के के गरिरहेको छ कांग्रेस ? कांग्रेसका १४ बुँदा

काठमाडौं, १३ माघ ।
नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समितिले नेपाली कांग्रेस आम निर्वाचनमा होमिएको जनाएको छ । पार्टी प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देबराज चालिसेले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रेस संवाद गर्दे कांग्रेस पार्टीले हाल गरिरहेका राजनीतिक गतिविधिबारे जानकारी दिए ।

प्रेस संवादमा उपब्लध गराइएको प्रेस नोटमा भनिएको छ ‘पार्टीले हालै सम्पन्न विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचना सहित निर्वाचन अभियानलाई तीव्रता दिएको छ ।’कांग्रेसले आगामि फागुन ७ गते जनकपुरधाममा प्रदेशस्तरको वृहत आमसभाको आयोजना गर्ने प्रेस नोटमा उल्लेख छ । प्रेस नोटमा नेपाली कांग्रेस सुधार, एकता र विकासको प्रतिबद्धतासहित जनतामाझ बलियो उपस्थिति जनाउँदै अगाडि बढिरहेको उल्लेख गर्दे सम्पूर्ण साथीहरूलाई एकतावद्ध भई चुनावमा जुट्न र कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी बनाउन नेपाली कांग्रेसले आव्हान गरेको छ ।

के के गरिरहेको छ कांग्रेस ? कांग्रेसका १४ बुँदा

१.देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका सबै उम्मेदवारहरू कायम रहेका छन् ।
२.विद्रोह गरेका केही साथीहरूले मनोनयन फिर्ता लिइसकेका छन् । बाँकी रहेका थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका अन्य उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गर्ने क्रम जारी छ ।
३.विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिले अत्यन्त सीमित समयमा उम्मेदवार चयन, प्रचार र परिचालनका कार्यहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेको छ ।
४. प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका÷गाउँपालिका र वडा तहसम्म प्रचार प्रसार तथा परिचालन समिति गठनको कार्य अन्तिम चरणमा पुगेको छ । यो कार्य अबको दुई दिनभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
५. निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आयोगको आचार संहितालाई पूर्ण रूपमा पालना गरिनेछ । गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचार संहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
६. प्रचारका दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ । ९व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्ने ।
७. प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाउने नीति अपनाइएको छ ।
८. पार्टीमा पुराना साथीहरू पुनः जोडिने क्रम बढेको छ भने नयाँ प्रवेशको लहर पनि चलेको छ ।अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको छ । जस्तै डोल्पाका अन्य पार्टीका उम्मेदवार दिल वहादुर विष्ट र जुनु भण्डारी ले आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

९.राष्ट्रिय सभामा पार्टीका साथीहरू कोशीबाट सुनीलबहादुर थापा निर्विरोध र धर्मेन्द्र पासवान, रञ्जित कर्ण, गीता देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती ०८२ माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित हुनु भएको छ ।
१०.पार्टी सभापति गगनकुमार थापा सहितका शीर्ष नेताहरू निर्वाचन क्षेत्रहरूमा मतदातासँग नियमित सम्पर्कमा रहनु भएको छ । यसै सिलसिलामा सभापति हाल सर्लाही क्षेत्र नं. ४ को कार्यक्रममा व्यस्त रहनु भएको छ । फागुन ७ गते जनकपुरधाममा विशेष सभाको आयोजना गरिने छ । केन्द्रीय स्तरको आमसभा अन्य क्षेत्रमा क्रमशः आयोजना गरिने छ ।
११. केही समयपछि पार्टीको घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको छ । उक्त घोषणापत्रमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रमहरू समावेश हुनेछन् ।
१३. समकालीन राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।
१४. हरेक दुई दिनमा दिउँसो ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार संवाद कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ । यो कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनले गर्नेछ ।

कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’, सुशासन र विकासलाई प्राथमिकता

प्रेस संवादमा पत्रकारहरुले राखेका जिज्ञासाहरुमा पार्टी प्रवत्ता देवराज चालिसेले पार्टीका घोषणापत्र बनाउने काम भैरहेको जानकारी दिए । चालिसेका अनुसार  नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताएका छन्।

प्रवक्ता चालिसेका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ। “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,” उनले भने।

हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको चालिसेले जानकारी दिए। स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ।