने मतदाताले ‘चिम’ चुनाव चिह्नमा मतदान गर्नसमेत उनले आग्रह गरे ।
पुराना राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै उनले अबको राजनीतिक नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरे ।
सोही कार्यक्रममा उज्यालो नेपाल पार्टी काठमाडौं–रामेछाप सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी २०० भन्दा बढी व्यक्ति उज्यालो नेपाल पार्टीमा प्रवेश गरेको घोषणा गरियो।
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गरेका थिए । उनले पार्टीले इमानदार, पारदर्शी र परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
