खोटाङ, ७ माघ ।
एक निर्वाचन क्षेत्र रहेको खोटाङ्ग जिल्लाको मन जित्त अहिले १५ उम्मेदवार मैदानमा छन् । दुई स्वतन्त्र सहित १३ वटा राजनीतिक पार्टीका १५ उम्मेदवार मध्ये १० जना राई छन् । कूल जनसंख्याको एकतिहाई भन्दा धेरै राईहरुको बसोबास रहेको खोटाङ्गमा धेरै जसो राजनीतिक पार्टीहरुले राई समुदायबाट उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादीले राई समुदायबाट उम्मेदवार बनाएका छन् ।
जिल्लाको कूल जनसंख्यामा राईहरु एकलौटी करिव ३७ प्रतिशत छन् । क्षेत्री करिव २२ प्रतिशत, बाहुन ७ प्रतिशतको हाराहारी छन् भने नेवार ५ प्रतिशत र कामीहरुको संख्या पनि ५ प्रतिशतकै हाराहारी रहेको २०६८ को जनसख्या रिपोर्टमा पाइन्छ ।
राईहरुको ३७ प्रतिशत हाराहारीको जनसंख्याको भएपनि सबैजसो राजनीतिक पार्टीहरुमा उनीहरुको बलियो पहुँच र प्रभाव रहेको देखिन्छ । १५ जना उम्मेदवार मध्ये राई र चाम्लिङ्ग थर लेखेकाहरु करिव ६७ प्रतिशत छन् । राई बाहेक रोका, गिरी, तामाङ्ग, बुढाथोकी र ढकाल उम्मेदबार बनेका छन् । तथ्याङ्कका आधारमा राईहरुको जनसंख्या एक तिहाई रहेपनि राई उम्मेदवार भने दुई तिहाई देखिन्छ ।
चुनावी प्रतिस्पर्धा भने राईहरु, रोका र गिरिबीच हुने विगतका चुनावी परिणामहरुका आधारमा गर्न अनुमान गर्न सकिन्छ । नेपाली कांग्रेसमा लामो लगानी गरेको शहिद परिवारबाट वीरकाजी राई उम्मेदवार बनेका छन् । एमालेबाट देबविक्रम राई, नेपाली कम्यूनिष्ट पार्टीबाट राजनीतिक विश्लेषक हरि रोका प्रतिस्पर्धामा छन् भने रास्वपाबाट रुद्र गिरि प्रतिस्पर्धामा छन् । चुनावी गणित भने यि नै ३, ४ दलहरुबीच बाडिने र अन्य दलहरु उपस्थितिमा सीमिति हुने अनुमान गरिदै छ ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीका अनुसार नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट चन्द्र बुढाथोकी, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए ।
डा राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त उम्मेदवारी दर्ता गराएका डा.राई नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे लगत्तै जिल्ला सभापतिमा पराजित भएपनि अहिले स्वतन्त्र उम्मेदवार बनेका छन् । निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल तथा १९५ मतदान केन्द्र निर्धारण गरिएको छ । खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी  दिए ।
विसं २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रामकुमार राई विजयी भएका थिए । विसं २०७९ मा प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ एमालेले २४ हजार २७१, कांग्रेसले १८ हजार ६७२, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले ११ हजार ८४५, नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३६, जनता समाजवादी पार्टीले दुई हजार २४८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक हजार ४९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २५५ मत प्राप्त गरेको थियो ।
नोट : राससको समाचारमा आधारित
तस्बिर साभार : Radiant Treak and Travel P.vt